शेयेर गर्नुहोस
टीकापुर ३१ जेठ /
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले नायव उपरीक्षक तुल्सीराम अर्यालले टीकापुर क्षेत्रको शान्तिसुरक्षाका दृष्टिकोणले विगतका राम्रा कुरालाई आत्मसात गर्दै काम गर्ने बताएका छन् ।
मंगलबार टीकापुरका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रहरी नायव उपरीक्षक अर्यालले विगतका राम्रा कुराहरूलाई आत्मसात गर्दै नयाँ रणनीतिका साथ काम गर्ने बताएका हुन । “विशेषगरी लागुऔषध दुर्व्यशनी न्यूनीकरण, सामाजिक रुपमा हुने आपराधिक घटना, गुण्डागर्दी, भन्सारमा हुने चोरीपैठारी र प्राकृतिक स्रोतको दोहन लगायतका कुराहरूमा बढी प्राथमिकता रहने छ ।” प्रहरी नायव उपरीक्षक अर्यालले भने, “त्यसमा पत्रकारहरुको समन्वय र सहयोग मलाई चाहिन्छ । त्यस्ता सूचनाहरुमा सहयोगको अपेक्षा पनि गरेको छु ।”
उनले टीकापुर क्षेत्रका बौद्धिक ब्याक्तीहरुबाट पनि लागुऔषध दुर्व्यशनीको विषय बढी उठेको बताउँदै त्यसमा गम्भीर रहेको बताएका छन् । प्रहरी नायव उपरीक्षक अर्यालले कुनै घटनाको स्रोत पहिचान गर्न समय लाग्ने भएका कारण त्यस्ता सूचना पत्रकारहरुलाई दिँदा समय लाग्न सक्ने भन्दै समाचार सम्प्रेषण गर्दा आधिकारिक स्रोतलाई ध्यान दिएर अगाडि बढ्न सुझाव दिएका छन् ।
भेटमा पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाले महिला हिंसा न्यूनीकरणमा प्रहरीको भुमिका सशंक्त बनाउनुपर्ने बताउँदै टीकापुर क्षेत्रमा देखिएका शान्तिसुरक्षाका जटिलतालाई समाधान गर्दै लैजान सुझाव दिएकी छन् । “टीकापुरलाई बाहिरबाट हेर्दा निकै सुरक्षा चुनौती छ भन्ने भएपनि त्यो आन्तरिक रुपमा छैन । तर, चुनौती छैन भन्दैमा चुप लागेर बस्ने स्थिति पनि छैन ।” उपाध्यक्ष देवकोटाले भनिन्, “नागरिकहरुलाई शान्तिसुरक्षाको प्रत्याभूति दिने गरी काम गर्न सकेपछि नागरिकहरुमा पनि प्रहरीप्रतिको विश्वास बढेर जाने छ भने पत्रकारहरुले पनि त्यसलाई सकारात्मक प्रवाह गर्नेछन् ।”
पत्रकार मातृकाप्रसाद तिमिल्सिनाले विगतका केही प्रहरी प्रमुखहरुको कामको टीकापुरले सधै प्रशंसा गर्दै आएको बताउँदै त्यो प्रशंसा योग्य काम गर्न प्रहरी नायव उपरीक्षक अर्याललाई आग्रह गरेका छन् । सहभागी पत्रकारहरुले टीकापुरको प्रमुख समस्या लागुऔषध दुर्व्यशनी नै भएको बताउँदै त्यसको निराकरण हुन सके शान्तिसुरक्षामा ठूलो मद्दत पुग्ने धारणा राखेका थिए ।