बाल कल्याण संघको ९४४ घरधुरीलाई राहत सहयोग

शेयेर गर्नुहोस


समाधान समाचार, असार ३०/
बाल कल्याण संघ टीकापुर र वल्र्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा कभर टु परियोजना अन्तर्गत ९ सय ४४ घरधुरीलाई राहात सामाग्री वितरण गरिएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण जोखिममा परेका अति संकटासन्न परिवारहरुलाई राहात स्वरुप खाद्यान्न वितरण गरिएको हो । परियोजनाले टीकापुर नगरपालिकाको वडा नं. ६, ७, भजनी नगरपालिकाको वडा नं. १, ५, ७ र घोडाघोडी नगरपालिकाको ७ र १२ नं. वडामा खाद्यान्न सामाग्री वितरण गरेको छ । मंगलबारमात्रै टीकापुर नगरपालिका क्षेत्रमा ६०, भजनी नगरपालिकामा ६९ र घोडाघोडी नगरपालिकामा ३० घरधुरीलाई खाद्यन्न सामाग्री वितरण गरिएको कार्यक्रम व्यवस्थापक सुगम रेग्मीले बताएका छन् ।
उनका अनुसार प्रति परिवार ३० केजी चामल, ३ केजी दाल, २ केजी चिनी, २ केजी नून, २ लिटर तेल र ४ प्याकेट नुहाउने साबुन वितरण गरिएको छ । ‘हामीले काम गर्ने क्षेत्रमा अति संकटासन्न परिवारहरुलाई यो जोखिमको समयमा थोरै भए पनि राहात पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामाग्री वितरण गरेका हांैं ।’ कार्यक्रम व्यवस्थापक रेग्मीले भने, ‘त्यसमा गौरीगंगा नगरपालिका क्षेत्रका नागरिकहरु पनि राहातमा समेटिएका छन् ।’ हालसम्म ३२ लाख ९ हजार ६ सय बराबरको खाद्यान्न सामाग्री अति संकटासन्न परिवारहरुलाई वितरण गरिएको बताइएको छ ।
परियोजनाले कोरोना संक्रमितहरुका लागि भन्दै चारवटा स्थानीय तहलाई ५० थानका दरले हाइजेनिक कीटसमेत वितरण गरेको छ । जसमा टीकापुर, भजनी, घोडाघोडी र गौरीगंगा नगरपालिका रहेका छन् ।
त्यसैगरी, टीकापुर अस्पताललाई यसअघि नै १० थान अक्सिजन सिलिण्डर, २ थान अक्सिजन कन्सन्ट्रेटर र स्थानीय तहलाई विभिन्न स्वास्थ्य सामाग्री समेत वितरण गरेको कार्यक्रम व्यवस्थापक रेग्मी बताउँछन् ।
अहिले वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा गुणस्तरीय तथा समावेशी शिक्षा परियोजना, सामुदायिक संलग्नता तथा बाल संरक्षण परियोजना, बाल स्पोन्सरसिप परियोजना र किशोरी परियोजनामा बाल कल्याण संघले काम गर्दै आएको छ । बाल स्पोन्सर–सिप परियोजना अन्तर्गत जिल्लाभरि–का ६ हजार १ सय २० जना बालबालिकाहरुको तथ्याङ्क रहेको बताउँदै कार्यक्रम व्यवस्थापक रेग्मीले त्यसमा पढाई शिविर, रुपान्तरण कक्षासँगै स्वास्थ्य शिक्षा, जीविकोपार्जनमा बालबालिकाहरुलाई परियोजनाले सहयोग गर्दै आएको बताएका छन् ।
टीकापुर नगरपालिकामा २० वटा पढाई शिविर र भजनी नगरपालिकामा २५ वटा पढाई शिविर सञ्चालनमा रहेका छन् । जसमा एक हजार ९२ जना बालबालिकाहरु पढाई शिविरमा आबद्ध छन् ।
त्यसैगरी, रुपान्तरण कक्षा चार वटा पालिकाभित्र १४ वटा वडाहरुमा २८ वटा कक्षा
सञ्चालन गर्दै आएको छ । जसमा युवायुवतीहरुको जीविकोपार्जन, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी कार्यक्रम, समूह बचत कार्यक्रम रहेको कार्यक्रम व्यवस्थापक रेग्मीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *