सकियो गुलाब अभियानको योजना

शेयेर गर्नुहोस


टीकापुर २८ माघ /
टीकापुर नगरपालिकाले गत वर्ष यसै समयमा जनश्रमदान मार्फत गुलाब रोप्ने अभियान सुरु गर्यो ।
फागुन २ गते अर्थात प्रणय दिवसको अवसर पारेर गुलाब रोप्ने अभियानको औपचारिक सुरुवात गरे पनि त्यसको काम केही दिन अगाडिबाट सुरु भएको थियो । जनता तथा विभिन्न संघसंस्थाको श्रमदान मार्फत टीकापुरलाई गुलाबको शहर बनाउने निवर्तमान नगर प्रमुख रामलाल डगौरा थारुको त्यो कदममा प्रायः सबैले साथ पनि दिए । त्यो बेला कतिपयले आलोचना पनि भए होलान् । तर फुलाब शहरको परिकल्पनामा विरोध भन्दा बढी समर्थन थियो भन्ने कुरा त्यस बेला अभियानमा देखिएको सहभागिताले पनि पुष्टि गर्छ ।
मुख्य सडकको किनारबाट सुरु भएको अभियान ठिक थियो भन्ने कुरा आज हाम्रा अगाडि प्रष्ट भैसकेको छ । जनताको जनसहभागितामा भएको अभियान सार्थक बन्न नसकेपछि अहिले निवर्तमान नगर प्रमुख रामलाल डगौरा थारु प्रती राजनीतिक प्रतिशोध साध्ने काम हुँदै आएको कतिपयले बताउँदै आएका छन् भने कतिपयले त्यो सस्तो लोकप्रियताको लागि गरिएको भन्ने गरेका छन् । अहिले टीकापुर बजारको मुख्य सडकमा लगाइएका गुलाबहरु सबै सकिएका छन् । तिहारलाई लक्षित गरेर लगाइएका सयपत्री पनि सकिएका छन् ।
त्यो बेला गुलाब अभियान निकै भाइरल भएको थियो । त्यसमा अन्य जनप्रतिनिधि देखि व्यापारीहरु सहित बिधालय र संघसंस्थाले राम्रै साथ दिएका थिए । निश्चित क्षेत्र ती संघसंस्थाले आफ्नो निगरानीमा राखेर गुलाबको हेरचाह र संरक्षण गर्ने प्रतिबद्धता समेत जनाएका थिए । कतिपयले आफ्नो क्षेत्रमा संस्थाको बोर्ड लगएको अझै देखिन्छ । संघसंस्थाले प्रतिबद्धता तोडेसँगै गुलाब अभियानको औचित्य समाप्त भएको देखिन्छ ।
गुलाब अभियानमा नगरपालिकाको सोचेजस्तो खर्च भने नभएको पाइएको छ । तर पनि गुलाबको लागि जडान गरिएको थोपा सिँचाइको लागि पाइप जडानमा तीन लाख दुई हजार खर्च भएको पाइएको छ भने सिँचाइको लागि जडान गरिएका २९ धाराको पाँच लाख २२ हजार खर्च भएको देखिन्छ । केही खर्च मलखादमा खर्च भए पनि अन्य खर्च जनश्रमदान मार्फत जुटेको नगरपालिकाले जनाएको छ ।
अहिले नगरपालिकाले त्यहाँ जडान भएका खानेपानीका धारा हटाउने तयारी थालेको छ । चालु आर्थिक वर्षमा गुलाब अभियानको नाममा ३० लाख भन्दा बढी बजेट विनियोजन भएको भए पनि १८ औं नगर सभाले गुलाबको शिर्षकको बजेट अन्य योजनामा रकमान्तर गरिसकेको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिएका छन् । “हामीले गुलाबको नाममा र टीकापुर विमानस्थलको नाममा विनियोजन भएको बजेट रकमान्तर गरेर अन्य योजनामा खर्च गर्ने गरी बजेट संशोधन गरेका छौँ ।” उनले भने, “अब गुलाबमा नगरपालिकाले अहिले बजेट खर्च गर्दैन ।”
प्रमुख प्रशासकीय अधिकृत धितालले गुलाबका लागि भनेर जडान भएका धारहरु आवश्यकता र औचित्यका आधारमा हटाइने भन्दै अनावश्यक खर्चहरु कटौती गर्दै लगिने बताए । “अनावश्यक खर्चहरुलाई घटाउँदै लैजाने कुरामा नगरपालिकाले कडाइका साथ काम गर्दै गर्दै आएको छ ।” उनले भने, “आवश्यकता र उपलब्धिका आधारमा मात्रै नगरपालिकाले खर्च गर्छ ।” नगरपालिकाले टीकापुर विमानस्थलका लागि समेत ७० लाख बजेट विनियोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *