शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर २७ माघ /
कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ का धनसिंह साउँद कृषि क्षेत्रमा ठूलो सम्भावना देखेका कृषक हुनुहुन्छ । राजनीतिसँगै कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बन्नुभएका उहाँले बर्सेनि ६५ बिघा भन्दा बढी क्षेत्रफलमा खेती गर्नुहुन्छ । नेपाली कम्युनिस्ट पार्टीका टीकापुर नगर अध्यक्ष समेत रहेका साउँद धान खेती मात्रै ३० देखि ३५ बिघामा गर्दै आउनु भएलो छ । सिजन अनुसारको उत्पादनका साथै उन्नत बीउ उत्पादनलाई जोड दिँदै आएका साउँदले पछिल्लो समयमा उखु खेतीलाई प्राथमिकता दिन थाल्नुभएको छ ।
गतवर्ष उहाँले झण्डै ४५ बिघा उखु खेती गरेको बताउनुभयो । यसवर्ष थप ८ बिघा उखु खेती विस्तार गर्ने तयारी उहाँले गर्नुभएको छ् । बर्दियाको राजापुर नगरपालिका स्थापना भएको राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिजले किसानले उत्पादन गरेको उखु सहजै खरिद गर्न थालेपछि अन्य खेतीभन्दा उखुलाई प्राथमिकता दिएको साउँद बताउनुहुँन्छ ।
“एकपटकको लागानीले पछिसम्म फाइदा लिन सकिन्छ भने बजार खोज्नुपर्ने स्थिति छैन ।” साउँदले भन्नुभयो, “मूल्य पनि राम्रो पाइने भएपछि अन्य बाली भन्दा उखुलाई बढी प्राथमिकता दिएको छ ।” चिनी उद्योगले किसानको उखु प्रती क्विन्टल ६ सय ९० मा खरिद गर्दै आएको छ । ६ सय २० रुपैयाँ किसानहरूले उद्योगबाट पाउँछन् भने प्रति क्विन्टल ७० रुपैयाँ नेपाल सरकारले उखु किसानलाई अनुदान दिँदै आएको छ । उसो त साउँदले यसवर्ष सात बिद्या आलु खेती पनि गर्नुभएको छ ।
वडा नं. ८ कै वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला उखु खेतीमा लामो समयदेखि लाग्नु भएको छ । दुई कार्यकाल वडा अध्यक्षको जिम्मेवारीमा रहनुभएका ठकुल्ला जनप्रतिनिधि हुनुभन्दा पहिले कृषि क्षेत्रमै आबद्ध हुनुहुन्थ्यो । कृषिसँगै राजनीति गर्दै आउनुभएका वडा अध्यक्ष ठकुल्ला केही वर्ष पहिले गाउँमा गुड मिल सञ्चालन गर्दै आउनुभएको थियो । अहिले गुड मिल भने छैन । गतवर्षबाट उहाँले पनि पुनः उखु खेती विस्तार सुरु गर्नुभएको छ । सात बिघामा विस्तार गरिएको उखु खेती यसवर्ष थप विस्तार गर्ने योजनामा वडा अध्यक्ष ठकुल्ला हुनुहुन्छ ।
“आम्दानी राम्रो भएपछि म मात्रै नभई किसानहरू उखु खेतीमा लाग्न थालेका छन् । मैले पनि विस्तार गर्दै लगेको छु ।” उहाँ भन्नुहुन्छ, “बजारको सहजता र थोरै लगानीबाट राम्रो आम्दानी उखु खेतीले दिन थालेको छ ।”
राजनीति गरेर समाजसेवा भनेर मात्रै आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै वडा अध्यक्ष ठकुल्लाले उत्पादनलाई प्राथमिकतामा राखेर समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । “मैले समयको व्यवस्थापन गर्दै कृषिलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको छु । सिजनमा राम्रो आलु उत्पादन हुन्छ । मकै, धान, गहुँ लगायतका बाली पनि लगाउँदै आएका छौँ । तर, पछिल्लो समय यसक्षेत्रमा उखु खेती लोकप्रिय बन्दै गएको छ ।” किसानहरूले एक बिघामा ६ सय क्विन्टल भन्दा बढी उखु उत्पादन गर्दै आएका छन् ।
टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने पनि लामो समयदेखि कृषि र व्यापारमा आबद्ध हुनुहुन्छ । उहाँ बर्सेनि ९/१० बिघा खेती लगाउनुहुँन्छ भने २०५३ सालदेखि व्यापार गर्दै आउनुभएको छ । कृषि, व्यापार सहित राजनीतिमा आबद्ध न्यौपाने पनि राजनीतिले सन्तुष्टि मात्रै मिल्ने बताउनुहुँन्छ । “पैसा कमाउनका लागि व्यवसाय गर्नै पर्छ । व्यवसाय र राजनीतिलाई सँगसँगै लैजाँदा कुनै कुराको लोभ हुँदैन ।” उहाँ भन्नुहुन्छ, “आज राजनीतिमा भन्दा खेतमा काम गर्दा सन्तुष्टि मिल्छ । हामीले काम गरेको देखेर गाउँका युवाहरुमा काम गर्नुपर्छ भन्ने मानसिकता बढेको छ ।”
न्यौपानेले अन्य खेतीसँगै उखु खेतीलाई विस्तार गर्दै लग्नु भएको छ । दुई बिघाबाट उखु खेती सुरु गर्दै आउनुभएका वडा अध्यक्ष न्यौपाने यसवर्ष पुनः एक बिघा विस्तार गर्ने योजनामा हुनुहुन्छ । केही समय केरा खेतीमा आकर्षित किसानहरू पछिल्लो समय उखु खेतीमा आकर्षित हुँदै गएका छन् । लगानी सुरक्षित भएपछि किसानहरूले उखु खेतीलाई प्राथमिकता दिन थालेको स्थानीय कृषक सुन्दर चौधरी बताउनुहुँन्छ ।
राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिजले उद्योगको क्षमता अनुसार वार्षिक ३० देखि ३५ लाख क्विन्टल उखु आवश्यक पर्ने उद्योगका प्रशासन प्रमुख इन्द्र ढकाल बताउनुहुँन्छ । उहाँका अनुसार उद्योगको पहुँचमा अहिलेसम्म ६/७ सय क्विन्टल उखु मात्रै रहेको छ । पुस २२ गतेबाट चिनी उत्पादन सुरु गरेको उद्योग उखुको आपूर्ति प्रयाप्त नहुँदा नियमित सञ्चालनमा ल्याउन नसकिएको प्रशासन प्रमुख ढकाल बताउनुहुन्छ । दुई अर्ब लागतमा निर्माण भएको उद्योगको वार्षिक ३५ हजार पाँच सय मेटि्रकटन चिनी उत्पादन गर्ने क्षमता रहेको छ ।
उहाँले उखु खेती विस्तारको काममा उद्योगले समेत काम गर्दै आएको बताउनुभयो । टीकापुर नगरपालिका लगायतका क्षेत्रमा उद्योगले जग्गा भाडामा लिएर उत्पादन सुरु गरिरहेको बताउँदै ढकालले बर्सेनि ७ हजार बिघामा उखु खेती आवश्यक पर्ने जानकारी दिनुभएको छ् । “किसानलाई खेती विस्तारमा कम्पनीले काम गरिरहेको छ । अर्कोतिर आफै पनि खेती विस्तार गर्दै आएको छ ।” उहाँ भन्नुहुन्छ, “कामदारको अभाव, यातायातको सहज पहुँच लगायतका समस्या छन् ।”










