शेयेर गर्नुहोस
टीकापुर १५ फागुन (रासस) :
टीकापुर नगरपालिका वडा नं. १ को प्रशासनिक भवन नबन्ने निश्चित भएको छ ।
सुदुरपश्चिम प्रदेशको समपुरकको ५० लाख र नगरपालिकाको ५० लाख गरी एक करोडको लागतमा निर्माण हुन लागेको प्रशासनिक भवन जग्गाको सुनिश्चितता नहुँदा नबन्ने निश्चित भएको हो । कार्यपालिकाले भवन निर्माणको प्रक्रिया अगाडि बढाउने भन्दै निर्णय गरेपछि नगरपालिकाले भवन निर्माणका लागि बोलपत्र आव्हान गरेको थियो । बोलपत्र आव्हान गरेर ठेक्का परिसकेको भएपनि जग्गाको सुनिश्चितता नभएपछि भवन निर्माणको काममा अन्योलता सिर्जना भएको देखिएको छ ।
नगरपालिकाबाट सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर विष्टले वडाको भवन निर्माणका लागि लालपुर्जा भएको जग्गा नभए प्रक्रिया अगाडि बढाउन नसकिने भन्दै काम रोकेपछि भवन निर्माणका लागि विनियोजन भएको बजेट फ्रीज हुने सम्भावना बढेको छ । कार्यपालिकाले साउन १५ गतेको निर्णयलाई कार्यान्वयन गर्न सकेको भए सम्भवत भवन निर्माणको काम यतिबेलासम्म धेरै अगाडि पुगिसक्थ्यो । त्यसपछि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका विष्टले जग्गाको लालपुर्जा खोज्दा भवन निर्माणमा अन्योलता बढ्दै गएको हो ।
“अहिले कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत छैन । प्रमुख प्रशासकीय अधिकृत नभएर काम हुने स्थिति पनि छैन । फागुन मसान्तसम्म भएको ठेक्काको प्रक्रिया अगाडि बढेन भने काम अगाडि बढ्ने सम्भावना निकै कम छ ।” नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले भने, “भवन भन्ने सम्भावना झिनो बन्दै गएको छ । यदि कार्यपालिका बसेर छिटो निर्णय गर्न सकेमात्र भवन भन्न सक्छ ।” फागुनपछि भवनको काम अगाडि बढाउने स्थितिमा नयाँ प्रक्रियामा जानुपर्ने उनले बताएका छन् ।
वडा नं. १ का वडा अध्यक्ष मोहन विकले पनि भवन निर्माण हुने सम्भावना कम हुँदै गएको बताएका छन् । “अब कार्यालय प्रमुखले लालपुर्जा भएको जग्गा ल्याउनु भनेपछि वडाले कताबाट लालपुर्जा भएको जग्गा ल्याउने होर ?” भवन निर्माण हुन नसक्नुको पछाडि नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको असहयोग छ ।” उनले भने, “अब अहिले न हाकिम छन् । न कार्यपालिका बैठकको टुङ्गो छ । लाग्छ अब भवन निर्माणको सम्भावना निकै कम छ ।”
वडा नं. ३ मा पनि विवाद कायमै
वडा नं. १ को जस्तै वडा नं. ३ को प्रशासनिक भवनमा विवाद कायमै देखिएको छ । वडा कार्यालयले भवन निर्माण गर्ने भनिएको जग्गा अर्कै ब्याक्तीले आफ्नो दाबी गर्दै टंकप्रसाद संज्यालले कैलाली जिल्ला अदालत र टीकापुर नगरपालिकाको न्यायीक समितिमा मुद्दा दर्ता गरेसँगै प्रक्रियामा गएको भवन निर्माणको काम फागुन १७ गतेसम्म नगर्न नगराउन भन्दै कैलाली जिल्ला अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
सो विषयमा वडा अध्यक्ष ऋषी विकले संज्यालले अनावश्यक रुपमा मुद्दा हालेको बताउँदै संज्यालले भनेको जग्गा मालपोत कार्यालयको अभिलेखमा नरहेको बताएका छन् । “उहाँले साविकको टीकापुर नगरपालिका वडा नं.८ मा रहेको कित्ता नं. ३ कायम भएको १० कट्टा जग्गा आफ्नो नाममा रहेको भन्दै दाबी सहित मुद्दा हाल्नुभएको छ । उहाँले हालेको मुद्दाको विवरणमा उल्लेख भएको जग्गा कसैको नाममा दर्ता श्रेस्ता कायम नभएको प्रमाण मालपोतले दिएको छ ।” उनले भने, “न्यायीक समितिमा दिएको निवेदन र जिल्ला अदालतमा दिएको निवेदनको आधारमा उहाँको जग्गाको विवरण फरक परेको देखिन्छ । त्यसैले जग्गा आफ्नो दाबी गर्नुको कुनै तुक छैन ।”
वडा कार्यालयको भवन निर्माणका लागि ठेक्का आव्हान भैसकेको छ । त्यसमा पनि ४५ लाख रुपैयाँ प्रदेश सरकारको समपुरक बजेट र ४५ लाख नगरपालिकाको गरी ९० लाखमा भवन निर्माण हुने भनिएको छ ।