शेयेर गर्नुहोस
समाधान समाचार,
टीकापुर ०९ माघ / मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि संसद पुनःस्थापना हुनुपर्ने बताएका छन् ।
मानवअधिकार तथा शान्ति समाज कैलाली जिल्लाको साधारण सभामा बोल्दै पहाडीले अहिलेको संबिधानमा संसद विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीलाई नरहेको बताउँदै संसद विघटनले देश अशान्ति र गृह युद्धमा धकेलिएको बताएका छन् । ‘संसद विघटनको विरुद्धमा अहिले सडक तातिरहेको अबस्था छ । सबै राजनैनिक दल नागरिक समाज संसद पुनःस्थापनाको माग गर्दै सडकमा छन् ।’ पहाडीले भने, ‘संसद विघटनले संबिधानलाई समेत मास्ने काम भएको छ । यसलाई रोक्न सबै तप्का गम्भीर बन्नुपर्छ ।’ उनले प्रधानमन्त्रीकै समर्थनमा रहेकाहरुले पनि संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको भन्दै आएको बताउँदै यसले संबिधान च्यात्ने पहिलो कदम भएको बताए ।
‘देशलाई फेरि २०४७ र २०१७ सालमा धकेल्ने काम भएको छ । यसबाट फेरि देशमा ठूलो बिद्रोह हुनसक्ने संकेत देखिन थालेका छन् ।’ मानवअधिकारकर्मी पहाडीले भने, ‘संबिधान दिवसलाई कालो दिनको रुपमा मनाउनेहरु पनि संसद विघटनको बिरोधमा सडकमा छन् । हामीले राष्ट्र र राष्ट्रियता जोगाउनको लागि भए पनि संसद पुनःस्थापनाको पक्षमा लाग्न जरुरी देखिएको छ ।’
कार्यक्रममा सुदूरपश्चिम प्रदेश साँसद उमादेवी बादीले संसद विघटनका कारण लोकतान्त्रिक शक्तिहरु सडकमा आउनु परेको बताउँदै संसद विघटन गर्ने अधिकार प्रधामन्त्रीमा नभएको बताएकी छन् ।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले ठूलो संघर्षका बावजुद निर्माण भएको संविधानलाई धोती लगाउने काम प्रधानमन्त्री ओलीले गरेको बताउँदै देश अग्रगमनमा जाँदा टीकापुर पनि घाइते अवस्थामा रहेको बताएका छन् ।
मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले पछिल्ला प्रधानमन्त्रीका अभिव्यक्तिले नागरिकहरुमा झन् शंका पैदा गरेको बताएका छन् । उनले आफू सफा भए मात्र देश सफा हुने भन्दै संसद विघटनले लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गरेको बताएका छन् । ‘प्रधानमन्त्रीका पक्षधरहरु पनि संसद विघटनलाई स्वीकार गर्न सक्ने अवस्थामा छैनन् ।’ पुडासैनीले भने, ‘कोभिडको बेला पनि देशमा सरकार नभएको आभाष हुँदै आएको थियो । त्यो अहिले पुष्टि भएको छ ।’
त्यस्तै, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले विधि र कानूनलाई मान्ने भएकै कारण अदालतको निर्णयलाई पर्खेर बस्नु परेको बताउँदै संविधान र नेताको चरित्रले मेल नखाँदा यस्तो स्थिति आएको बताएका छन् । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशिल बस्नेतले संसद विघटनको कदमलाई प्रतिगमनको संज्ञा दिँदै संसद विघटनले लोकतन्त्रको घाँटी निमोठ्ने काम भएको बताएका छन् । ‘मानव अधिकार नै रहेन भने त्यहाँ मौलिक अधिकार पनि हनन् हुन्छ । अहिले त्यही भएको छ ।’ बस्नेतले भने, ‘जहाँ लोकतन्त्र हुँदैन, त्यहाँ मानव अधिकार हुँदैन ।’
मानवअधिकार तथा शान्ति समाज कैलालीका सभापति भक्तबहादुर बि.क.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव हर्क देवकोटाले गरेका थिए । २३ औं साधारण सभाले पुनः भक्तबहादुर वि.क.कै संयोजकत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ । जसमा उप–सभापति मोहन उपाध्याय, सचिव
भुपेन्द्र पुनमगर, सह–सचिव हर्क देवकोटा, कोषाध्यक्ष टीका कँडेल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा विद्या गिरी, भोजराज चौधरी, अर्जुनराम चौधरी, नरबहादुर चौधरी, टेकबहादुर शाह, मीनबहादुर विश्वकर्मा, नरेन्द्र टमट्टा, गीता अधिकारी, शीतल केसी साउँद र मुना तिमिल्सिना रहेका छन् भने सल्लाहाकार समितिमा टेकबहादुर सार्की, कमल जोशी, पर्शुराम चपाई, योगेश रावल र दुर्गा देवकोटा चयन भएका छन् ।