शेयेर गर्नुहोस
टीकापुर ०९ असार /
नेतृत्व विकासका लागि महिलाहरूको क्षमता अभिवृद्धि कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका वडा नं. ७ को आयोजना तथा सिर्जनशील युवा समाज नेपालको समन्वयमा दुई दिने महिलाहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो । सिर्जनशील युवा समाज नेपालका कार्यक्रम संयोजक राजेन्द्र विश्वकर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले महिलाहरूको क्षमता विकासका लागि आगामी वर्ष पनि कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।
“महिला सक्षम भए समाज सक्षम हुन्छ । समाजमा हुने सामाजिक सामाजिक तथा लैङ्गिक हिंसा न्यूनीकरणमा समेत मद्दत पुग्ने छ ।” वडा अध्यक्ष न्यौपानेले भने, “त्यसका लागि तालिमले दिएको सन्देशलाई कार्यान्वयन भने गर्न सक्नुपर्छ ।” उनले घरेलु तथा सामुदायिक हिंसा न्यूनीकरणका लागि पनि व्यवसायमा जोडिन आवश्यक रहेको बताउँदै तालिम र गोष्ठीमा भन्दा उत्पादन क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् ।
वडा अध्यक्ष न्यौपानेले स्थानीयको मागमा आधारित कार्यक्रमलाई वडाले प्राथमिकता दिने बताउँदै चालू आर्थिक वर्षमा मात्रै वडामा आठ करोडका संरचना निर्माण भएको बताएका छन् । ” जनताले विश्वास गरेर पठाएपछि जनताको भावनाअनुरूप काम गर्ने दाइत्व हाम्रो हो । त्यसलाई हामी पूरा गर्छौं ।” अध्यक्ष न्यौपानेले भने, “त्यसमा मेरो कुनै ठाउँमा पनि अवरोध हुने छैन । कतै बाधा हुने छैन ।”
सहभागीको तर्फबाट बोल्दै निराशा परियारले तालिमले महिलाहरुको क्षमतामा टेवा पुगेको बताएकी छन् । उनले अगाडि बोल्न नसक्ने महिलाहरु निर्धक्क भएर बोल्न सक्ने भएको भन्दै समय छोटो भएका धेरै कुरा अझै बुझ्न बाँकी रहेको बताएकी छन् । “हामी महिलाहरु नेतृत्वका लागि सक्षम छन् । त्यहाँसम्म आट नभएर मात्रै हो । जुन कुरा तालिमले पनि प्रष्ट पारेको छ ।” परियारले भनिन्, “अझै महिलालाई सिकाउनु पर्छ । सिक्ने अवसर प्रदान गर्नुपर्छ । जसले समाजलाई रुपान्तरण गर्नका लागि समेत मद्दत गर्ने छ ।”
कार्यक्रममा वडा नं.७ का विभिन्न टोलबाट ४५ जना महिलाको सहभागिता रहेको छ । संस्थाका अध्यक्ष झलनाथ खनालले सञ्चालन गरेको कार्यक्रमको स्वागत चन्द्रकान्त अधिकारीले गरेका थिए । कार्यक्रममा दुर्गा देवकोटा, रिमा चौधरी, चन्द्रकान्त अधिकारी र झलनाथ खनाले प्रशिक्षण दिएका थिए ।