शेयेर गर्नुहोस
टीकापुर, ०७ माघ /
गौरिगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कडेलले सरकारको सफलतामा गैरसरकारी संघसंस्थाको भुमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
बालकल्याण संघ टीकापुरको आयोजना, वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा गौरिगंगा नगरपालिकाको समन्वयमा भएको जनप्रतिनिधिहरुसँग बालबालिकाहरुको सवालमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नगरपालिकाको सामाजिक विकास तर्फ संघसंस्थाको भुमिका महत्त्वपूर्ण रहेको बताएका हुन । “हामी देशकै कान्छो नगरपालिका पनि हौं । आन्तरिक स्रोतसाधनले जनताका असीमित अपेक्षा पूरा गर्न सकिने स्थिति छैन ।” उनले भने, “त्यसमा कैयौं अपेक्षाहरुलाई पूरा गर्ने काम साझेदार संघसंस्थाहरुले पनि गर्दै आएका छन् । जसमा स्थानीय सरकार र साझेदार संस्थाको भुमिका विशेष छ ।”
विभिन्न बाल क्लबमा आबद्ध बालबालिकाहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा उनले आफुहरु नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने काममा आफुहरु लागिरहेको बताएका छन् । नगरपालिकाको वडा नं. १० लाई गत असार ४ गते स्थानीय बालमैत्री शासन वडा घोषणा गरिएको बताउँदै नगर प्रमुख कडेलले चालू आर्थिक वर्षमा चारवटा थप वडालाई बालमैत्री वडा घोषणा गरिने बताएका छन् । उनका अनुसार यसवर्ष वडा नं. १,२,८ र ११ नं. वडालाई बालमैत्री वडा घोषणा गरिने छ । बाँकी वडालाई आफ्नो कार्यकाल भित्र घोषणा गरेर सुदुरपश्चिम प्रदेशको पहिलो बालमैत्री नगरपालिका घोषणा गर्ने उनको भनाई छ ।
नगर प्रमुख कडेलले अनाथ तथा बेसाहारा बालबालिकाको संरक्षण गर्दै अभिभावकत्व ग्रहण गर्ने निर्णय पहिलो कार्यपालिकाबाटै गरेर काम गरिरहेको जानकारी दिएका छन् । “हामीले अभिभावक विहिन बालबालिकालाई कार्यकालको सुरुबाटै अभिभावकत्व लिँदै आएका छौँ ।” उनले भने, “त्यसले अवसरबाट बञ्चित हुँदै आएका बालबालिकालाई अभिभावक सँगै सहयोग समेत गर्दै आएका छौँ ।”
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश पन्तले बालबालिकाहरुको हक अधिकारसँगै उनीहरूको संरक्षणको काममा नगरपालिकाले नीतिगत रुपमै काम गर्दै आएको बताएका छन् । उनले विगतको तुलनामा शैक्षिक गुणस्तर पछिल्लो वर्षका नतिजाले स्पष्ट पार्दै आएको बताएका छन् । लागुऔषध दुर्व्यसनीका कारण बालबालिकाहरुमा ठुलै चुनौती देखिँदै आएको बताएका छन् । लागुऔषध दुर्व्यसनी न्यूनीकरण रोक्नको लागि नगरपालिकाले गरेको प्रयासका बारेमा बालबालिकाले गरेको प्रश्नमा पन्तले भने, “हामीले प्रहरी प्रशासनसँग समन्वय गरेर विभिन्न कार्यक्रम गर्दै आएका छौँ । अन्य जनचेतनामूलक कार्यक्रम विभिन्न बिधालय तथा समुदायमा गर्दै आएका छौँ ।”
वडा नं. १० का वडा अध्यक्ष नर्सिङ सार्कीले वडालाई बालमैत्री वडा घोषणा गर्नमा बालकल्याण संघको भुमिका स्मरण गर्दै त्यस सम्बन्धि केही अवधारणा तयार गरेर कार्यान्वयनमा लैजान समय लागेको बताएका छन् । उनले अवधारणा तयार हुन नसक्दा विनियोजन भएको बजेट खर्च हुन नसकेको बताए । “यसै महिनामा अवधारणा तयार गरेर बजेट कार्यान्वयन गर्छौं । त्यसपछि धेरै कामहरू गर्ने बाटो खुल्ने छ ।” उनले भने, “अहिले पनि बालबालिकाको क्षेत्रमा हामीले महत्त्वपूर्ण कामहरूलाई अगाडि बढाएका छौँ ।”
कार्यक्रममा बाल अधिकारसँग सहभागी बालबालिकाले जनप्रतिनिधि तथा शाखाका प्रमुखहरुसँग विभिन्न प्रश्नको जवाफ मागेका थिए ।











