शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०२ साउन /
आज कमैया मुक्ती घोषणा भएको २४ वर्ष पुगेको छ । २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरे पनि कैलालीको टीकापुर नगरपालिका शिवनगरका गणेश चौधरी १९ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा हुनुहुन्छ । राज्यले ऋण मिनाहा सहित पुनःस्थापना गर्ने गरी कमैया मुक्तिको घोषणा गरे पनि आफू जस्तै सयौं परिवार आज पनि पुनःस्थापनाको पर्खाइमा रहेको गणेश बताउनुहुँन्छ । “राज्यले पुनःस्थापनाको नाममा मुक्तकमैयाहरुलाई ठग्ने काम मात्रै गरेको छ । आजसम्म कमैयाले आफ्नो क्षमताले।एउटा बस्ने घर सम्म बनाउन सकेका छैनौं । अरुकै सहारामा बाच्नु परेको छ ।” उहाँ भन्नुहुन्छ, “आश्वासन पटकपटक पाउँछौं । राज्यको सहारा कहिल्यै पाउँदैनौँ ।”
शिवनगरकै रामफल चौधरीलाई बुढ्यौलीले छोइसकेको छ । सरकारले पुनःस्थापनाको ग्यारेन्टी गरेसँगै अरुको घरमा कमैया बसेर जीवननिर्वाह गर्दै आउनुभएका उहाँले २० वर्ष पुनःस्थापनाको आशामा शिविरमा बिताउनु भयो । “हामीसँग कैयौंपटक विभिन्न राजनीतिक दलहरुले पुनःस्थापना गरिदिने भन्दै सम्झौता गर्नुभएको छ । ती सम्झौताका पानाहरु आज पनि सुरक्षित छन् ।” उहाँले भन्नुभयो, “झुटो सम्झौता गरेर चुनाव जितेर गएकाहरु फर्किएका छैनन् । हामी त्यहीँ झिनो आशा बोकेर दशकौंदेखि कष्टकर जीवन बिताउन बाध्य छौँ ।”
शान्ताराम चौधरीको समस्या पनि कुनै नौलो छैन । दुई दशकदेखि कमैयाबाट मुक्त हुन चाहने शान्ताराम अझै कमैयाबाट मुक्त हुन सक्नुभएको छैन । आज पनि अरुको घरमा काम गरेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता उहाँलाई छ । “हिजो कसैको घरमा वार्षिक सम्झौता गरेर साहु महाजनको काम गर्नुपर्थ्यो भने, आज मन लागेसम्म काम गरे हुन्छ ।” उहाँ भन्नुहुन्छ, “हिजो अरुको काम गर्दा आफ्नो स्वतन्त्रता थिएन, आज स्वतन्त्रता छ, त्यतिमात्र हो । होइन भने सरकारले हाम्रो समस्या बुझेको भए पुर्ण स्वतन्त्र हुन सकिन्थ्यो ।”
दुई दशक पहिले टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको जग्गा अतिक्रमण गरेर सयौं मुक्तकमैया आश्रय लिएर आजसम्म बसोबास गर्दै आएका छन् । सो क्षेत्रमा मुक्तकमैया मात्रै नभई सयौं सुकुम्बासीहरु पनि बसोबास गर्दै आएका छन् । “राज्यले उचित व्यवस्थापनका साथ पुनःस्थापना गरेको भए अरुको जग्गामा बस्नुपर्ने बाध्यता हुदैनथ्यो होला ।” स्थानीय छेदु चौधरीले भन्नुभयो, “सरकार हाम्रो व्यवस्थापन नगर्ने । जग्गा जमिन नभएका हामी यो जग्गा छोडेर कता जानसक्छौँ ।”
मुक्त कमैया समाज सुदुरपश्चिम प्रदेशका सचीव विमल चौधरीले कैलालीमा अझै चार हजार दुई सय छुट मुक्तकमैयाको पुनःस्थापना पुन बाँकी रहेको बताउनुभएको छ । प्रदेशमा १२ हजार मुक्तकमैया परिवार रहेको भन्दै विमलले टीकापुरमा मात्रै करिब छ सय परिवार पुनःस्थापनाको पर्खाइमा रहेको बताउनुभएको छ । मुक्तकमैयाहरुको व्यवस्थापनका लागि तिनै तहको सरकारसँग समन्वय र सहकार्य गर्दै आएका छौँ । एउटाले अर्कोलाई देखाएर आफू पन्छिन खोज्ने काम भैरहेको छ ।” सचीव विमलले भन्नुभयो, “हामी यो कमैया प्रथाबाट सधैंका लागि मुक्त हुन चाहान्छौँ । राज्यले गरेको घोषणा अनुसार सबै मुक्तकमैयाहरुको व्यवस्थापन यथाशीघ्र गर्नुपर्छ ।”
कैलालीका ११ वटा स्थानीय तहमा मुक्तकमैयाहरु बसोबास गर्दै आएका छन् भने कञ्चनपुरमा ६ स्थानीय तहमा मुक्तकमैया बसोबास गर्छन् । पुनःस्थापना गरिएका कैयौं मुक्तकमैयाहरुले आज पनि आकाशे लालपुर्जा मात्रै पाएका छन् । उनीहरूले पाएक जग्गा अहिले पनि फुकुवा हुन नसक्दा समस्या भैरहेको मुक्तकमैया समाजकी केन्द्रिय सदस्य सीता चौधरीले बताउनुभयो । “मुक्तकमैयाहरुको जीवनस्तर माथी उठाउन राज्यले ध्यान दिएको छैन । पाएको जग्गाको लालपुर्जा फुकुवा नहुँदा जीवनयापनमा मुक्तकमैयाहरुलाई गाह्रो छ ।” उहाँले भन्नुभयो, “अर्कोतिर स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता क्षेत्रमा मुक्तकमैयाहरुलाई विशेष प्राथमिकतामा राखेर अवसर सिर्जना गर्ने काम पनि तिनै तहको सरकारबाट हुनुपर्छ ।”
कमैया मुक्तिको घोषणा भएको दिनलाई लिएर पछिल्लो समय स्थानीय तहले सार्वजनिक विदा दिने गरेको छ । आज मुक्तकमैया दिवसको अवसर पारेर टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका,जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिका लगायतका स्थानीय तहले एक दिन सार्वजनिक विदा दिएका छन् ।