शेयेर गर्नुहोस
टीकापुर १२ मंसिर /
बचत गरेको रकम नपाएपछि महिलाहरूले एक लघुवित्तमा तालाबन्दी गरेका छन् ।
टीकापुर नगरपालिका वडा नं. ६ नारायणपुरमा रहेको युनिक लघुवित्तमा महिलाहरूले तालाबन्दी गरेका हुन । १४ जनाको महिला समुहले आफुहरुले लघुवित्तमा बचत गरेको रकम झिक्न खोज्दा रकम भुक्तानी नदिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् । मंगलबार कार्यालय समयभित्र तालाबन्दी गर्दा लघुवित्तका कर्मचारीहरु भित्रै थुनिएका थिए । “हामीले बचत छोडेकै महिनौं भयो । लघुवित्तले बनाएको समूह पनि भत्किसकेको छ । बचत गरेको रकम माग्दा हाम्रो बचत फिर्ता नहुने भन्दै कर्मचारीहरुले धम्काउने गरेका छन् ।” रामजानकी युनिक महिला केन्द्र समुहकी डालिमा सिंहले भनिन्, “आफनै रकम माग्न जाँदा पनि भिक माग्नु जस्तो गर्नुपर्ने, त्यो पनि फिर्ता नहुने भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।”
१५ जना महिलाको समुहमा एकजनाले तीन लाख ऋण चलाएका कारण अन्य १४ जना महिलाको बचत रकम रोकिएको बुझ्नमा आएको छ । १४ जना महिलाको २० हजारदेखि ३७ हजारसम्म लघुवित्तमा बचत रहेको छ । त्यहीँ रकमका लागि महिलाहरूले दैनिकजसो लघुवित्तको नारायणपुर शाखा धाउने गरेका छन् । “एकएक रुपैयाँ जम्मा गरेको रकम हो । आफुलाई समस्या परेका बेला काम लाग्ला भनेर जम्मा गरेको रकम लघुवित्तले नदिएपछि समस्या माथी समस्या थपिएको छ ।” समुहकी ससिकला रावल भन्छन्, “एकातिर घरपरिवारबाट अपमान सहनु परेको छ । अर्कोतिर पैसा भएर पनि काम चलाउन सकिएको छैन ।”
समुहकी सुमित्रा सिंह ठकुरीले लघुवित्तबाट लिएको ऋण चुक्ता नहुँदा समुहका अन्य महिलाहरूको बचत रोक्नुपरेको शाखा प्रमुख अन्जु थारु बताउँछिन् । उनले संस्थाको नियमानुसार सुमित्राले आफ्नो सावाँ व्याज चुक्ता गरेमात्र बचतकर्ताको बचत फिर्ता गर्न सकिने बताइन् । “हामीले ऋण लगानी गर्दा समुहमार्फत तिनै महिलाहरुलाई साक्षी राखेर गरेका थियौं । सबैले आफ्नो कर्तब्य पूरा गर्दा पनि सुमित्राको अझै आजका मितिसम्म तीन लाख चार सय ६६ रुपैयाँ तिर्न बाँकी छ ।” उनले भनिन्, “त्यस पैसाको ग्यारेन्टी कसले बस्ने ? भोलि ऋण चुक्ता भएन भने त्यसको जिम्मेवार को हुने ? त्यसैले त्यहीँ समुहलाई जिम्मेवार बनाउन बचत रकम दिन नसकिएको हो ।”
कार्यालयले चालू आर्थिक वर्षको साउनमा मात्रै सुमित्राको ऋण नवीकरण गरेर तीन वर्षसम्मको भाका थप गरेको छ । सुमित्राले तीन वर्ष भित्र ऋणलो सावाँ व्याज तिरिसक्नुपर्ने शाखा प्रमुख थारु नै बताउँछिन् । तर, दुई महिनासम्म सावाँ व्याज किनै पनि नतिरेको देखिएको छ । “ऋण लगानी गर्दा अन्य महिलाहरू त्यसको साक्षी छन् । सबैको बचत फिर्ता गर्दा सुमित्राको साक्षी को हुने ?” कार्यालय प्रमुख थारुले भनिन्, “हामीले प्रक्रियागत रुपमै बचत रोकेका छौँ । सुमित्रा ऋण चुक्ता भएसँगै सबैको बचत फिर्ता हुन्छ ।”
त्यतिमात्र नभई लघुवित्तले महिलाहरुले गरेको बचत रकमबाट थाहै नदिएर समुहका ऋणी ब्याक्तीको व्याज समेत असुल गरेको आरोप महिलाहरूको छ । “मैले ऋण पनि चलाएको थिएन । घरमा समस्या भएपछि रकम भुक्तानीका लागि कार्यालयमा आउँदा खातामा पैसा छैन ।” डालिमाले भनिन्, “मेरो खाताको पैसा मलाई जानकारी नै नगराएर अर्काको व्याज तिर्नका लागि प्रयोग भएको रहेछ । पछि जुन ब्याक्तीको ऋणको व्याज तिरेको थियो, त्यसले मलाई पैसा फिर्ता गर्यो र काम भयो ।” यसअघि युनिक लघुवित्त टीकापुर शाखामा पनि यस्तै समस्या आएको थियो । जानकी गाउँपालिका वडा नं.१ दुर्गौलीका महिलाहरुको बचत फिर्ता नगर्दा उनीहरुले पनि टीकापुर कार्यालयमा तालाबन्दी गर्नुपरेको थियो ।