शेयेर गर्नुहोस
टीकापुर ०१ भदौ/
सहकारीलाई व्यवसाय योजना सम्बन्धित तीन दिने क्षमता अभिवृद्धि कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
दिगो विकास समाज भजनीको आयोजना तथा वल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा पोषण तथा उत्थानशील परियोजना कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो । सहकारी संस्थाको क्षमता वृद्धि गर्ने, नयाँ ज्ञान सीपको विकास गर्ने, सहकारीको कामको प्रभावकारिता, ऋण लगानीको प्रभावकारिता, व्यावसायिक योजना बनाउन मद्दत, दीर्घकालीन व्यवसाय सञ्चालनका लागि सहकारीको लगानी कसरी गर्ने भन्ने लगायतका उद्देश्यका साथ सञ्चालन भएको कार्यक्रमको समापन सत्रमा सहभागीको तर्फबाट सोनीया साउँद र रामकृष्ण चौधरीले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा वल्ड भिजन इन्टरनेशनलका मंगल शाहले सहकारीहरुले पनि समाज प्रतिको दाइत्वलाई बोध गर्दै जोखिममा परेका समुदायलाई व्यावसायिक बनाउनमा साझेदारीको काम गर्न सकोस् भन्ने कार्यक्रमको उद्देश्य रहेको बताएका छन् । विगो विकास समाज भजनीका अध्यक्ष रामबहादुर सुनारले सिकेको कुरालाई कार्यान्वयनमा ल्याउन सकेमात्र कार्यक्रमको सफलता मान्न सकिने बताउँदै त्यसमा सहभागी सहकारीलाई आग्रह गरेका छन् ।
परियोजना अधिकृत विनोद शाहले तालिमले दिएका कुराहरूलाई कार्यान्वयनमा ल्याउन सके त्यसबाट सहकारी र समुदाय दुबैलाई फाइदा हुने बताएका छन् । साउन ३० गतेबाट सुरु भएको तालिमको मुख्य प्रशिक्षक मिना जोशी रहेकी थिइन् भने कार्यक्रमको सञ्चालन खुशीराम चौधरीले गरेका थिए । कार्यक्रममा भजनी नगरपालिकाको वडा नं.१,५,७ र टीकापुर नगरपालिकाको वडा नं. ६,७,८ र ९ का १३ जनाको सहभागिता रहेको थियो ।
