महायज्ञको आयव्यय सार्वजनिक

शेयेर गर्नुहोस


टीकापुर २० असोज /
टीकापुर स्थित कैलाशेश्वर शिव मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको महायज्ञको आयव्यय शनिबार सार्वजनिक गरिएको छ ।
कैलाशेश्वर शिव मन्दिर व्यवस्थापन समितिले गत जेठ ७ गतेदेखि १३ गतेसम्म आयोजना गरेको श्रीमद्भागवत सप्ताह महायज्ञको आयव्यय सार्वजनिक गरिएको हो । समितिका कोषाध्यक्ष मुक्तिप्रसाद रेग्मीले प्रस्तुत गरेको आयव्यय अनुसार महायज्ञमा ३७ लाख ३३ हजार ८ सय २८ रुपैयाँ आम्दानी भएको छ । जसमा शिव मन्दिर निर्माणका लागि २४ लाख ४३ हजार एक सय ६३ रुपैयाँ, शिव मन्दिर विविध आम्दानीमा ९ लाख १८ हजार पाँच सय दुई रुपैयाँ , महायज्ञ सहयोगबाट तीन लाख ६२ हजार चार सय ८३ रुपैयाँ र व्याबाट ९ हजार ६ सय ८० रुपैयाँ संकलन भएको छ ।
त्यसैगरी खर्चमा ६ लाख १६ हजार ७ सय ४७ रुपैयाँ रहेको छ । जसमा भजन टोलि खर्च एक लाख २८ हजार, पञ्चेबाजा तीन हजार ९ सय, महायज्ञ मण्डल खर्च दुई लाख, दानबिर सम्मान ३० हजार, मण्डप निर्माणमा २२ हजार १४ रुपैयाँ, भण्डारा खर्च ६० हजार ७ सय १५ रुपैयाँ, विद्युत लाइन खर्च १० हजार चार सय १० रुपैयाँ खर्च भएको छ । त्यसैगरी मण्डप ग्रील खर्च ६ हजार तीन सय ३९, मसलन्द खर्च ६१ हजार तीन सय ६०, पुजा अर्चना खर्च ४९ हजार दुई सय १०, दक्षिणा खर्च २१ हजार पाँच सय, विविध २२ हजार ८ सय १५ र कर कट्टी चार सय ८४ रुपैयाँ खर्च भएको छ ।
महायज्ञबाट १७ लाख ४० हजार दुई सय २३ रुपैयाँ बचत भएको छ भने १३ लाख ७६ हजार ८ सय ५८ रुपैयाँ उठाउन बाँकी रहेको कोषाध्यक्ष रेग्मीले बताएका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद तिमिल्सिनाले शिव मन्दिर निकै जिर्ण भैसकेको बताउँदै त्यसैको पुनर्निर्माणका लागि महायज्ञको आयोजना गरिएको बताएका छन् । “निकै छोटो समयमा हामीले महायज्ञ गर्ने निर्णय गरेर अगाडि बढेका थियौं । तर पनि यस्तो आर्थिक मन्दीको समयमा यो सम्मको दान उठ्नु सकारात्मक कुरा हो ।” अध्यक्ष तिमिल्सिनाले भने, “हामीले लिएको लक्ष्य अनुसार मन्दिर निर्माणको काम सुरु गर्न सक्ने भएका छौँ । त्यसमा आगामी दिनमा पनि सहयोग हुनेमा विश्वस्त छौँ ।”
मन्दिर व्यवस्थापन समितिका सचिव चक्रपाणी भट्टराईले महायज्ञमा एक हजार आठ सय रसिद काटिएको बताएका छन् । उनले संकलन हुन बाँकी रकम पनि मन्दिर निर्माण सुरु भएसँगै संकलन हुने बताए । उनले महायज्ञ सफल बनाउनमा टोल विकास संस्थाको भुमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *