बेसहाराका लागि सहारा घर

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर /
कैलालीको बौनियामा रहेको सहारा घर बेसहाराहरुका लागि महत्त्वपूर्ण आश्रय स्थल बनेको छ । २०७२ सालमा उहाँले सडकमा सहाराको खोजी गरिरहेका बेसहाराहरुलाई सहारा दिने उद्देश्यले स्थापना गरिएको सहारा घर आज त्यस्ता सडक मानवका लागि निकै महत्त्वपूर्ण आश्रयस्थल बनेको हो ।
घर परिवार र समाज अपहेलित भएर पागलको संज्ञा दिइएका सयौं बेसहारा सहारा घरको सहारामा निको भएका छन् । “परिवार र समाजले नचिनेका सबै क्षेत्रबाट अपहेलनामा परेर आफुलाई आफै बिर्सेका मानिसहरूलाई हामीले सहारा दिनकै लागि यो घरको स्थापना गरेका हौं ।” सहारा घरका संस्थापक संरक्षक बलबहादुर विष्ट भन्नुहुन्छ, “२०७२ सालदेखि हालसम्म सडकबाट उठाएर ल्याएका चार सय पाँच जनाको उपचार पछि सञ्चो भएर पारिवारिक मिलन गराएका छौँ ।”
सहाराका लागि ल्याइएका ३८ जनाले त्यहीँ घरमा देह त्याग गरेका छन् । देह त्याग गरेकाहरुको सम्झनामा सहारा शान्ती वाटीका निर्माण गरिएको छ । हाल पनि सहारा घरमा ५८ जना सडक बेसहाराहरुले सहारा लिइरहेका छन् । त्यहाँ रहेका उहाँहरुमा मानसिक सन्तुलन गुमाएकै भन्ने देखिँदैन । कुनै कालखण्डमा शारीरिक, मानसिक तथा अन्य कारणले परिवार र समाजबाट अपहेलित भएर सडकमा आएकाहरु सहारा घरमा पुग्दा त्यहाँको अनुशासनलाई पालना गरेर बसेको पाइन्छ । खाना खाने समयमा खाना खाने, एकले अर्कालाई सम्मान गर्ने, अन्य समयमा चौतारीमा सामुहिक बसेर दिन काट्ने गरेका छन् । “उहाँहरु बिरामी भएर सडकमा आएका होइनन् । जबरजस्ती सडकमा ल्याइएका हुन ।” संस्थापक विष्ट भन्नुहुन्छ, “होइन भने जुन व्यवहार सडकमा तिनले गर्थे त्यो यहाँ आएपछि किन गर्दैनन् ?”
लामो समयदेखि सडकमा भौतारिँदै, सडेगलेको खानेकुरा खाएर आफ्नो शरीरको समेत प्रवाह नगरी अस्वस्थ बनेका व्यक्तिहरुलाई सामान्य स्थितिमा पुर्याउन समय लाग्ने गरेको पाइन्छ । घरलाई बर्दगोरिया गाउँपालिकाले सहयोग गर्दै आएको छ । कैलालीका केही अन्य पालिकाको पनि सहयोग रहँदै आएको विष्टले बताउनुभयो । अन्य स्थानीय तहले भनेजस्तो सहयोग नगरेको उहाँको गुनासो छ । स्वदेशी संघसंस्थाले आवास निर्माणमा सहयोग गरेका छन् । घरमा एउटा एम्बुलेन्सको व्यवस्था गरिएको छ । सुदुरपश्चिम प्रदेशले पनि सहारा घरलाई सहयोग गर्दै आएको छ ।
सहारा खोजिरहेको मानिसहरूको जिम्मा राज्यले लिनुपर्ने बलबहादुर बताउनुहुँन्छ । उहाँले कुनै व्यक्ति वा संस्थाले सुरुवात गरेर राज्यले गर्ने काममा साथ दिएको भन्दै त्यसको स्वामित्व राज्यले लिएर आफ्नो निगरानीमा सबै मानव प्राणीका लागि प्रदत्त गरेका अधिकार प्रदान गरिनुपर्ने बताउनुभयो । “म एकजना व्यक्तिले सधैं भर यसैगरी काम गर्न सक्छु कि सक्दैन भन्ने कुरा महत्त्वपूर्ण हो । त्यसैमा मेरो वा मजस्ता अन्य यस्तै सेवामा लागेकाहरुको आफ्नो जीवन पनि छ ।” उहाँ भन्नुहुन्छ, “राज्यले जसरी मानव मुक्त सडक बनाउने नीति लिएको छ, त्यसैगरी बेसहारालाई सहारा दिने ग्यारेन्टी पनि गर्नुपर्छ ।”
सहारा घरमा रहेका बेसहाराहरुको लागि नागरिक स्तरबाट भने राम्रो सहयोग प्राप्त हुने गरेको छ । कुनै जन्मदिन लगायतका अवसरमा नागरिकहरूले त्यहीँ सहारा घरमा पुगेर आफ्नो जन्मदिन लगायतका कार्यक्रम गर्दै एक छाकको भोजनको जिम्मा लिने गरेका छन् । जुन कार्यक्रमले सहारा घरका बेसहारालाई दुई छाक खानका लागि सहज भएको पाइन्छ ।
कैलालीको टीकापुर स्थित गुडिमुन्टे समुहले पनि देउसी भैलोबाट संकलन भएको रकमबाट एक दिनको भोजन सहारा घरमा गराएको छ । समुहले देउसी भैलोबाट संकलन भएको चामल सहित सात हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरिएको संयोजक राजेन्द्र विश्वकर्माले बताउनुभयो । “बर्सेनि देउसी भैलोबाट संकलन भएको रकमको २० प्रतिशत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छौँ । यसवर्ष पनि त्यसैअनुसारको सहारा घरलाई सहयोग गरेका हौं ।” उहाँले भन्नुभयो, “देउसी भैलोमा हामीले संकलन गरेको पैसाको केही रकम समाजलाई सहयोग गर्दा सकारात्मक सन्देश प्रवाह हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *