शेयेर गर्नुहोस
टीकापुर १० कार्तिक /
टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षमा अध्ययन अवलोकन भ्रमण शीर्षकमा झण्डै ६६ लाख बजेट विनियोजन गरेको पाइएको छ ।
नगरपालिका मातहतका शाखा, उपशाखा तथा वडा तहबाट अवलोकनका लागि ठूलो रकम विनियोजन भएको पाइएको हो । नगरपालिकाको १५ नगर सभाले पारित गतेको चालू आर्थिक वर्षको बजेटमा नगरपालिका मातहतका शाखा, उपशाखा तथा वडा तहबाट ६५ लाख ८६ हजार चार सय ४३ रुपैयाँ विनियोजन भएको छ । नगरपालिकाले प्रशासनिक खर्च तर्फको शिर्षकमा तीनवटा फरक शिर्षकमा भ्रमण खर्चका लागि ४५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगर सभाले पारित गरेको नीति तथा कार्यक्रम अनुसार पदाधिकारी भ्रमणका लागि १५ लाख विनियोजन भएको छ । त्यसैगरी कर्मचारी भ्रमण खर्च शिर्षकमा २० लाख बजेट विनियोजन हुँदा नगर सभाका सदस्यहरुको लागि अध्ययन अवलोकन भ्रमण खर्च शिर्षकमा १० लाख बजेट विनियोजन भएको छ । नगरपालिका मातहतका शाखाले छुट्टै भ्रमण शिर्षमा बजेट विनियोजन गरेक छन् ।सुशासन तथा संस्थागत सुशासन तर्फबाट सुशासन तथा संस्थागत विकास समितिको अनुभव आदानप्रदान भ्रमण कार्यक्रमका लागि दुई लाख बजेट छ । त्यसैगरी पुर्वाधार शाखाले पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका कर्मचारी तथा पुर्वाधार विकास समितिका पदाधिकारीको अध्ययन अवलोकन, क्षमता विकास तथा पुनर्ताजगी कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन भएको छ ।
वडाहरुले पनि अवलोकन भ्रमणको नाममा लाखौं बजेट विनियोजन गरेका छन् । वडा नं. १ र ५ बाहेकका वडाले अवलोकन भ्रमणको कार्यक्रम चालू आर्थिक वर्षमा राखेका छन् । वडा नं. २ ले महिला स्वास्थ्य स्वयंसेविकालाई अवलोकन भ्रमण कार्यक्रम गराउने भन्दै ७७ हजार ८ सय ६७ रुपैयाँ ९४ पैसा बजेट छुट्याइएको छ । त्यसैगरी वडा नं. ३ ले जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविकालाई अवलोकन भ्रमण गराउने भन्दै दुई लाख ४४ हजार ९ सय ४४ रुपैयाँ ४७ पैसा छुट्याइएको छ ।
कृषि अवलोकन भ्रमण गराउने भन्दै वडा नं. ४ ले एक लाख ३६ हजार ८ सय ४९ रुपैयाँ ९ पैसा विनियोजन गरेको छ । वडा नं. ६ ले अवलोकन भ्रमण भन्दै तीन लाख विनियोजन गरेको छ । अध्ययन अवलोकन भ्रमण शिर्षकमा वडा नं. ७ ले दुई लाख ५० हजार विनियोजन गर्दा वडा नं. ८ ले पनि अवलोकन भ्रमणका लागि दुई लाख ५० हजार विनियोजन गरेको छ । वडा नं. ९ ले पनि अवलोकन भ्रमणको नाममा बजेट विनियोजन गरेको पाइन्छ । कृषि भ्रमण भन्दै वडाले एक लाख २६ हजार ७ सय ८३ रुपैयाँ ६६ पैसा विनियोजन गरेको छ ।
चालू आर्थिक वर्षमा ७ करोड ५३ लाख दुई हजार आन्तरिक राजश्व संकलनको अनुमान गरेको नगरपालिकाले आवश्यक भन्दा अनावश्यक शिर्षकमा बजेट खर्च गर्दै आएको भन्दै नगरपालिकाको पटकपटक विरोध हुने गरेको छ । अवलोकन भ्रमणको नाममा नगरपालिकाले खर्च गर्ने बजेटको उपयोगिता केही नरहेको स्थानीयको बुझाई छ ।










