बाढी प्रभावितका लागि राहत संकलन

शेयेर गर्नुहोस


टीकापुर १४ भदौ /
भोटेकोशी बाढी प्रभावितको लागि टीकापुरमा राहत संकलन सुरु भएको छ ।
बाढी प्रभावितका लागि नगद रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरे पनि प्रभावितलाई चाहिने जिन्सी सामाग्री संकलन गर्न थालिएको हो । टीकापुर बजार क्षेत्रबाट व्यापारीहरुसँग स्वस्फूर्तरुपमा दिन सक्ने सामाग्रीको संकलन भैरहेको छ । “हामीले व्यापारीले दिनसक्ने चप्पल, जुता, कपडा, खाद्यान्न, औषधीजन्य सामाग्री तथा नगद पनि उठाइरहेका छौँ ।” नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरका सचीव धर्मराज शर्माले भने, “यसरी संकलन भएको सामग्री सरकारको समन्वयमा प्रभावित क्षेत्रमा पुर्याउने छौँ ।”
टीकापुरवासीको तर्फबाट भैरहेको उक्त राहत संकलनमा व्यापारीहरुले आफ्नो क्षमताअनुसार खुशीका साथ सहयोग गर्दै आएको युवा अगुवा विष्णु रोकायाले जानकारी दिएका छन् । उनले प्रभावित क्षेत्रका नागरिकहरूलाई यो विषम परिस्थितिमा टीकापरले सामुहिक रुपमा गरेको सहयोगले महत्त्वपूर्ण अर्थ राख्ने विश्वास व्यक्त गरेका छन् । “यो सहयोग व्यक्तिगत नभई सामुहिक हो । यसमा समग्र टीकापुरको प्रतिनिधित्व रहने छ ।” उनले भने, “१६ गतेसम्म संकलन हुने राहत सामग्रीमा आआफ्नो क्षेत्रबाट जे सकिन्छ सहयोगको लागि अपिल समेत गर्दछौं ।”
आजबाट टीकापुर भानु चोक सार्वजनिक शौचालय अगाडिको खुला मैदानमा राहत संकलन गरिने टीकापुर उद्योग वाणिज्य संघकी सदस्य जानकी शाहले बताइन् । “भानु चोकमा हामीले नागरिक तथा व्यापारी स्तरबाट उपलब्ध हुने राहत संकलन गर्ने भनेका छौँ ।” उनले भनिन्, “१६ गतेसम्म आफुसँग दिनसक्ने सामर्थ्यको जे छ सहयोगको लागि अपिल गर्दछौं ।” मानवीय विपत्तिको समयमा हरेक नागरिकहरुले गरेको सानो सहयोगले पनि पीडितलाई ठूलो राहत महसुस हुने बताउँदै शिक्षक नारायण ढुंगानाले त्यसका लागि समग्र टीकापुरको एक्यवद्धता आवश्यक रहेको बताए । उनले राहत संकलनका क्रममा संकलन भएको नगदबाट खाद्यान्न लगायतको आवश्यक सामाग्री खरिद गरेर एकैसाथ पठाइने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *