भजनी पुर्ण खोप सुनिश्चितता पालिका

शेयेर गर्नुहोस


पदमराज जैशी, भजनी ०८ जेठ /
भजनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका एवम् दिगोपना घोषणा गरिएको छ ।
“स्थानीय श्राेतकाे उपयाेग स्वामित्व र सहभागिता, पूर्ण खाेप सुनिश्चितता हाम्राे प्रतिबद्धता” भन्ने मुल नाराका साथ नगरपालिकालाई एक कार्यक्रमको आयोजना गर्दै पूर्ण खाेप सुनिश्चितता एवम् दिगाेपना घाेषणा गरिएको हो । नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला खाेप समन्वय समिति संयाेजक खगराज भुसालले पालिका भित्रका खोप लगाउने नागरिकहरूलाई खोपको पहुँच भित्र ल्याउन सक्यो भने मात्रै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम गरिँदै आएको बताएका छन् । उनले प्रत्येक वर्ष कार्यक्रम गरिँदै आएको पनि बताए ।
कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत निलक कुमार न्यौपाने, वडा अध्यक्ष, संघसंस्थाका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख चौधरीले भजनी नगरपालिकाको समग्र विकासका लागि निकै जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् । उनले गलत कुरामा नागरिकहरूको खबरदारी सधैं आवश्यक रहेको भन्दै राम्रा कुराहरूमा साथ र समर्थन पनि चाहिएको बताए । “राम्रोलाई साथ र नराम्रोमा प्रतिवाद आवश्यक छ । तर स्थानीय सरकारले गरेका राम्रा कामहरूमा अवरोध सिर्जना गरेर स्थानीय सरकारलाई फेल गर्ने रणनीतिले भजनी बनाउन सकिँदैन र बन्दैन ।” नगर प्रमुख चौधरीले भने, “हामी सबैको साथ सहयोग र एकाताले भजनीलाई समृद्ध बनाउन सकिन्छ । त्यसमा सबै मिलेर अगाडि बढौँ ।”
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *