सहकारी मार्फत सामुहिक खेती विस्तार

शेयेर गर्नुहोस


टीकापुर २९ साउन /
टीकापुरमा सहकारी मार्फत सामुहिक खेती विस्तारको काम सुरु गरिएको छ ।
एक वर्ष अगाडि स्थापना भएको जनरोजगार श्रमिक सहकारी संस्था मार्फत सामुहिक कृषि खेतीको सुरु गरिएको हो । सहकारीमा आबद्ध ५० जना शेयर सदस्यहरुले सामुहिक कृषि खेती विस्तारको अवधारणा अनुसार तरकारीको बेर्ना उत्पादनको काम सुरु गरेका छन् । कृषिबाट दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ सहकारी सञ्चालनमा ल्याइएको अध्यक्ष खुशीराम चौधरी बताउनुहुँन्छ ।
“श्रम गरेर जीवन निर्वाह गर्दै आएको वर्गको जीवनस्तर माथी उठाउने उद्देश्यका साथ सामुहिक कृषि खेती विस्तारको अवधारणा अनुसार सहकारी स्थापना गरेर श्रमजीवीहरुलाई जोड्ने काम गरिरहेका छौँ ।” अध्यक्ष चौधरी भन्नुहुन्छ, “त्यसका लागि सहकारी मार्फत सामुहिक कृषि खेती गर्ने र व्याक्तिगत रुपमा पनि कृषिमा विपन्न समुदायलाई जोड्नको लागि प्रेरित गर्ने काम सहकारीले गर्दै आएको छ ।” सहकारीले अहिले बेमौसमी तरकारीका बेर्ना उत्पादन गरिरहेको छ । उत्पादन भएको तरकारीको बेर्ना सहकारीका सदस्यहरुलाई वितरण गर्ने योजना रहेको छ । सहकारीमा आबद्ध नभएका कृषकहरूलाई पनि उक्त बेर्ना वितरण गरिने अध्यक्ष चौधरीको भनाइ छ ।
कृषि क्षेत्रमै जीवन बेथित गर्दा पनि परम्परागत कृषिबाट आत्मनिर्भर बन्न नसकिएकोमा सहकारीका सचिव अमित कुमार चौधरी सहकारीले कृषकहरूलाई आधुनिक कृषि खेतीका लागि प्रोत्साहित गर्ने र आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुहुन्छ । “मैले पनि खेती गर्दै आएको छु । आफुले गरेको खेतीबाट आत्मनिर्भर बन्न सकेको छैन । व्यावसायिक बन्न सकेको छैन ।” उहाँ भन्नुहुन्छ, “सहकारीले व्यावसायिक खेती विस्तारका लागि आवश्यक परामर्श र सहयोग गर्न सक्यो भने कृषि क्षेत्रबाट आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा विश्वस्त छु ।”
कृषकहरूलाई तरकारी खेती सँगै फलफुल खेतीमा प्रोत्साहित गर्ने योजना सहकारीको रहेको छ । कृषि सहकारीहरु पनि बचत तर्फ मात्रै केन्द्रित भएको बताउँदै उद्देश्य अनुरुप सहकारीले गतिविधि सञ्चालन गर्न नसकेको गुनासो अझै पनि छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *