शेयेर गर्नुहोस
टीकापुर १८ भदौ /
जानकी गाउँपालिकाको आयोजनामा थारु समुदायको अष्टिम्की लोक चित्रकलाको विषयमा गाउँपालिका भित्रका बरघरहरुसँग छलफल गरेको छ ।
थारु समुदायको विषेश चाड अष्टिम्कीको मिति नजिकिएसँगै गाउँपालिका भित्रका बरघरसँग उक्त विषयमा छलफल गरेको हो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पहिचानको विषयमा गाउँपालिकाले सुरुवाती दिनदेखि नै काम गर्दै आएको बताएका छन् । “हाम्रो परम्परा, कला संस्कृति दिनप्रतिदिन मासिँदौ गएको छ । त्यसको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो ।” उनले भने, “त्यसका लागि बरघरको भुमिका झन महत्त्वपूर्ण छ ।
अध्यक्ष चौधरीले बरघर बिना थारु संस्कृति बचाउन नसकिने बताउँदै अष्टिम्कीको मूल्य र मान्यतालाई पहिचान सहित पुरानै शैलीमा लैजानुपर्नेमा जोड दिए । “आज हाम्रो कला दिनप्रतिदिन लोप हुँदै गएको छ् । हाम्रो जस्तै पहिचान बोकेको कुनै चित्रकला लाखौंमा बिक्रि हुँदा हाम्रो पहिचानको चित्रकलालाई ब्राण्डिङ गर्न सकिएको छैन ।” उनले भने “त्यसलाई ब्राण्डिङ गरेर व्यावसायिक बनाउन सक्यो भने त्यसबाट आयआर्जन सहित पहिचानलाई पनि जोगाउन सकिन्छ ।”
कार्यक्रममा उपाध्यक्ष लालमती देवि कठरियाले अष्टम्की एक धार्मिक परम्परा मात्रै नभई एक पहिचान भएको बताइन । उनले घरको भित्तामा, धानको डेहरीमा कोरिने त्यो अष्टम्की चित्रकलाले थारु समुदायको पहिचानलाई झल्काउने भए पनि आजभोलि ब्यानर बनाएर औपचारिकता निभाउने कार्यले भोलि यस्ता परम्परा इतिहासमा सिमित हुनसक्ने चिन्ता व्यक्त गरिन । इतिहाससँग जोडिएको विषयलाई पुस्ता हस्तान्तरणसँग जोडेर लैजान पनि आग्रह गरिन ।
कार्यक्रम प्रशिक्षक बालिला चौधरीले बरघरले नै सबै कला संस्कृतिको जगेर्ना गर्न सक्ने बताउँदै त्यो दायित्व पनि बरघरमा रहेको बताएकी छन् । कार्यक्रममा पालिका भित्रका ९० जना बरघर, अमौरी, बक्लौवा र जगरपुर होमस्टेका प्रतिनिधि, समाजसेवी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका विपद शाखा प्रमुख नेत्रप्रसाद न्यौपानेले गरेका थिए भने सहजीकरण बालीका सहित शेखर दहित लगायतले गरेका थिए ।









