शेयेर गर्नुहोस
टीकापुर १० बैशाख /
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले आफ्नो वातावरण सुहाउँदो सीप भए रोजगारीका लागि भौतारिनु नपर्ने बताएका छन् ।
शनिबार टीकापुर नगरपालिका वडा नं. २ को आयोजना तथा जाल्पा सेवा समितिको सहजीकरणमा सुरु भएको एक महिने एकल गरिब र निम्न आयस्रोत भएका महिला तथा पुरुषहरुका लागि पुजा सामाग्री बनाउने तालिमको समापन कार्यक्रममा यस्तो बताएका हुन । “सीप भएर पनि वातावरण र सम्भावना अनुकुल भएन भने त्यसले परिणाम दिन सक्दैन । परिणाम दिनका लागि सम्भावना भएअनुसारको सीप सिक्नुपछ ।” नगर प्रमुख थारुले भने, “त्यसो भएपछि मात्रै हामीले गरेको लगानीले नतिजा पाउन सक्छ ।”
उनले स्रोतसाधनको पहिचान गर्न नसकेरै देश पछाडि परेको भन्दै भएका स्रोतसाधनको परिचालन गरेर आत्मनिर्भर बन्न सक्ने सम्भावना भएका क्षेत्रमा लगानी गर्दा त्यसबाट रोजगारी सिर्जना हुनुको साथै भएको स्रोतसाधनको पनि सदुपयोग हुने बताएका छन् । उनले बजेट तथा कार्यक्रम माग गर्दा पनि माटो सुहाउँदो कार्यक्रमका लागि बजेट माग गर्न आग्रह गर्दै त्यस्ता सम्भावना भएका क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकतामा राख्ने नगर प्रमुख थारु बताउँछन् । “हाम्रो वरपरको स्रोतसाधनलाई अधिकतम प्रयोगमा ल्याएर स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने क्षेत्रमा सहयोग सधैं रहन्छ । साथै त्यस्ता स्रोतसाधनहरुको खोजी गर्ने काम पनि नगरपालिकाले गर्छ ।” नगर प्रमुख थारु बताउँछन्, “अहिलेको पुजा सामाग्री बनाउने तालीम हाम्रो क्षेत्रको स्रोतसाधन सुहाउँदो छ । यसको बजारीकरणमा समस्या हुने स्थिति पनि छैन । त्यसकारण सिकेको सिपलाई थाती नराखेर प्रयोगमा उतार्नु पर्छ ।”
जाल्पा सेवा समितिका अध्यक्ष हर्कबहादुर रावलले सिकेको सिपलाई व्यवसायसँग जोड्न सकेपछि मात्रै तालिमको सार्थकता हुने बताउँदै त्यसका लागि स्थानीय सरकारले सहयोग र समन्वय गर्न आवश्यक रहेको बताएका छन् । उनले पुजा (हवन) सामाग्री उत्पादनका लागि स्थानीय क्षेत्रमा रहेको कच्चापदार्थले पुग्ने भन्दै त्यसलाई व्यावसायिक रुपमा काम गर्न सकिने बताएका छन् । टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले प्राकृतिक स्रोतसाधनबाट आम्दानी गर्न सकिने सम्भावनाहरुलाई पछ्याउन आवश्यक रहेको बताएका छन् । उनले भएका सम्भावनाहरुलाई पछ्याउन नसकेका कारण बेरोजगारी सिर्जना हुँदै आएको बताए । स्थानीय उत्पादनमा नागरिकहरू जिम्मेवार भए त्यसको बजारीकरणको समस्या स्थानीय सरकारले समाधान गर्ने बताए ।
कार्यक्रममा तालिमका मुख्य प्रशिक्षक नारायण प्रसाद तिमिल्सिना, समाजसेवी लोकबहादुर बुढाक्षेत्री, धनराज उपाध्याय लगायतले शुभकामना मन्तव्य राखेका थिए । टीकापुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा सदस्य खम्म ठकुल्लाले गरेका थिए भने सञ्चालन जाल्पा सेवा समितिका सचीव ध्रुवबहादुर रावलले गरेका थिए ।