शेयेर गर्नुहोस
टीकापुर २८ कार्तिक /
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार गठन भएको सय दिनको उपलब्धि मंगलबार सार्वजनिक गरेका छन्।
मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गरेर सरकारको सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। मुख्यमन्त्री शाहले एक सय दिनको सरकारको कार्यसम्पादन सन्तोषजनक रहेको बताएका छन्। उनले शासकीय दृष्ट्रिकोणले राजनीतिक र आर्थिक पक्षमा सरकारले उपलब्धि हासिल गरेको दाबी गरे । २०८१ साउन २१ गते मुख्यमन्त्री शाह नेतृत्वमा गठन भएको प्रदेश सरकारले प्रदेशको समग्र वस्तुस्थितिको अध्ययन, सेवा प्रवाह, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रणको लागि कार्यदल गठन भई १५ दिनभित्रै प्रतिवेदन प्राप्त हुनु, प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८० पारित भई कार्यान्वयनमा आउनुलाई नीतिगत उपलब्धि भएको दाबी गरिएको छ ।
मुख्यमन्त्री शाहले आयोजना बैंकको कार्यान्वयन सुरू गरिएको, योजना तर्जुमादेखि कार्यान्वयनसम्मको कार्यलाई मागमा आधारित बनाइएको, पर्यटन विकासको गुरुयोजना निर्माण गर्ने काम भइरहेको र एक सय दिनसम्म कुल बजेटको ८ दशमलव शून्य दुई प्रतिशत र पुँजीगततर्फ ५ दशमलव ९७ प्रतिशत बजेट खर्च भएको तथ्याङ्क सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री शाहले विगतको तुलनमा प्रदेश सरकारले वित्तीय हस्तान्तरण बढाएको बताए । उनले आर्थिक वर्ष २०८०/८१ मा प्रदेशबाट स्थानीय तहमा दुई अर्ब ३४ करोड वित्तिय हस्तान्तरण गरिएकोमा चालु आर्थिक वर्षमा ४४ प्रतिशतले वृद्धि गरी तीन अर्ब ३८ करोड पुगाइएको बताए । एक सय दिनको अवधिमा १८ किलोमिटर सडक कालोपत्र तथा २७ किलोमिटर सडक ग्राभेल गरेको प्रगाति सार्वजनिक गरेको छ । यस्तै, दुईटा नयाँ पुल निर्माण भएको तथा प्रादेशिक सडक गुरूयोजनाको मस्यौदा र सडक मर्मतसम्भार निर्देशिका तयार भइरहेको कुरा एक सयदिने उपलब्धिमा उल्लेख गरिएको छ ।
सरकारले नीतिगत क्षेत्रमा उपलब्धि हासिल गरेको दाबी गरेका छन्। सरकारले सुदूरपश्चिम प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८१ र अपाङ्गता सम्वन्धि प्रादेशिक नीति, २०८१ तयार गरेको छ । प्रदेश निजामती सेवा ऐन, २०८० को पहिलो संशोधन गरेको, सुदूरपश्चिम प्रदेश आर्थिक ऐन र विनियोज ऐन २०८१, ल्याएको, सामयिक राजश्व संकलन सम्वन्धी ऐन, २०८१ ल्याएको तथा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई सशोधन गरी नीतिगत सुधारको काम भएको बताएको छ । सरकारले प्रदेश निजामती सेवा नियमावली, २०८१ को मस्यौदा निर्माण गरेको विषयलाई सय दिने उपलब्धिमा समेटेको छ ।
प्रदेश सरकारले एक सय दिनमा कृषि क्षेत्रमा उल्लेख्य काम भएको दाबी गरेको छ । एक सय दिनको अवधिमा बाजुराको मार्तडी, अछामको साँफेबगर र कैलालीको गोदावरीमा कोल्ड चेम्बर निर्माण भएको विवरण सार्वजनिक गरेको छ । यसैगरी ६ सय १० हेक्टर क्षेत्रफलमा गहुँ तथा दलहन बालीको बिउ उत्पादन कार्यक्रम चलाएको, ३० वटा कृषक पाठशाला चलाएको, पाँच सय ६५ हेक्टर जग्गामा व्यवसायिक आलु तथा तरकारी खेती विस्तार गरेको विवरण सरकारले सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले च्याउ बिउ प्रयोगशाला मार्फत १० दशमलव ८ टन च्याउको बिउ उत्पादन गरिएको, दुई हजार पाँच सय तरल नाइट्रोज उत्पादन गरेर गाई, भैंसी र बाख्रामा कृत्रिम गर्धाधान सेवा पुगाउन सहयोग पुगाएको बताएको छ । पशुसेवा विज्ञ केन्द्र मार्फत २० हजार पशुपन्छीको उपचार गरेको, चार हजार दुई सय ५० मा कृत्रिम गर्भाधान गरेको, दुई हजार ८ सय ६७ पशुलाई प्रयोगशाला सेवा दिएको, एक लखा ३७ हजार एक सय ५० पशुलाई खोरेत विरुद्धको खोप लगाएको, २५ हजारलाई लम्पी स्किन र १५ हजार ७ सय ५० कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको तथ्याङ्क सार्वजनिक गरेको छ ।