शेयेर गर्नुहोस
भजनी ०९ फागुन /
भजनी नगरपालिकाका सामुदायिक विद्यालयहरूमा दिवा खाजा सूची निर्माण गरिएको छ । वर्ल्डभिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा यार्ड धनगढीको आयोजनामा बाल समृद्धिका लागि एकीकृत विकास परियोजना ‘हातेमालो’ कार्यक्रम अन्तर्गत दिवा खाजा सुची निर्माण गरिएको हो ।
नगरपालिकाभित्रका ३० वटा सामुदायिक विद्यालयका प्रतिनिधिको सहभागितामा सम्पन्न कार्यक्रममा विद्यालयका पोषण फोकल शिक्षकलाई शिक्षा अधिकृत पंकबहादुर शाह र स्वास्थ्य शाखा प्रमुख कैलाश डर्गौराले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले नेपाल सरकारको मापदण्डअनुसार पोषणयुक्त मिश्रित खाजा प्रत्येक विद्यार्थीले पाउने सुनिश्चितताका लागि खाजा सूची निर्माण गरिएको उल्लेख गर्दै कम्तीमा प्रतिविद्यार्थी २० रुपैयाँ बराबरको पोषणयुक्त खाजा उपलब्ध गराउने उद्देश्यका साथ साप्ताहिक मेनु तयार गरिएको बताएका छन् ।
उनले धेरै विद्यालयमा दिवा खाजा व्यवस्थापन सन्तोषजनक नरहेको अवस्था देखिएकाले इमान्दारपूर्वक कार्यान्वयन सुनिश्चित गर्न मापदण्डसहितको मेनु तयार गरिएको बताएका छन् । विगतदेखि सञ्चालन हुँदै आएको खाजा व्यवस्थापनमा देखिएका कमजोरी सुधार गरी प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याएको भन्दै आयोजक यार्ड धनगढीलाई उनले धन्यवाद समेत दिए ।
कार्यक्रममा सहभागी शिक्षिका दया चौधरीले मिश्रित खाजाले बालबालिकाको पोषण अवस्थामा सकारात्मक सुधार ल्याउने विश्वास व्यक्त गरिन । तालिमबाट व्यवहारिक ज्ञान प्राप्त भएको बताउँदै आफ्नो विद्यालयमा करेसाबारी भएकाले मेनु कार्यान्वयन सहज हुने र सबैले कडाइका साथ लागू गर्ने प्रतिबद्धता उनले जनाइन् । शिक्षक लिलाराम विश्वकर्माले नयाँ मेनु लागू गर्ने प्रारम्भिक चरणमा केही चुनौती भए पनि पालिकाबाट समयमै भुक्तानी भए कार्यान्वयनमा समस्या नहुने बताए । उनले दैनिक रूपमा पोषणयुक्त मिश्रित खाजा कसरी तयार गर्ने र सरसफाइको महत्वबारे प्राप्त ज्ञानले आगामी दिनमा कार्यक्रम अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।










