शेयेर गर्नुहोस
टीकापुर ३० जेठ /
राजस्व अभिवृद्धिका लागि टीकापुर नगरपालिकाले सुझाव संकलन तथा छलफल कार्यक्रम गरेको छ ।
मंगलबार स्थानीय बडघर, सहायक बड्घर, चिराकी, टोल विकास संस्थाका पदाधिकारी लगायत करदातासँग आन्तरिक राजस्व अभिवृद्धिका लागि करदाता शिक्षा कार्यक्रम गरेको हो । नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । नगरपालिकाका राजस्व शाखा प्रमुख नन्द केसीले राज्यलाई तिर्नुपर्ने कर जहिले तिरे पनि तिर्नै पर्ने भन्दै समयमा कर तिर्न सक्यो भने सेवाग्राहीले केही रकम छुटको व्यवस्था राज्यले गरेको बताएका छन् ।
“कर तिर्नु नागरिकहरुको दायित्व हो । त्यो दायित्व समयमा पूरा गर्दा राज्यबाट पाउने सेवा सुविधाहरु पनि समयमा पाउन सकिन्छ ।” उनले भने, “समाजका सरोकारवाला व्याक्तीहरुले अन्य सर्वसाधारणहरुलाई पनि त्यसैअनुसार सम्झाउन सक्यो भने त्यसबाट राज्यलाई र स्वयम नागरिकहरूलाई फाइदा हुनेछ ।” केसीले नगरपालिकाले चालू आर्थिक वर्षमा ७ करोड ५० लाख राजस्व उठाउने लक्ष्य लिएको पनि बताए । उनकाअनुसार यसवर्ष नगरपालिकाले लक्ष्य अनुसारको राजस्व संकलन गर्न चुनौती देखिएको छ ।
नगरपालिकाले वैशाख ३१ गतेसम्म चार करोड ८८ लाख ५१ हजार ९ सय ७१ रुपैयाँ १६ पैसा राजस्व संकलन गरेको छ । जसमध्ये नगरपालिकाबाट दुई करोड ४५ लाख ५२ हजार ६ सय ९८ रुपैयाँ ५२ पैसा राजस्व उठेको छ भने वडाको हकमा सबैभन्दा बढी वडा नं. १ ले राजस्व संकलन गरेको छ । वडा नं. १ ले एक करोड ५२ लाख ६९ हजार ३९ रुपैयाँ ७ पैसा राजस्व उठाएको छ । सबैभन्दा कम वडा नं. ८ ले संकलन गरेको छ । जसमा चार लाख ४७ हजार एक सय ७३ रुपैयाँ ४५ पैसा राजस्व संकलन भएको देखिएको छ ।
त्यसैगरी वडा नं. २ ले १६ लाख ४३ हजार पाँच सय ४५ रुपैयाँ ४८ पैसा राजस्व संकलन भएको जनाएको छ । वडा नं. ३ ले १७ लाख ६८ हजार ३६ रुपैयाँ २५ पैसा उठाएको छ । वडा नं. ४ ले १२ लाख ९३ हजार पाँच सय ३२ रुपैयाँ ४१ पैसा संकलन गरेको छ । त्यस्तै वडा नं. ५ ले ११ लाख ३४ हजार ९२ रुपैयाँ ९० पैसा राजस्व संकलन गरेको छ । वडा नं. ६ ले ६ लाख ५० हजार ४० रुपैयाँ ७६ पैसा, वडा नं. ७ ले १२ लाख २४ हजार चार सय ९२ रुपैयाँ २४ पैसा र वडा नं.९ ले ८ लाख ६९ हजार तीन सय १९ रुपैयाँ ७८ पैसा राजस्व संकलन भएको राजस्व शाखा प्रमुख केसीले बताएका छन् ।