शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर २७ साउन /
कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले नगरपालिकाको सम्भावनाहरुलाई मुर्तरुप दिनको नगरपालिकामा लगानी गर्न आव्हान गर्नुभएको छ ।
नगरपालिकाको क्षेत्र भित्र भएका सम्भावनाहरुमा लगानी बढाउन गैरसरकारी संस्था तथा सरोकारवालाहरुसँग छ्लफल कार्यक्रममा नगरपालिका भित्र थुप्रै लगानीका सम्भावनाहरु रहेको भएपनि लगानीको अभावले नगरपालिकाको गति सोचेजस्तो गरि अगाडि बढ्न नसकेको बताउँदै लगानीका लागि आव्हान गरिएको बताउनुभएको हो । उहाले नगरपालिकालाई व्यवस्थित गर्न ढिला भैसकेको बताउँदै नगरपालिकाको गुरु योजनाअनुसार काम गर्नका लागि आआफ्नो क्षेत्रबाट सहयोगको अपिल गर्नुभएको हो । “नगरपालिका एउटैले गरेर सबै कुराहरू सम्भव छैन । नगरपालिकाको स्रोतसाधनले नागरिकहरूका अपेक्षा पूरा गर्न पनि गाह्रो छ ।” नगर प्रमुख थारुले भन्नुभयो, “त्यसका लागि सामाजिक उतरदाइत्व अन्तर्गत निजि संस्थाहरुले पनि सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने देखिएको छ । यसो गर्दा सानो बजेटले पनि ठुला कामहरूलाई सम्पन्न गर्न मद्दत मिल्ने छ ।”
कार्यक्रममा नगर उपप्रमुख खडक बहादुर शाहले समाज र समाजमा प्रतिनिधित्व गर्ने संस्थाहरुको समन्वय हुनसके मात्रै समग्र नगरपालिकाको विकासलाई टेवा पुग्ने बताउँदै एक्लै हिडे गन्तव्यमा पुग्न जोकोहीलाई पनि सहज नहुने बताउनुभएको छ । “तपाईको योजना र कार्यक्रमहरु के छन् , आउनुहोस् सँगै हातेमालो गरौं ।” नगर उपप्रमुख शाहले भन्नुभयो, “नगरपालिका त्यसमा साझेदारी गर्न तयार छ । हामिलाई टीकापुर बनाउनुपर्ने छ ।” नागरिक अगुवा भिमराम चपाईले विकासका आयोजनालाई दुई भागमा विभाजन गरेर काम गर्नुपर्ने बताउँदै स्थानीय उत्पादनलाई प्राथामिकिकरणमा राखेर काम गर्न आवश्यक रहेको बताउनुभएको छ । “अहिले भ्रस्टाचार सबैभन्दा ठूलो एजेन्डा बनेको छ । त्यसलाई सकारात्मक रुपमा लिने कि नकारात्मक रुपमा ।” चपाईले भन्नुभयो, “सजिलै कमिसन आउने क्षेत्रमा स्थानीय सरकारको लगानी बढी देखिएको छ । यसलाई कसरी रोक्न सकिन्छ, त्यसमा सरकार जिम्मेवार बन्न आवश्यक छ ।”
नेपाली काँग्रेसका कैलाली क्षेत्र नं. १ का निवर्तमान सभापति भुवनेश्वर अधिकारीले बजेटको सुनिश्चितता नहुँदै सरकारले डिपिआरमा खर्च गर्नुको कुनै तुक नरहेको बताउनुभएको छ । उहाँले महालेखाको प्रतिवेदन हेर्दा स्थानीय सरकारलाई पदमा बस्ने नैतिकता नरहेको बताउँदै योजना बनाउँदा ठोस योजना बनाउनुपर्ने बताउनुभएको छ । पत्रकार परमानन्द पाण्डेले नगरपालिकाको प्रोफाइल अनुसार योजना बनाएर कार्यान्वयन गर्न सकेपछि कुनै विकासका लागि कुनै समस्या नभएको बताउँदै योजना बनाउने तर कार्यान्वयन गर्ने पाटो बलियो नभएका कारण नै समस्या भएको बताउनुभएको छ ।
कार्यक्रममा सहभागीहरुले लगानिका लागि समस्या नभएको बताउँदै लगानी गर्ने बाताबरण स्थानीय सरकारले बनाउनुपर्ने बताएका छन् । बैंकका शाखा प्रबन्धकहरुको सहभागीता रहेको उक्त छलफलमा नगरपालिकाले एथेस्ट कार्ययोजना ल्याएर आए त्यसमा सहयोगको लागि माथिल्लो निकायसँग समन्वय गर्न आफू तयार रहेको बताएका छन् ।