माघ २७ गतेबाट एच. पि. भी. खोप अभियान

शेयेर गर्नुहोस


राजेन्द्र विश्वकर्मा, भजनी २० माघ /
नियमित खोपमा बिधालय केन्द्रित खोप अभियान सञ्चालनका लागि एकदिने अन्तरक्रिया तथा गोष्ठी मंगलबार भजनीमा सम्पन्न भएको छ ।
भजनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा राष्ट्रिय खोप अभियान अन्तर्गत पालिका स्तरीय खोप समन्वय समिती तथा सरोकारवालाहरुसँग बिधालय केन्द्रित एच. पि. भी. खोप अभियान अन्तर्गत उक्त एकदिने अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।
भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टको अध्यक्षतामा भएको गोष्ठीमा माघ २७ गतेबाट सुरु हुने खोप अभियानको बारेमा छलफल भएको थियो । महिलाहरुमा बढ्दै गएको पाठेघरको मुखको क्यान्सरलाई रोकथाम गर्ने उद्देश्यले वालिकाहरुलाई प्रारम्भिक चरणमै खोप लगाउने गरिएको छ । अभियान माघ २९ गतेसम्म सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
जसअनुसार नगरपालिकाले कक्षा ६ मा अध्ययनरत छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच. पि. भी. खोप सञ्चालन गर्ने भएको छ । साथै बिधालय बाहिर रहेका १० वर्ष उमेर समुहका वालिकाहरुलाई पनि खोप दिइने बताइएको छ । भजनी नगरपालिकामा यसपटकको अभियानमा चार सय ५२ जना वालिकालाई एच. पि. भी. खोप लगाउने लक्ष्य लिएको छ । नगरपालिकाले कुनै वालिका खोपको पहुँचबाट नछुटुन भन्ने उद्देश्यका साथ स्वास्थ्य शाखाले काम गरिरहेको स्वास्थ्य शाखा सहायक प्रमुख लक्ष्मी चौधरीले जानकारी दिएकी छन् ।
उनले खोप अभियानलाई प्रभावकारी बनाउनका लागि सरोकारवाला सबैको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै खोप लगाउनबाट लक्षित समुहका कोहि वालिका नछुटुन भन्ने अपेक्षा स्वास्थ्य शाखाको रहेको बताएकी छन् । चौधरीले स्वास्थ्य शाखाका कार्यक्रमहरुमा जनप्रतिनिधिले साथ नदिएको बताउँदै स्वास्थ्य शाखाको कार्यक्रमलाई चासोका साथ साथ र सहयोग गर्न आग्रह गरेकी छन् ।
गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत भट्टले विगतका वर्ष जस्तै लक्ष्य हासिल गरेर काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । स्रोतसाधनका हिसाबले निकै कम्जोर भए पनि नतिजाको आधारमा नगरपालिका स्वास्थ्य क्षेत्रमा तथ्यांकका आधारमा राम्रो देखिएको बताए । प्रमुख प्रशासकीय अधिकृत भट्टले खोप व्यवस्थापनलाई ध्यान दिने कुरामा स्वास्थ्यकर्मीले कुनै कमी हुन नदिन आग्रह गरे । उनले महत्त्वपूर्ण कार्यक्रमका लागि नगरपालिकासँगको समन्वयलाई बढाउनुपर्ने बताएका छन् ।
महिलाहरूमा दुई सय भन्दा बढी प्रजातीका क्यान्सर रहेको तथ्यांक रहेकोमा १२ प्रजातीले क्यान्सर गराउने र १६ र १८ नम्बरको प्रजाती सबैभन्दा घातक हुने गरेको जनस्वास्थ्य निरीक्षक चेतराज ओझाले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको छ । उनका अनुसार औसतमा प्रत्येक दिन चारजना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । पटकपटक एच. पि. भी. को संक्रमण २० वर्षसम्म रह्यो भने त्यसबाट क्यान्सरको सम्भावना बढ्ने तथ्यांकले देखाएको छ ।
गतवर्ष नगरपालिकाले कक्षा ५ देखि १४ वर्ष उमेर समुहका वालिकाहरुलाई खोप लगाइएको थियो । जसमा नगरपालिकाले एक सय ७ प्रतिशत प्रगति हासिल गरेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका अहेव छत्रबहादुर बुढाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *