विद्युत लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०२ वैशाख /
कैलालीको टीकापुर नगरपालिकामा पाइप लाइन मार्फत घरघरमा पुगेको बायो ग्यास प्लान्टको विद्युत लाइन काटिँदा ग्यास प्लान्ट अलपत्र परेको छ । नगरपालिका वडा नं. ५ स्थित सामुदायिक पशु चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण भएको बायो ग्यास प्लान्टको विद्युत महसुल नतिर्दा विद्युत लाइन काटिएको थियो ।
विद्युत लाइन काटिए पछि ग्यास वितरणको काम पनि ठप्प भएको छ । आसपासका ५५ घरमा पुर्याइएको ग्यास बन्द भएपछि करोडौंको संरचना अलपत्र परेको छ । गोबरबाट ग्यास उत्पादन गरेर दैनिक चार घण्टा स्थानीयलाई ग्यास उपलब्ध गराउँदै आइएको थियो ।
गौशालामा प्रयाप्त गोबर भए पनि ग्यास प्लान्ट बन्द भएको गौशाला सञ्चालन गर्दै आएको सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्री बताउनुहुन्छ । उहाँका अनुसार नगरपालिकाले विद्युतको महसुल नतिरेका कारण ग्यास प्लान्ट बन्द भएको बताउनुभयो । “दैनिक चार घण्टा ग्यास प्लान्ट सञ्चालन हुन्थ्यो । अहिले बिजुलीको लाइन काटेपछि बन्द भएको छ ।” उहाँले भन्नुभयो, “हामीले बिजुलीको लाइन काटेको भनेर नगरपालिकालाई दुईपटक खबर गरिसकेका छौँ । त्यसको सुनुवाइ भएको छैन ।”
उहाँका अनुसार नगरपालिकालाई ग्यास प्लान्ट समितिको मातहतमा सञ्चालनका लागि आग्रह गरेको भए पनि त्यसको सुनुवाइ भएको छैन । विद्युतको लाइन काटेपछि पनि नगरपालिकालाई दुईपटकसम्म खबर गरेका छौँ । पत्र पठाएका छौँ । सुनुवाइ हुन सकेको छैन ।” उहाँ भन्नुहुन्छ, “प्लान्ट सञ्चालन गर्न सक्यो भने त्यो राम्रो आम्दानीको स्रोत बन्न सक्छ । त्यो हुन सकेको छैन । करोड भन्दा बढी लगानी धोस्त हुने स्थितिमा पुगेको छ ।”
विद्युत प्राधिकरण टीकापुर वितरण केन्द्रका अनुसार विद्युतको लाइन गएको पुस २२ गते काटिएको थियो । विद्युतलाई तिर्नुपर्ने १४ हजार ६ सय ४६ रुपैयाँ नतिरेपछि लाइन काटिएको वितरण केन्द्रका अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिएका दिनुभएको छ । उहाँका अनुसार अहिले उक्त रकम जरिवाना थपिँदै २५ हजार एक सय ७२ रुपैयाँ पुगेको छ । “लामो समयदेखि विद्युत महसुल नतिरेका कारण लाइन काटिएको हो ।” उहाँले भन्नुभयो, “बक्यौता तिरेपछि लाइन पुनः हामी जोडिदिन्छौँ ।”
घरमा दैनिक पाइप लाइनबाट ग्यास आउन थालेपछि उत्साहित बनेका स्थानीय अहिले निराश भएका छन् । निरन्तरता हुने कुरामा सुरुदेखि शंकामा रहेका स्थानीय पुरानै स्थितिमा फर्किनु परेको बताउँछन् । बायो ग्यासबाट खाना पकाउने बानी परेकाहरु पुनः एलपी ग्यासको सहारामा फर्किनु परेको छ । जडान भएका उपकरणहरुमा खिया लाग्न थालिसकेको छ । संरचना जीर्ण बन्दै गएका छन् । जडान भएदेखि ग्यास प्लान्टको मर्मतसम्भार हुन सकेको छैन ।
करीब एक करोड ६० लाख लगानीमा निर्माण सम्पन्न भएको उक्त ग्यास प्लान्टबाट पशु मलमूत्र, जैविक फोहोर र कृषि अवशेष मार्फत बायोग्यास उत्पादन गर्ने लक्ष्य लिइएको थियो । ग्यास प्लान्ट सञ्चालनका लागि आवश्यक प्रविधि, दक्ष जनशक्ति लगायतका कुराको पनि अभाव देखिएको छ । नगरपालिकाले उपभोक्तालाई प्रतियुनिट ४५ रूपया महशुल तिर्ने गरी कार्यविधि पनि बनाएको छ । स्थानीयले उक्त दररेट महंगो भन्दै असन्तुष्टि समेत व्यक्त गर्दै आएका छन् ।
स्थानीय उपभोक्ता रमेश सिंहले सरकारको बेवास्ताका कारण सञ्चालनमा आइसकेको ग्यास प्लान्ट बन्द भएको बताउनुभएको छ । “हामी उत्साहित थियौं, घरघरमा पाइपबाट ग्यास बाल्न पाइन्छ भनेर ।” उहाँ भन्नुहुन्छ, “केही महिना सञ्चालन भएको ग्यास प्लान्ट एकाएक बन्द भयो । फेरि त्यहीँ एलपी ग्यासको सहायता लिनुपर्ने स्थिति आयो ।” दिनमा चार घण्टा उपलब्ध गराउँदै आएको ग्यास २४ सै घण्टा हुने आशामा बसेका उपभोक्ता एकाएक ग्यास बन्द भएपछि निराश बनेको उहाँको भनाई छ् ।
नगरपालिकाको वन वातावरण तथा फोहोर व्यवस्थापन उपशाखाका प्रमुख लोकबहादुर बुढाले उपभोक्ताले तोकेको मुल्य बढी भयो भन्दै विरोध गरेपछि प्लान्ट बन्द भएको बताउनुभयो । “कार्यपालिकाले प्रती युनिट ४५ रुपैयाँ तोकेको थियो । त्यो रकम बढी भयो भनेर उपभोक्ताले विरोध गर्दा बन्द गर्नुपरेको हो ।” उहाँले भन्नुभयो, “चाडै प्लान्ट सञ्चालनका हुने गरी समन्वय भैरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *