संसद विघटनले संबिधाननै छेद पार्यो : भट्ट

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ०६ माघ /
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि ठूलो कुठाराघात गरेको बताएका छन् ।
मंगलबार टीकापुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य भट्टले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले चुनाव गराए पनि त्यसले संविधानलाई छेद गर्ने बताएका छन् । ‘संविधानमा उल्लेख नभएकै अवस्थामा भएको संसद विघटन आफैमा अलोकतान्त्रिक छ ।’ भट्टले भने, ‘अहिले जसरी प्रधानमन्त्रीले चुनावका तयारीका लागि आह्वान गरिराख्नु भएको छ, त्यो सब झुठको खेती हो । यदि चुनाव भयो भने पनि ठूलो त्याग, तपस्या र बलिदानबाट निर्माण भएको संविधानको कुनै अर्थ रहने छ ।’
पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका भट्टले अहिलेको अस्थिर राजनीतिलाई स्थिरतातर्फ लैजानको लागि पनि संसद पुनःस्थापनाको बिकल्प नरहेको बताएका छन् । ‘हामीलाई आशा छ, न्यायालयले संविधानलाई जोगाउन पनि पैmसला सदर गर्नेछ ।’ भट्टले भने, ‘संसद विघटनको मुद्दा न्यायालयले बदर गरेको अवस्थामा देश झनै अस्थिरतातर्फ जाने छ र पहिलेजस्तै वहुमतीय सरकारहरु वर्ष दिन, ६ महिनाका लागि बन्ने र ढल्ने क्रम चल्नेछ ।’
उनले प्रतिनिधि सभामा झण्डै दुई तिहाइ बहुमत रहेको वर्तमान सरकारले काम गर्न नपाएको भन्दै गुनासो गर्नु हाँस्यास्पद भन्दा अरु केही नभएको टिप्पणी गरेका छन् । उनले आफ्नै पार्टीभित्रकाहरुसँग मिल्न नसक्नुले नै ओलीले संसदको हत्या गरेको आरोप लगाएका छन् । ‘करिब अढाई वर्षको अवधिमा प्रधानमन्त्री ओलीले गरेको निर्णयमा तिनकै पार्टी नेकपाले कहाँ अवरोध पु¥यायो ? जे निर्णय हुन्छ, त्यही निर्णय पास हुँदै गएका छन् ।’ भट्टले भने, ‘प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको उपलब्धी समाप्त गरी देशलाई राजतन्त्र फर्काउने काम गरेका छन् ।’
उनले २०४७ सालको संविधानमा संसद विघटन गर्न सक्ने प्रावधान रहेको भए तापनि अहिलेको संविधानमा उक्त बुँदा कहिँ कतै नभएको बताएका छन् । उनले संसदीय व्यवस्थालाई मान्ने राजनीतिक दलहरु अहिले सडकमा देखिएको बताउँदै सडकमा देखिएका नेपाली काँग्रेस र मधेसवादी दलहरुको दिशा अझै प्रष्ट नभएको बताएका छन् । भट्टले नेपाली काँग्रेस संसद विघटनको मुद्दालाई आन्दोलनको बहाना बनाएर चुनावी प्रचारमा लागेको आरोप लगाएका छन् ।
राष्ट्रिय जनमोर्चाले संसद विघटनबिरुद्ध तथा विघटित संसद पुनःस्थापनाका लागि जिल्लाव्यापी संघर्ष गर्दै आएको छ । माघ ३ गतेबाट सुरु गरिएको राष्ट्रिय जनमोर्चाको विरोध आमसभा कार्यक्रम मंगलबार टीकापुरमा सम्पन्न भएको छ । माघ १६ गते अत्तरियामा बृहत सभा मार्फत् संघर्षको कार्यक्रम सम्पन्न गरी नयाँ कार्यक्रम तय गरिने बताएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *