शेयेर गर्नुहोस
प्रकाशकिय/
कैलालीको टीकापुरबाट प्रकाशित समाधान न्युज दैनिक आफ्नो स्थापनाको १३ वर्ष पूरा गरेर १४ वर्षको यात्रामा अगाडि बढेको छ । यो यात्रामा सँगसँगै सहयात्रा गर्नुहुने पाठक वर्ग, बिज्ञापन दाता, शुभेच्छुक, शुभचिन्तक सम्पुर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं । आगामी दिनमा पनि यहाँहरुको यहीँ साथ, सहयोग, सहकार्य र समन्वयको अपेक्षा समाधानले सधैं राखेको छ । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेपछि जनताको माझमा सत्य सुचनाका साथै समाचार प्रवाह गर्दै कैलालीको दक्षिण पुर्वी क्षेत्रबाट मोफसलका सम्भावनाहरुलाई उजागर गर्दै सम्बन्धित ठाउँसम्म पुर्याउने काममा जहिल्यै अग्र पंक्तिमा रहेका आफ्ना यात्राहरुलाई अगाडि बढाएको समाधान हरेक समस्या र चुनौतीको समाधानका लागि अनवरत रुपमा लागिरहेको यहाँहरु सबैलाई जानकारी भएकै कुरा हो ।
देशको आमूल परिवर्तनका लागि दश वर्षे सशस्त्र जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै देश नयाँ दिशामा अगाडि बढ्ने क्रममा ग्रामीण क्षेत्रका आवाजहरुलाई नीति निर्माणकर्ताहरुसम्म पुर्याउने उद्देश्यले समाधान न्युज दैनिकको जन्म भएको भन्दा फरक नपर्ला । ग्रामीण क्षेत्रका नागरिकहरूका आवाजहरुलाई बुलन्द गर्दै जिम्मेवार निकायबाट ती आवाज बिहिनहरुका आवाजलाई कार्यान्वयनका पक्षमा समाधानका पाइला कहिल्यै रोकिएनन र रोकिने पनि छैन । तर, हिजो र आजको परिवेशमा भएको परिवर्तनसँगै हामीले पनि पाठक, ग्राहक वर्ग र बिज्ञापनदाताहरुको मागअनुसार परिवर्तनको प्रयास जारी राखेका छौँ । समयको माग अनुसार विशेषगरी स्थानीय क्षेत्रका गतिविधिहरुलाई समेटेर स्थानीय विषयवस्तुलाई पाठक माझ पुर्याउने कार्यमा टीकापुर क्षेत्रमा मात्रै नभई कैलाली जिल्लामै समाधान पहिलो नम्बरमा पर्छ भन्ने कुरा दावाका साथ भन्न सक्छौं ।
डिजिटल मिडिया र सामाजिक सञ्जालबाट नागरिकहरूले छिटोछरितो सूचना पाउने आधारहरू बन्दै जाँदा छापा मिडियाको औचित्य माथी प्रश्न उठिरहेका बेला छापा मिडियालाई समयसापेक्ष बनाएर अगाडि लैजाने दौडमा हामी छौँ । यति भनिरहँदा आज पनि भरपर्दो र विश्वासिलो मिडिया छापा मिडिया भन्दा अरु छैन भन्दा फरक नपर्ला । त्यसको सुरुवात हाम्रो समाधान डटकम अनलाइनको सञ्चालन गर्दै सुरुवात गरिसकेका छौँ । अबका दिनमा छापा र अनलाइन मिडियालाई सँगसँगै लैजाने र खोज तथा अनुसन्धानमुलक विषयलाई छापा तथा हट विषयलाई अन्लाईनको माध्यमबाट पाठकको माझमा आउने प्रतिबद्धता व्यक्त गर्दछौं । साथै आजका दिनसम्म आइपुग्दा यहाँहरुले देखाएको माया र सहानुभूतिको कुनै कमि देखिएको छैन । आगामी दिनमा पनि यो माया, यो सहानुभूति कायम रहोस् भन्ने अपेक्षा समाधानले सधैं राख्ने छ । जुन कुराले समाधानलाई हरेक विषय र परिस्थितिको समाधान गर्ने आट र साहस मिलोस ।