भजनी खानेपानीको निर्वाचनमा नैनबहादुरको प्यानल बिजयी

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी २२ चैत /

खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ निर्वाचनमा नैनबहादुर चौधरी–सहितको पूरै प्यानल विजयी भएको छ ।
शनिबार भएको संस्थाको निर्वाचनमा अध्यक्षका उम्मेद्वार चौधरीले १ सय ५४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी दिपकराज जैशीले ३७ मत प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्षमा नौले बुढाले १ सय २ मत प्राप्त गरी विजय हुँदा उनका प्रतिद्वन्द्वी दिनेशबहादुर कुमाल १ सय ५१ र केशव परियारले २३ मत प्राप्त गरेका छन् ।
सचिव पदमा टीकाराम जोशी १ सय १३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी प्रयागराज जैशी रेग्मीले ६२ मत प्राप्त गरेका छन् । संस्थाको कोषाध्यक्षका उम्मेद्वार चन्द्रा जैशीले १ सय २३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी मनिषा चौधरीले ३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरिलाल जैशीले जानकारी दिएका छन् । जैशीका अनुसार सदस्यमा रतिराम चौधरी १ सय ३१, भजन कामी १ सय १४, अनिल पनेरु १ सय ८ मतले विजय हुँदा उनका प्रतिद्वन्द्वी केशव बुढा ६०, प्रेम चनारा ३६, केशवबहादुर बोहरा ५२, गजेन्द्रबहादुर चन्दले २० मत प्राप्त गरेका छन् । महिला सदस्यमा अनिता चौधरी १ सय ४४ र लक्ष्मी जोशी १ सय ३४ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिद्वन्द्वी हिमा बि.क. ३६ र चन्द्रादेवी जैशी रेग्मीले ४१ मत प्राप्त गरेकी छन् ।
२ सय १४ मतदाता रहेकोमा २ सय ५ जनाले मतदान गरेका थिए । बिहान ८ बजेबाट सुरु भएको मतदान शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको निर्वाचन अधिकृत जैशीले जानकारी दिएका छन् । ‘हामीले शान्तपूर्ण ढङ्गबाट कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डका साथ निर्वाचन सम्पन्न गराएका छौं ।’ निर्वाचन अधिकृत जैशीले भने, ‘सबैको सहयोग र सहकार्यले शान्तिपूर्ण ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सफल भएका हौं ।’
भजनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका नव निर्वाचित अध्यक्ष चौधरीले संस्थाको आगामी नेतृत्वको लागि आफूलगायत पूरै टिमलाई विश्वास गरी मतदान गरेकोमा मतदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । ‘लामो समयदेखि अनिर्णयको बन्दी बनेको खानेपानी संस्थाले नेतृत्व पाएको छ । जहाँ अवसरभन्दा धेरै चुनौतीहरु छन् ।’ नव निर्वाचित अध्यक्ष चौधरीले भने, ‘ती चुनौतीहरुलाई सामना गर्दै उपभोक्तामाझ गरेका प्रतिवद्धतालाई कार्यान्वयनका लागि हामी दृढ संकल्पका साथ काम गर्नेछौं ।’
उनले नेतृत्वमा आफूहरु रहे पनि सबै उपभोक्ता र नागरिक अगुवा–लगायतको सहयोग र समन्वयबिना काम गर्न नसकिने बताउँदै जुन ढङ्गबाट निर्वाचनमा सहयोग भएको छ, त्यहीअनुसार आगामी दिनहरुमा पनि सहयोग र समन्वयको अपेक्षा गरेको बताएका छन् ।
निर्वाचनमा भजनी नगरपालिका शिक्षा शाखाका उप–सचिव सूर्यबहादुर सिंह, महुन्याल माविका प्रअ भूमिन्द्रप्रसाद भट्ट र समाधान न्यूज दैनिकका कार्यकारी सम्पादक झलनाथ खनाल पर्यवेक्षकको रुपमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *