भजनी वडा नं.१ को सार्वजनिक सुनुवाइ सम्पन्न

शेयेर गर्नुहोस


भजनी २० जेठ /
भजनी नगरपालिका वडा नं. १ को आर्थिक वर्ष २०७९/०८० को वडास्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं.१ को आयोजना तथा मेल मिडिया सोलुशन प्रालिको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले पाँच वर्षसम्म हुन नसकेको सार्वजनिक सुनुवाइ वर्तमान जनप्रतिनिधिहरुले गर्ने आट गरेकोमा धन्यवाद दिएका छन् । स्थानीय समाजसेवी नैनबहादुर चौधरीले यसभन्दा पहिलेका जनप्रतिनिधिले एकपटकसम्म पनि सार्वजनिक सुनुवाइ गर्नसक्ने आट नगरेक बताउँदै अहिलेका जनप्रतिनिधिले त्यति आट गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । “सार्वजनिक सरोकारका काममा कसैले कसैप्रती प्रतिशोध नराखेर काम गर्नुपर्ने हुन्छ ।” चौधरीले भने, जे भएको छ राम्रो छ । अझै राम्रो प्रयास गर्नुहोला हाम्रो साथ छ । तर वडाका सबै नागरिकहरूलाई हेर्ने नजर भने एउटै होस् ।”
टीकाराम जोशीले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेर नागरिकहरूका सुझाव सल्लाह प्रश्न गर्ने माध्यम बनाइएको भन्दै धन्यवाद दिएका छन् । उनले भजनी खानेपानी संस्था एक भजनीको गौरवको आयोजना भएक बताउँदै त्यसलाई वडाले सकारात्मक नजरले हेर्नुपर्ने बताएका छन् । स्थानीय नवराज काफ्लेले योजना छनोट गर्दा बजार क्षेत्रलाई उपेक्षा गरेको भन्दै आगामी वर्षदेखि बजेटको बाडफाड समान रुपले गर्न आग्रह गरेका छन् । दिलरानी डंगौराले भजनी क्षेत्रको मुटु भजनी बजार भएको भन्दै बजार क्षेत्रमा सार्वजनिक शौचालय नभएका कारण निकै समस्या हुने गरेको बताउँदै त्यसको व्यवस्थापन गर्न वडालाई सचेत गराएकी छन् ।
स्थानीय केशव चलाउनेले बजार क्षेत्रमा निर्माण भएका नालीको सरसफाइ हुन नसक्दा बजारमा दुर्गन्ध फैलिएको भन्दै त्यो सरसफाइको जिम्मेवार निकायको खोजी गरेका छन् । नृप बोगटीले नाली सरसफाइको काम गर्ने जिम्मेवारी स्थानीय सरकारको भएको बताउँदै नाली माथी निर्माण भएका संरचना हटाउनुपर्ने बताए । समाजसेवी शेरबहादुर विकले सरोकारवाला निकायहरू सबैको राय सुझाव लिएर काम गर्न वडालाई सुझाव दिएका छन् । उनले राम्रा भित्रका केही नराम्रा कामहरूले राम्रालाई ओझेलमा पार्ने भन्दै भजनीका लागि मसानघाट निकै महत्त्वपूर्ण भएकोले त्यसको योजना बनाउन आग्रह गरेका छन् ।
कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले वडा कार्यालयले प्राप्त गरेको बजेटको वितरण समावेशी रुपमा गरेको बताउँदै कुनै पनि समुदायले बजेट पाएन भन्ने स्थिति नभएको बताएका छन् । “हामीले एक समुदाय एक योजनाको अवधारणा अनुसार काम गरेका थियौं । त्यो पनि स्थानीयबाटै माग भइ आएको योजनाको आधारमा ।” वडा अध्यक्ष श्रेष्ठले भने, “उठेका कैयौं प्रश्नहरुमा वडा कार्यालय जिम्मेवार रहेको छ । काम भएको छ,परिणाम आउन मात्रै नसकेको हो । केही कमजोरी हाम्रो पनि होला त्यसलाई नागरिकहरुको सुझाव सल्लाहअनुसार आगामी दिनका कार्ययोजना तयार पारेर अगाडि बढ्ने छौं ।”
वडा सचीव जनकप्रसाद भण्डारीले नागरिकहरूबाट राम्रा कामको प्रशंसा र नराम्रो काममा सुझाव आएपछि त्यसले काम गर्न हौसला मिल्ने बताएका छन् । “वडामा आउने सेवाग्राहीका काममा हामीले कुनै शनिबार भनेका छैनौं । कुनै बिरामी भनेका छैनौं । हामी जिम्मेवार भएर भजनी र भजनीका नागरिकहरूको सेवामा छौँ ।” वडा सचीव भण्डारीले भने, “गलतलाई मात्रै देख्ने, राम्रोलाई बिर्सने परिपाटी हामीमा हुनुहुँदैन । त्यस्तो भए हाम्रो पनि काम गर्ने जागर लाग्दैन ।”
वडा कार्यालयले चालु आर्थिक वर्षमा भएका सेवा प्रवाह र विकासका कामको प्रगति विवरण समेत सार्वजनिक गरेको छ । वडा कार्यालयले चालू आर्थिक वर्षमा पुर्वाधार विकास तर्फका १९ योजनामा १३ योजनाको काम सम्पन्न गरेको छ भने ८ योजनाको काम चालू अवस्थामा रहेका छन् । सामाजिक विकास तर्फ १२ योजना मध्ये सात योजनाको काम सम्पन्न हुँदा पाँच योजनाको काम बाँकी रहेको तथ्यांकले देखाएको छ । आर्थिक विकास तर्फ सात योजना मध्ये चार योजनाको काम सम्पन्न भएको छ भने तीन योजना बाँकी रहेका छन् । वातावरण तथा विपद व्यवस्थापमा छ योजनामा तीन योजना सम्पन्न भएका छन् भने दुई योजना चालू अवस्थामा रहेको छ भने एउटा योजना बाँकी रहेको छ ।
त्यसैगरी संस्थागत विकास तर्फ छ योजनामा पाँच योजना सप्पन्न हुँदा एउटा बाँकी रहेको देखिन्छ । नगरपालिका स्तरीय ९ वटा योजनामा पाँच योजनाको काम सम्पन्न भएको छ भने चारवटा योजना चालू अवस्थामा रहेका छन् । नगर उपप्रमुख राजु तिरुवाको प्रमुख आतिथ्यमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको स्वागत वडा सदस्य सीताराम चौधरीले गरेका थिए । राजेन्द्र विश्वकर्मा र नानू काफ्ले सार्वजनिक सुनुवाइ कार्यक्रमको टिप्पणी कर्ताको रुपमा रहेका थिए भने कार्यक्रमको सहजीकरण झलनाथ खनालले गरेका थिए ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *