शेयेर गर्नुहोस
टीकापुर ०८ चैत /
टीकापुर नगरपालिकाको आर्थिक वर्ष २०७८ /०८९ को सामाजिक परीक्षण प्रारम्भिक अध्ययन प्रतिवेदनमाथि छलफल तथा सुझाव संकलन गरिएको छ ।
टीकापुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रतिवेदन संकल्प रिसर्च एण्ड डेभलपमेन्ट कन्सल्टेन्सी प्रालिले प्रस्तुत गरेको थियो । प्रतिवेदन प्रस्तुत गर्दै प्रस्तुतकर्ता मीनबहादुर शाहीले अनुगमन समितिको एउटा भौचर हेर्दा बैठकले निश्चित खाका प्रस्तुत नगरेको, अनुगमन समिति बाहिरका मानिसलाई पनि भत्ता खुवाएको भेटिएको बताएका छन् । त्यस्तै खरिद पक्रियामा नगर विकास योजना प्रकाशन तथा प्रसारण अन्तर्गत चुरे मिडिया प्रालिले एउटा डकुमेन्ट बनाएर ४ लाख ९५ हजार लिएको तर संस्थाको दर्ता, कर चुक्ता, विज्ञको डकुमेन्ट जस्ता कुराहरु नपाइएका शाहीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रस्तुतकर्ता नाथुराम चौधरीले शिक्षा क्षेत्रका विषय प्रस्तुत गर्दै टीकापुरमा सामुदायिक ३३, संस्थागत ४४ र परम्परागत ३ गरी ७९ विद्यालय रहेको बताउँदै शिक्षक विद्यार्थीको अनुपात हेर्दा तालमेल नमिलेको बताएका छन् । उनले शैक्षिक जवाफदेहिता र माथिल्ला कक्षामा सिकाइ उपलब्धि घट्दै गएको प्रतिवेदनले देखाएको बताएका छन् ।
प्रस्तुतकर्ता केदार भट्टराईले नगरपालिकाको आर्थिक वर्ष २०७८ /०७९ मा एक अर्ब ११ करोड २७ लाख रकम आय रहेको बताउँदै समग्रमा ७५ प्रतिशत बजेट खर्च भएको बताएका छन् । कार्यक्रममा स्वागत कार्यपालिका सदस्य रामबहादुर नगार्जीले गरेका थिए भने सञ्चालन प्रशासकीय अधिकृत रञ्जु आचार्यले गरेकी थिइन् ।
सामाजिक परीक्षण प्रतिवेदनमाथि छलफल कार्यक्रममा नागरिक समाजका संयोजक भिमराम चपाइले वडाहरुले समेत सार्वजनिक सुनुवाइ गर्नुपर्ने, महालेखा प्रतिवेदनको औल्याएको बेरुजु त्यसमा असुल गर्नुपर्ने रकम, ब्यक्तिको विवरण प्रष्टरुपमा आउनुपर्ने बताएका छन् । स्थानीय सरकार सवलीकरण कार्यक्रमका यज्ञमान सेठ्ठीले नगरपालिकाको कार्यसम्पादन मूल्यांकन लिजामा नगरपालिका दुइ शिर्षकमा नं. घटेको कारण प्रतिवेदनमा आइदिएको भए राम्रो हुने बताएका छन् ।
पत्रकार एकिन्द्र तिमिल्सिनाले पेश्की र पूरानो बेरुजुको कुरा प्रतिवेदनमा नआउँदा दुःख लागेको बताए । उनले यस्ता कुरा देखिएन भनेर सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ हुने भएकाले आर्थिक कुरा लुकाउनु गलत भएको बताए । पर्यटन व्यवसायी तेज बोहराले नगरपालिकाले पर्यापर्यटन विकासका क्षेत्रमा खासै काम नगरेको, नीति कार्यान्वयन समेत नगरेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय लक्ष्मण बहादुर कठायतले सामाजिक परीक्षण सुशासनसँग जोडिएको विषय भएकाले यसले टीकापुर नगरपालिकाको कार्यसम्पादन आउँदा दिनमा कसरी सुधार गर्न सकिन्छ भनेर झक्झक्याउने काम गर्ने बताएका छन् । पालिकाले बनाउने नीति, योजना कार्यक्रम जनअपेक्षा अनुसार छन छैनन भनी सामाजिक परीक्षणले अडिट गरेर सुझाव दिने भएकाले महत्वपूर्ण काम भएको बताए ।
कार्यक्रम समापन गर्दै नगर प्रमुख रामलाल डगौरा थारुले विभिन्न विषयहरु प्रतिवेदनले उठाएको बताउँदै नगरपालिका पारदर्शी नभएमा अगाडी बढ्न नसक्ने भन्दै अन्तिम प्रतिवेदनमा अझ विस्तृत रिपोर्ट ल्याइदिन आग्रह गरेका छन् । उनले सूचना नलुकाउन कर्मचारीलाई आग्रह गर्दै जनप्रतिनिधि, कर्मचारी सबैका आर्थिक, नीतिगत कुराहरु ल्याइदिन आग्रह गरे ।