व्यवसायिक तालिमको प्रभाव बढ्दो

शेयेर गर्नुहोस


झलनाथ खनाल
टीकापुर ०५ मंसिर
/पछिल्लो समय व्यवसायिक तालिमहरु प्रभावकारी बन्दै गएको छ ।
विगतमा परम्परागत व्यवसाय सुरु हुँदै आएको भए पनि परिवर्तित समयसँगै मानिसहरुमा व्यवसायिक तालिम प्रभावकारी बन्दै गएको हो । कुनै व्यवसाय वा पेशा सञ्चालनका लागि होस् वा रोजगारीका लागि होस्, सीपलाई मुख्य प्राथमिकतामा राखेका तालिमप्रतिको आकर्षण बन्नुका साथै सरकारले समेत व्यवसायिक तालिमहरु लाई मुख्य प्राथमिकता दिन थालेको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्द्वारा विभिन्न विधामा लामो तथा छोटो अवधिका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सञ्चालनमा ल्याउने उद्देश्यले वि.सं. २०६६ सालमा टीकापुर पोलिटेक्निक इन्स्टिच्युटको उद्देश्य पनि त्यही नै छ । इन्स्च्यिुटमा कृषि, पशुविज्ञान, टेलरिङ्ग, व्युटिसियन, बेमौसमी तरकारी खेती, निर्माणसँगै माग अनुसार छोटो अवधिका विभिन्न सीपसम्बन्धी तालिमका कार्यक्रमहरू सञ्चालनमा छन् र हुँदै आएका छन् ।
इन्स्टिचुटले आवश्यकता र मागअनुसार विभिन्न समयमा छोटो अवधिका तालिमहरू पनि प्रदान गर्दै आएको इन्स्टिच्युटका प्रमुख टेकेन्द्र थापा बताउँछन् । इन्स्टिच्युटले तह १ एवम् तह २ अन्तर्गत मोवाइल रिपेयरिंग, बेसिक कम्युटर अपरेटर, मेसन, प्लम्बिङ्ग, हाउस वाइरिङ्ग, टेलरिङ्ग, व्युटिसियन, बेमौसमी तरकारी खेती, सामुदायिक पशु स्वास्थ्य सहायक, सामुदायिक कृषि सहायकलगायतका तालिमहरू सञ्चालन गर्दै आइरहेको छ । हालसम्म करिब तीन हजारभन्दा बढीले इन्स्टिच्युटबाट तालिम लिएको इन्स्टिच्युटका थापा बताउँछन् ।
टीकापुरमा व्यवसाय सञ्चालन गर्दै आएका महालक्ष्मी ग्रुपका सञ्चालक प्रकाश तिमिल्सिनाले व्यवसायिक तालिमले बजारमा एक प्रकारको तरंग ल्याएको बताएका छन् । उनले हिजो अनुमान र परम्परागत रुपमा काम हुँदै आएकोमा अहिले तालिम लिएर गरिने काम धेरै प्रभाकारी भएको बताउँदै पोलिटेक्निक इन्स्टिच्युटले उत्पादन गरेकाहरुले सहजै बजारमा रोजगारीको अवसर पाएको बताए ।
‘मसँग पनि अहिले ४ जना पोलिटेक्निकमा तालिम लिएकाहरुले काम गर्दै आएका छन् ।’ तिमिल्सिनाले भने, ‘तर सबै पूर्ण छ भन्न त सकिँदैन । ब्यबसायिक रुपमा दिइने तालिमले बेरोजगारलाई रोजगारमा जोड्ने काम पोलिटेक्निकले गर्दै आएको छ ।’
उनले अझै पनि तालिममा सहभागीहरुलाई तालिम सञ्चालनकै क्रममा समन्वय गराउन सके झन् प्रभावकारी हुने बताउँदै समुदायको माग र आवश्यकताअनुसार उद्योगी व्यवसायीसंँग समन्वय हुन जरुरी रहेको बताएका छन् । तिमिल्सिनाले अब आधारभूत तालिमको खासै औचित्य नरहने भन्दै एड्भान्स–सम्मको तालिम अनिवार्य रहेको र तालिम दिइसकेपश्चात् तिनको अनुगमनसमेत संस्थाले गर्न आवश्यक रहेको बताएका छन् ।
सिलाई–कटाई व्यवसायी संघ टीकापुरका अध्यक्ष प्रेम चौधरीले पोलिटेक्निकबाट तालिम लिएका ५ जनाले आफैसंँग काम गरेको बताएका छन् । उनले आर्थिक अबस्था कमजोर, पिछडिएका बर्ग, काम गर्न चाहनेका लागि पोलिटेक्निक बरदान भएको बताउँदै छोटो समयमा ठूलो जनशक्ति उत्पादन भएको बताएका छन् । चौैधरीले गत वर्ष पोलिटेक्निकको सिलाइ–कटाइमा सहभागी ४० जनालाई आफैले तालिम दिएको बताउँदै त्यसमध्ये पाँचजनालाई आफ्नै व्यवसायबाट रोजगारी दिएको बताएका छन् । ‘संघसंस्था र सरकारबाट थुप्रै खालका व्यवसायिक तालिमहरु हुने गरेका छन् । तर, ती तालिम पूर्ण हुँदैनन् र सहभागीले दक्षतासमेत हासिल गर्न सकेको छैन ।’ चौधरीले भने, ‘तालिम दिएपश्चात् पनि ती व्यक्तिको अनुगमन र निगरानी हुन जरुरी छ । जसले गर्दा राज्यले गरेको खर्च सही ठाउँमा सदुपयोग होस् ।’
त्यस्तै, टीकापुरमा इलेक्ट्रोनिक व्यवसाय सञ्चालन गर्दै आएका नारायणप्रसाद न्यौपानेले अन्य संघसंस्थाले दिएको तालिमभन्दा पोलिटेक्निक इन्स्टिच्युटले दिएको तासिलम विश्वसनीय रहेको बताएका छन् । छोटो अवधि भन्दैमा एक÷दुई महिनाको तालिमले सिकारु परिपक्व नहुने भन्दै त्यसले सहजै रुपमा रोजगारी प्राप्त गर्ने सम्भावना पनि कम हुने न्यौपाने बताउँछन् ।
‘प्रयोगात्मक रुपमा तालिमहरु अझै प्रभावकारी हुन सकेका छैनन् । सैद्धान्तिक रुपमा मात्रै बढी प्राथमिकता दिएको जस्तो देखिन्छ ।’ न्यौपानेले भने, ‘मसँग काम गर्ने दशजना छन् । तिनले पनि व्यवसायिक तालिम नै लिएर आएका हुन् । तर, सहजै विश्वास हुने गरी सीप सिक्न सकेको देखिएन ।’
उनले व्यवसायिक तालिम दिएर मात्र नहुने भन्दै त्यसको अनुगमन र बजारको आवश्यकता अनुसार तालिमहरुलाई समेत परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । ‘हिजो बजारमा एक व्यवसायको सम्भावना थियौं भने अहिले त्यो सम्भावना नहुन पनि सक्छ ।’ न्यौपानेले भने, ‘हाम्रा व्यवसायिक तालिमहरु समय अनुसार परिमार्जन हुन सकेका छैनन् । जसले बजारसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न नसकेको हो कि ? त्यसका लागि बजारको सम्भावनालाई विशेष ध्यान दिन आवक्श्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *