यसकारण आवश्यक छ टीकापुरमा कृषि अनुसन्धान केन्द्र

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १० साउन/
कृषि क्षेत्रमा बलियो बन्दै गएको कैलालीको टीकापुरमा बहु – आयामिक प्रदेश स्तरीय कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि नगरपालिकाले पहल सुरु गरेको छ ।
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना र दुईवटा कृषि क्याम्पस स्थापना भएसँगै टीकापुरलाई कृषीको हबको रुपमा विकास गर्न सकिने भन्दै प्रदेशस्तरको बहु-आयामिक कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि नगरपालिकाले पहल गरेको हो । कैलाली क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य रुपा सोसी चौधरीले कृषि भण्डारका रुपमा रहेको यस क्षेत्रमा कृषिको अनुसन्धान गर्दैै उत्पादन बढाउनका लागि केन्द्र स्थापना हुनुपर्ने बताउनुभएको छ । उहाँले कृषिमा ठूलो सम्भावना बोकेको क्षेत्र भएका कारण पनि अनुसन्धान केन्द्र आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य गरिमा शाहले टीकापुरले सजिलै केही नपाएको बताउँदै कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि टीकापुर एकजुट हुने बताउनुभयो । “अनुसन्धानकै माध्यमबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिन्छ ।” राष्ट्रिय सभा सदस्य शाहले भन्नुभयो, “त्यसका लागि हामीले गर्नुपर्ने काम हामी गर्छौं । त्यसमा एक्यवद्धता सबैको चाहिन्छ ।”
नेपाल कृषि अनुसन्धान परिषदका बाली निर्देशक डा कृष्णकुमार मिश्रले सुदुरपश्चिममा कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि धेरै प्रयास यसअघि पनि भएको बताउनुभएको छ । सबै दृष्टिकोणले टीकापुरमा कृषि अनुसन्धान केन्द्र उत्तम हुने उहाँको धारणा छ ।
“टीकापुरमा दुई कृषि क्याम्पस स्थापना भएका छन् । राष्ट्रिय गौरवको आयोजना यहीँ छ । कृषि क्षेत्रमा टीकापुरले सम्भावना बोकेको छ ।” डा मिश्रले भन्नुभयो, “हामी बहु-आयामिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्न तयार छौँ । त्यसका लागि आवश्यक जग्गाको व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्छ ।” परिषदले नगरपालिकासँग दुई सय ३५ बिघा जग्गा माग गरेको छ । उसले पहिलो चरणमा स्थापनाका लागि ७५ देखि एक सय बिघा जग्गा आवश्यक पर्ने बताएको छ । “जग्गा आवश्यकताको आधारमा चाहिने कुरा हो । तत्कालका लागि ७५ देखि एक सय बिघा जग्ग आवश्यक हुन्छ ।” डा मिश्र भन्नुहुन्छ, “भोलि क्षेत्र जति बढ्दै गयो त्यसैअनुसार जग्गाको खपत बड्दै जाने हुनसक्छ ।” नगरपालिकाले निर्माण गरेपछि परिषदले आफुहरु काम सुरु गर्ने तयारी गरेको छ । सरकारले चार वर्ष अगाडि नै सुदुरपशिममा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको थियो ।
सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा अम्माराज जोशीले कृषि अनुसन्धान केन्द्रको स्थापनाले समग्र सुदुरपश्चिममा कृषि क्षेत्रको विकास हुने बताउनुभएको छ । उहाँले एउटा फलफूलको बिरुवाका लागि भारतीय बजार पुग्नुपर्ने बाध्यता रहेको बताउँदै अनुसन्धान केन्द्रले काम गर्न सके भारतीय नेपाली बजारमा आएर खरिद गर्ने स्थिति बन्ने बताउनुभयो । “टीकापुरका बहु-आयामिक कृषि अनुसन्धान स्थापना हुँदा त्यसको सबैभन्दा बढी फाइदा विश्वविद्यालयले लिनेछ । किनभने, विश्वविद्यालयको कृषि बिज्ञान संकायको डिन कार्यालय टीकापुरमा छ र त्यहाँ ६७ जिल्लाको बिद्यार्थी अध्ययन गर्नुहुन्छ । उहाँहरुका लागि बलियो सिकाई केन्द्र बन्न सक्छ ।
टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले टीकापुरमा कृषि अनुसन्धान केन्द्र जुनसुकै हालतमा पनि हुनुपर्ने बताउनुभयो । उहाँले कृषिमा टीकापुर सुदुरपश्चिममै सबैभन्दा बढी सम्भावना बोकेको क्षेत्र भएको भन्दै केन्द्रको स्थापनामा नगरपालिकाले कन्जुस्याइँ नगर्ने बताउनुभएको छ । “अहिले टीकापुरमा दुई क्याम्पसमा कृषिको अध्ययन हुँदै आएको छ । त्योसँगै तीन वर्षिय बाली बिज्ञानको अध्ययन अध्यापन पनि टीकापुरमा हुन्छ । त्यतिमात्र नभई, कृषि, पशु र वन बिज्ञानको समेत अध्यापन हुने हुँदा त्यो जनशक्तिलाई स्थानीय क्षेत्रमा आबद्ध गराउनका लागि पनि केन्द्र निकै उपयोगी हुनेछ ।”
टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडक शाहले बहु-आयामिक कृषि अनुसन्धान केन्द्र स्थापनाको लागि टीकापुर एक ठाउँमा उभिने बताउनुभएको छ । उहाँले कृषिबाटै देश समृद्ध बनाउन पनि कृषिमा आधुनिकीकरण आवश्यक हुने बताउँदै त्यसका लागि अनुसन्धान केन्द्रले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । “नगरपालिकाले गर्ने काममा समग्र टीकापुरको एक्यवद्धता चाहिन्छ । जसमा सबैले केन्द्रको आवश्यकता महसुस गर्नुभएको छ ।” नगर उपप्रमुख शाहले भन्नुभयो, “अझै आवश्यक छलफल र बहस मार्फत कृषि अनुसन्धान केन्द्रको स्थापनाका लागि नगरपालिका लागेको छ र लाग्ने छ । आशा गरौं केन्द्रको स्थापना हुन्छ ।”
सुदुरपश्चिम विश्वविद्यालय कृषि बिज्ञान संकायका डिन लालप्रसाद अमागाईले कृषि विकासको मेरुदण्ड भएको बताउँदै कृषि अनुसन्धान केन्द्रको स्थापनाले विश्वविद्यालयमा बिद्यार्थीको संख्यामा वृद्धि हुने अपेक्षा गर्नुभएको छ । उहाँले कृषिका लागि सबै कुराले परिपक्व बन्दै गएको टीकापुर कृषि अनुसन्धान केन्द्रको स्थापना पछि पुर्ण हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *