जमरा सिँचाइ प्रणालीको १८ औं साधारण सभा

शेयेर गर्नुहोस


टीकापुर १५ भदौ/
जमरा शाखा सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शाखाका अध्यक्ष मानबहादुर चौधरीको अध्यक्षतामा भएको साधारण सभामा बोल्दै रानी जमरा कुलरिया मुल कुलो समितिका अध्यक्ष कुमार राज शाहीले परम्परागत सिँचाइ प्रणालीलाई आधुनिकतातर्फ गैरहँदा किसानहरुको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन् । “हाम्रा अगाडि गौरवको आयोजना छ । यसबाट जतिसक्दो लाभ हामी किसानहरूले लिन सक्नुपर्छ ।” उनले भने, “अहिले पनि कैयौं किसान शाखामा आबद्ध हुनुभएको छैन ।” उनले हरेक सदस्यले शाखासँग समन्वय र सहकार्य गर्नुपर्ने बताउँदै किसानले उठाउने सिँचाइ शुल्कमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
कार्यक्रममा रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सुचना अधिकारी रामकृष्ण घोडाशैनीले चालू आर्थिक वर्षमा बजेटको समुचित वितरणलाई प्रभावकारी बनाउन शाखागत बजेट विनियोजन गरिएको बताएका छन् । “हामीले यसवर्ष जमारालाई १५ करोड, रानीलाई १६ करोड र कुलरियालाई १८ करोड विनियोजन गरेर ठेक्का प्रक्रियामा गैसकेका छौँ ।” उनले भने, “यसले बजेटको सामानान्तर वितरण देखाउने छ ।” इन्जिनियर घोडाशैनीले कृषि सबैभन्दा व्यस्त व्यवसाय भएको उल्लेख गर्दै किसान व्यावसायिक रुपमा सबैभन्दा पीडित पेशा पनि भएको बताए ।
त्यसैगरी रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भरत प्रसाद कडेलले किसानहरुलाई व्यावसायिक बनाउनको लागि कार्यान्वयन इकाईले काम गर्दै आएको बताएका छन् । उनले कृषि उत्पादनमा पनि बिज वृद्धि कार्यक्रम सहित यान्त्रिकिकरणमा पनि आयोजनाले सहयोग गर्दै आएको बताए । किसानहरूकै लागि भनेर निर्माण भएको कोल्ड स्टोरको ९५ प्रतिशत काम सम्पन्न भएको कडेलले बताए “मंसिरसम्म कोल्डस्टोरको सबै काम सम्पन्न गरेर यसवर्ष उत्पादन भएको आलु भण्डारणका हामी गर्न सक्छौं ।” उनले भने, “उपभोक्ताबाट संकलन हुनुपर्ने १०/१२ लाख अझै उठ्न सकेको छैन । त्यो रकम सबै किसानहरूले मिलेर उठाउनुपर्ने छ ।”
जिल्ला जल उपभोक्ता महासंघ कैलालीका अध्यक्ष पर्शुराम महतोले किसानका लागि सिँचाइ व्यवस्थापन पहिलो आवश्यकता भएको उल्लेख गर्दै बीउ विजन, मलखाद र यान्त्रिकिकरण किसानका लागि आधारभूत आवश्यकता भएको बताएका छन् । उनले कृषिलाई प्रवर्द्धन सहितको बजारीकरणमा किसानहरू संगठित हुनुपर्ने बताएका छन् । साधारण सभाले सिँचाइमा योगदान पुर्याउने लालबहादुर विष्ट, नरबहादुर घर्तीमगर, जुगराम थारु, बाबुराम डगौरा थारु, जंगलिया डगौरा थारु र कालुसिंह विकलाई सम्मान गरेको छ ।
साधारण सभामा जल उपभोक्ता संस्थाले आर्थिक वर्ष २०८२/०८३ को कुल २३ लाख २३ हजार ८ सय ६८ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाका उपाध्यक्ष अमरबहादुर चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव भुपेन्द्र पुन मगरले गरेका थिए । शाखाको मातहतमा १५ वटा उपशाखा रहेका छन् । ती सबै शाखामा ६ हजार ९ सय ६ जना सदस्य रहेका छन् । छैठौं चुनावी साधारण सभा पनि भएकोले उक्त साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *