मुक्तकमैयाको गुनासो : हामी सबैलाई सहयोग गर्छौं, हाम्रालागि कस्ले गर्ने ?

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २७ कार्तिक /
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारु शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै हुनुहुन्थ्यो । शिविरमा रहेको सार्वजनिक भवनमा उहाँ लगायत दर्जनौं मानिस खाना पकाउन व्यस्त थिए । खाना पकाउन व्यस्त हुनुहुन्थ्यो । उहाँले पकाएको खान कुनै भोज भतेरको लागि भने होइन । चन्द्रासँगै थुप्रै महिला र पुरुष खाना पकाउनमा निकै व्यस्त देखिन्थे ।
निर्वाचनका लागि प्रचारप्रसारमा आउने राजनीतिक दलका नेता तथा उम्मेदवारहरुलाई उहाँहरुले शिविरमै रहेको सामुदायिक भवनमा खाना पकाएर खुवाउने सम्मको काम गर्दै आउनुभएको छ । उहाँहरुले यो वा त्यो दल नभई जुनसुकै दल तथा उम्मेदवारले सहयोग माग्दा पनि सहयोग गर्दै आउनुभएको छ । उम्मेदवार तथा राजनीतिक दलले खाद्यान्न सामाग्रीको व्यवस्थापन गरिदिने र शिविरका बढ्घरको रोहबरमा उहाँहरुलाई खानाको व्यवस्थापन गर्दै आउनुभएकी चन्द्रा रहरले नभई बाध्यताले खाना पकाएर खुवाउनु परेको बताउनुहुँन्छ । “खाद्यान्न ल्याएर खाना पकाउन आग्रह गर्छन् । आग्रह गरेपछि आफुले सकेको हामिले सहयोग गर्दै आएका छौं ।” चन्द्रा भन्नुहुन्छ, “हामीले सक्ने गरेका छौं । हामिले पकाएर खाना खाएर गएकाहरु चुनाव सकिएपछि हाम्रो बस्तीमा फर्किंदैनन ।”
टीकापुर नगरपालिका वडा नं. १ शिवनगर मुक्तकमैया शिविरका बढ्घर श्यामप्रसाद डगौंरा १७ वर्षदेखि शिविरको नेतृत्व गर्दै आउनुभएको छ । २०६३ चैत ११ गते घरबार बिहिन भएका मुक्तकमैया सुकुम्बासीहरुले शिविरमा बसोबास सुरु गरेदेखि उहाँले शिविरका नागरिकहरुको हकहितका लागि काम गर्दै नागरिकहरूको नेतृत्व गर्दै आउनुभएको हो । २०६३ सालमा बसोबास गरेका मुक्तकमैया सुकुम्बासीहरुका लागि २०६४ सालमा भएको संबिधान सभाको पहिलो निर्वाचन निकै महत्त्वपूर्ण हुने अपेक्षा गरिएको थियो । त्यसबेलाको निर्वाचनमा निर्वाचित भएर नेतृत्वमा गएकाहरुले सुकुम्बासीहरुलाई लालपुर्जा दिनेमा आशाबादी हुँदै निर्वाचनमा मतदान गरेको श्यामप्रसाद बताउनुहुँन्छ ।
“संबिधान सभाको निर्वाचनदेखि लालपुर्जाको आशामा बसेका मुक्तकमैया सुकुम्बासीहरुको माग आजसम्म पूरा हुन सकेन । हामिले चुनावमा फरक नेतृत्वलाई जिताएर कसैबाट त आफ्नो माग पूरा होला भन्ने विश्वासले नयाँ अनुहारलाई नेतृत्व तहमा पठायौं ।” श्यामप्रसादले भन्नुभयो, “नेतृत्व गर्ने अवसर सबैले पाए । हाम्रो समस्याले कसैलाई पनि छुन सकेन ।”
सोही शिविरका अर्का बढ्घर रामफल थारु विभिन्न राजनीतिक दलहरुसँग नजिक हुनुहुन्छ । उहाँले मुक्तकमैया सुकुम्बासीका समस्या समाधानका लागि स्थानीय सरकारदेखी संघीय सरकारसँग समन्वय गर्नुभएको छ । २२ वर्ष पहिले नै कमैया मुक्त घोषणा भएपनि कमैयाहरुको व्यवस्थापन प्रति सरकार जिम्मेवार हुन नसकेको रामफल बताउनुहुँन्छ । “१७ वर्षदेखि हामिले आफुहरुको उचित व्यवस्थापनका लागि लालपुर्जा माग्ने राजनीतिक दलले आश्वासन दिने भन्दा अरु केही काम हुन सकेन ।” रामफलले भन्नुभयो, “मुक्तकमैयाहरुले सबैकालागि गरे तर, मुक्त कमैयाका लागि कसले केही गरेन ।”
सोही ठाउँकी सेतु चौधरी राजनीतिक दलहरुका लागि आफुहरु फुटबल जस्तै बनेको बताउनुहुँन्छ । सबैले आश्वासन दिने चुनाव जितेर जाने, त्यसपछि कोहि पनि शिविरमा फर्केर नआउने गरेको गुनासो उहाँको छ । “२०६४ सालदेखि हामी सबै राजनीतिक दलका लागि प्रयोग मात्रै भयौं । सबै राजनीतिक दलले हामीलाई फुटबल जस्तै बनाएर खेले ।” सेतुले भन्नुभयो, “खेलमा विजेताले आफ्नो स्वार्थ पूरा गरे तर आफैले खेलेको फुटबलको संरक्षण कसैले गरेनन् ।”
शिविरका नागरिकहरू गलत ब्याक्तीलाई चुनावमा निर्वाचित गराउने पक्षमा छैनन् । शिवनारायण चौधरी नेतृत्वबाट आश्वासन मात्रै पाएको देख्दा भोट हाल्नै जान मन नलाग्ने बताउनुहुँन्छ । “भोट हाल्ने मन नै छैन । हामिले भोट नहाल्दा पनि जित्नेले जितेर जाने नै हो ।” शिवनारायणले भन्नुभयो, “हामिले मतदान नगरेकै कारण गलत ब्याक्ती नेतृत्वमा नपुगोस भनेर पनि मतदान गर्नुपर्ने बाध्यता छ “
उसो त स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकाबाट उम्मेदवारी दिएका सबै उम्मेदवारहरुले मुक्तकमैया सुकुम्बासी बस्तीलाई व्यवस्थापन गर्नुका साथै जग्गा उपलब्ध गराउने भन्दै उहाँहरुसँग लिखित कागज समेत गर्नुभएको छ । लिखित सम्झौता गरेका राजनीतिक दलबाटै निर्वाचित भएका ब्याक्तीहरुले स्थानीय सरकारको नेतृत्व गरिरहेका छन् । २०७४ सालको निर्वाचनमा पनि भोट दिएपछि जग्गा दिन्छौं भनेर केही राजनीतिक दलले लिखित कागज गरेका थिए । त्यो कागज सुकुम्बासी बस्तीका नागरिकहरुले अझै पनि सुरक्षित राखेका छन् । उहाँहरुले हिजो लिखित कागज गरेका उम्मेदवारलाई प्रचारप्रसारमा भेटेपछि त्यहीँ कागज देखाउने गरेको निर्मल कुमार डगौंरा बताउनुहुँछ ।
“भोट माग्न आउनुहुन्छ, हामी हिजोको लिखित प्रतिबद्धता पत्र देखाउँछौं । त्यसपछि उहाँहरुको बोली बन्द हुनेगरेको छ ।” निर्मलले भन्नुभयो, “हाम्रो समस्या जस्ताको तस्तै छ । उहाँहरु पाँच वर्ष पूरा गरेर फेरि हाम्रो बस्तीमा पुग्दा आश गर्ने ठाउँ नै हामीसँग छैन । टीकापुरका सातवटा मुक्तकमैया सुकुम्बासी शिविरमा चार हजार पाँच सय भन्दा बढी घरहरू छन् । करिब आठ हजार मतदाता रहेको शिविरका मतदाताको भोट नै सबै उम्मेदवारहरुका लागि निर्णायक हुनेभएकोले शिविरमा उम्मेदवारहरुको ध्यान बढी केन्द्रित हुनेगरेको छ ।

ताजा खबर

लाखौंको गरगहना सहित नगद चोरी

स्थापना दिवसको अवसरमा फलफुल वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *