शेयेर गर्नुहोस
भजनी ३० जेठ /
भजनी नगरपालिकाको १८ औं नगर अधिवेशन नगर सभा सदस्यहरुको विरोधपछि स्थगित भएको छ ।
आउने आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याउने कार्ययोजना सहित सुरु भएको नगर सभा केही नगर सभा सदस्यहरुको विरोधपछि प्रक्रिया पुर्याएर स्थगित भएको हो । नगरपालिकामा प्रतिपक्षीको भुमिकामा रहेका ६ जना वडा अध्यक्ष सहित अन्य नगर सभा सदस्यहरुले नीति तथा कार्यक्रम एकातिर हुने र बजेट ल्याउँदा आफ्नो अनुकुल हुने गरी आउने गरेको भन्दै विरोध गरेका थिए । नगर सभामा विरोध हुन थालेपछि असार ८ गतेसम्मका लागि बैठक स्थगित गरिएको नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताएका छन् ।
“नगर सभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका थियो । केही नगर सभाका सदस्यहरुले बजेट सहितको नीति तथा कार्यक्रम आउनुपर्ने माग गरेपछि बैठक स्थगित भयो ।” उनले भने, “अब अर्को बैठक असार ८ गते आव्हान गरिएको छ । त्यस दिन नीति तथा कार्यक्रम सहित बजेट आउँछ ।”
तर, वडा नं.८ का वडा अध्यक्ष पंकज चौधरीले भने नगरपालिकामा विगतका वर्षहरूमा नीति तथा कार्यक्रमको नाममा नगर सभा सदस्यलाई झुक्याएर बजेटमा मनपरि हुँदै आएकोले विरोध गर्नुपरेको बताएका छन् । “विगतमा नीति तथा कार्यक्रम पारित गर्ने, तर बजेट विनियोजन हुँदा त्यसले नीति तथा कार्यक्रमलाई छुएकै हुँदैन ।” उनले भने, “यसपटक त्यसलाइ रोक्नको लागि पनि विरोध गर्नुपरेको हो ।”
उनका अनुसार आउने आर्थिक वर्षका लागि नगरपालिकाले २२ करोड चालू बजेटको फर्मेट निर्माण गर्दा चालू आर्थिक वर्षमा विनियोजन भएको १९ करोड बजेटको लेखाजोखा वडा अध्यक्षले माग समेत गरेका छन् । “चालू तर्फ २२ करोड विनियोजन गर्नुभन्दा पहिले यसवर्षको १९ करोडको हिसाबकिताब हामीले माग गरेका छौँ ।” उनले भने, “मागेको हिसाबकिताब नदिने । औचित्य पुष्टि नगरी बजेट विनियोजन गर्ने नियतको हामीले विरोध गर्दै आएका छौँ ।” उनले आवश्यकता भए २२ करोड मात्रै नभई बढी बजेट विनियोजन गर्दा पनि आफुहरुको आपत्ति नहुने भन्दै मागेको कुराहरू पाउनुपर्ने बताएका छन् ।
नगरपालिका भित्रका ९ वटै वडालाई एक करोडका दरले बजेट माग गरिएको पनि वडा अध्यक्ष चौधरीको भनाई छ । उनले एक वडा एक गौरवको आयोजना अनुसार नगरपालिकाबाट बजेट विनियोजन हुनुपर्ने र सबै वडालाई एक करोडका दरले बजेट दिनुपर्ने आफुहरुले माग गरेको बताएका छन् । साथै अध्यक्ष चौधरीले सबै वडा अध्यक्ष, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखालाई सँगै राखेर बजेटको बाडफाड सहित नगरपालिका भित्रका स्रोतको पहिचान गरेर सहमतिका आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार माओवादी केन्द्रबाट निर्वाचित भएका तीनजना, एमालेका दुईजना र नेपाली काँग्रेसबाट निर्वाचित भएका एकजना वडा अध्यक्षले नीति तथा कार्यक्रम प्रती असहमति जनाएका छन् ।