शेयेर गर्नुहोस
टीकापुर ०१ कार्तिक /
लागुऔषध नियन्त्रण संजालका पदाधिकारीहरुसँग इलाका प्रहरी कार्यालय टीकापुरले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नेपाल प्रहरीको लागूऔषध दुर्व्यसनी विरुद्धको महाअभियान अनुसार गठन भएका पालिका तथा वडा तहमा संजालहरुका पदाधिकारीको उपस्थितिमा उक्त अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले देशकै कैलाली लागुऔषधका घटनामा पहिलो जिल्ला रहेको बताएका छन् । उनले कैलालीमा लागूऔषध कारोबारी तथा प्रयोगकर्ताको तथ्यांक दैनिक बढ्दै गएको बताउँदै त्यसलाई न्यूनीकरण गर्न समाजका सबै संयन्त्रहरु जिम्मेवार हुनुपर्ने बताएका छन् ।
“टीकापुरको कुरा मात्रै गर्ने हो भने पनि बर्सेनि ग्राफ बढ्दै गएको छ । आर्थिक वर्ष २७७/०७८ मा १९ जनालाई मुद्दा चलाएकोमा २०७८/०७९ मा ४० मा पुगेको छ भने गत आर्थिक वर्षमा त्यो संख्यामा वृद्धि भएर ५१ पुगेको देखिन्छ ।” अधिकारी भन्छन्, “पछिल्लो तीन महिनाको अवस्था हेर्दा मात्रै २० मुद्दा दर्ता भएको देखिन्छ । त्यसकारण स्थिति न्यूनीकरण भन्दा जटिल बन्दै गएको हुँदा समयमा सचेत हुन आवश्यक छ ।” उनकाअनुसार साथीसगतीका कारण युवाहरु कुलतमा फस्ने क्रम बढ्दो रहेको तथ्यांकले देखाएको छ । समाजमा लागुऔषधको समस्या महामारी फैलिए जसरी फैलिएको बताउँदै प्रहरी नायब उपरीक्षक अधिकारीले त्यसलाई न्यूनीकरण गर्नका लागि प्रहरीले महाअभियान सुरु गरेको बताए ।
“प्रहरी एउटैले सम्भव नभएका कारण समुदायसँग साझेदारीका काम गर्नुपरेको छ । प्रहरीसँगै समुदाय पनि सक्रिय बनोस् भन्ने उद्देश्यले नगर हुँदै वडा कमिटी गठन भएका छन् ।” प्रहरी नायब उपरीक्षक अधिकारी भन्छन्, “गाउँ घरमा हुने घटनामा जति सक्दो छिटो प्रहरीलाई खबर पुग्यो त्यति नै छिटो प्रहरी घटनास्थलमा पुग्न सक्ने भएकाले पनि नागरिकहरू सचेत बन्न सके लागुऔषध मात्रै नभई अन्य आपराधिक घटनालाई समेत कम गर्दै लैजान सकिन्छ ।”
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी रानाले समाज सामाजिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा सुधार हुन सके मात्रै आपराधिक गतिविधिलाई कम गर्न सकिने बताएका छन् । “हाम्रो सोच अरुको भरमा पर्ने छ । आफ्नो कर्तव्यबाट पन्छिने छ । अनि हामी नै सुन्दर समाजको परिकल्पना पनि गर्छौं ।” राना भन्छन्, “त्यसकारण पनि पहिला हाम्रो मानसिक स्वास्थ्य राम्रो हुनुपर्यो । अनि समाजको पनि । त्यसपछि समाज समृद्ध बन्न सक्छ ।”
टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्लाले अपराध न्यूनीकरणका आगि समाज नै सक्रिय हुनुपर्ने बताएका छन् । उनले अपराध न्यूनीकरण गर्न सकिने भन्दै निराकरण गर्न नसकिने बताए । “हामी भित्र थुप्रै समस्या छन् । ती समस्याले अपराधलाई निराकरण गर्न सकिने स्थिति भने रहँदैन । न्यूनीकरण गर्न सकिन्छ ।” वडा अध्यक्ष ठकुल्लाले भने, “आज अभिभावक जिम्मेवार नभएकै कारण बालबालिकाहरुलाई नियन्त्रण गर्न समस्या भएको छ । अभिभावकले भविष्यको सबैभन्दा ठूलो सम्पत्ति आफ्नो बालबालिका हुन भनेर सोच्ने हो भनेमात्र समाज बन्न सक्छ ।”
सामुदायिक सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सिनाले समाजमा सञ्चालन हुने अभियानलाई साझा अभियानको रुपमा लैजान सकेमात्र सार्थक हुने बताएका छन् । उनले लागुऔषधको समस्या प्रयोगकर्ता भन्दा कारोबारीबाट बढी जटिल बन्दै गएको बताए । “एउटा कारोबारी पक्राउ पर्छ, मुद्दा चल्छ, तर १०/१५ दिनपछि उ त्यसै ठाउँमा भेटिन्छ र त्यहीँ कारोबार सुरु गर्छ । पुनः घटना त्यस्तै हुन्छ ।” उनले भने, “दुर्व्यसनीको समस्यालाई न्यूनीकरण गर्न निकै जटिल छ । यदि समुदाय नै सक्रिय भएर लाग्ने हो भने त्यहाँ जटिल भन्ने केही हुनेछैन ।”