महायज्ञको तयारी तिब्र पारिँदै

शेयेर गर्नुहोस

 
टीकापुर २६ भदौ /
  टीकापुरमा आगामी मङ्सिर १२ देखि २२ गतेसम्म आयोजना हुने श्री विराट अष्टोत्तरसत १०८ कुण्डीय गोपाल कोटीहोम महायज्ञको तयारी तीव्र पारिएको छ ।
नेपालकै ठूलो धार्मिक महायज्ञका रूपमा आयोजना गर्न लागिएको कोटीहोमका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गर्नुका साथै आवश्यक पूर्वाधार र व्यवस्थापनको कामलाई तिब्रता दिइएको आयोजकले जनाएको छ । महायज्ञ परिसरको सरसफाई तथा वातावरण संरक्षणका लागि गोपालप्रसाद चौधरीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।
त्यसैगरी महायज्ञमा श्रद्धालु तथा भक्तजनको सहभागिता व्यवस्थित गर्न नरेशकुमार खत्रीको संयोजकत्वमा जनपरिचालन उपसमिति गठन गरिएको बताइएको छ ।महायज्ञलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले भव्य र व्यवस्थित बनाउन तयारीका कामहरू चरणबद्ध रूपमा अघि बढाइएको ईश्वर प्रेमी सेवा आश्रमका महासचिव पुष्पराज बमले जानकारी दिएका छन् ।
उनका अनुसार महायज्ञमा देशका विभिन्न स्थानबाट साधुसन्त, धार्मिक व्यक्तित्व तथा श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ । महायज्ञलाई टीकापुरको धार्मिक पर्यटन तथा सामाजिक एकताको महत्वपूर्ण अवसरका रूपमा अघि बढाउने तयारी भइरहेको छ । महायज्ञले टीकापुर सहित सुदुरपश्चिम प्रदेशको समग्र धार्मिक पर्यटन क्षेत्रको विकास तथा प्रचारप्रसारमा टेवा पुग्ने विश्वास महासचिव बमले गरेका छन् ।
आयोजकका अनुसार महायज्ञ अवधिभर धार्मिक अनुष्ठान, पूजापाठ, प्रवचनलगायत कार्यक्रम सञ्चालन गरिनेछन् महायज्ञलाई व्यवस्थित बनाउन सुरक्षा, सरसफाइ, स्वयंसेवक परिचालन, श्रद्धालुको व्यवस्थापन तथा अन्य आवश्यक तयारीलाई समेत प्राथमिकतामा राखिएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *