शेयेर गर्नुहोस
टीकापुर ३० चैत /
समुदायका अगुवाहरुलाई आप्रवासनको असर तथा प्रभाव कामदारलाई सामाजिक बहिस्करण र प्रभाव न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
टीकापुर नगरपालिकाको आयोजना तथा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुको अध्यक्षतामा भएको कार्यक्रममा सामी परियोजनाका कार्यक्रम संयोजक दिपक बोहराले नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये ४५ प्रतिशत कामदार सीप नसिकेर वैदेशिक रोजगारीमा जाने तथ्यांक रहेको बताएका छन् । उनले वैदेशिक रोजगारीमा जानेहरु नागरिकहरुलाई सीप सिकाउने र आवश्यक परामर्शको काम गर्दै आएको बताएका छन् । उनले देशभरका ३९ जिल्लाका एक सय ५६ स्थानीय तहमा सामी परियोजनाले काम गर्दै आएको बताएका छन् ।
सामी परियोजना कैलालीको हकमा भने चार पालिकामा सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रम संयोजक बोहराले बताएका छन् । उनले चालू वर्षमा चार लाख आठ हजारलाई १० लाख ४८ हजार रुपैयाँ आर्थिक सहायता गरिएको छ । सामीले ८२ जनालाई सीप तालिममा सहभागी हरेका छन् । जसमा टीकापुरबाट १२ जना सहभागी रहेको बताइएको छ ।
वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक लागत सम्बन्धि कार्यक्रमको अधिकृत लक्ष्मी चौधरीले वैदेशिक रोजगारीका कारण गरिबीको तथ्यांक घटाएको बताएकी छन् । उनले नेपालबाट वैदेशिक रोजगारीमा जाने मध्ये ९२ प्रतिशत पुरुष रहेको बताएकी छन् । चौधरीले वैदेशिक रोजगारीका कारण समाजमा मनोसामाजिक असर डरलाग्दो स्थितिले बढेको समेत बताइन् ।
ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी रानाले नेपालको संविधानले श्रम र रोजगारीको ग्यारेन्टी गरिएको बताउँदै नितिगत कुराहरू कार्यान्वयनमा नआउँदा त्यसको प्रतिफल शुन्यको अवस्थामा रहेको बताएका छन् । “नेपालमा वार्षिक साढे पाँच लाख जनशक्ति काम गर्न सक्ने क्षमताको बन्छ । त्यो मध्ये साढे चार लाख वैदेशिक रोजगारीमा जान्छन् । अनि बाँकी रहेको एक लाख जनसंख्या पनि श्रम नगरी समाजमा प्रबुद्ध ब्याक्तीको रुपमा स्थापित हुन खोज्छ । जो काम गर्न चाहँदैन ।” रानाले भने, “अनि कसरी देशमा काम गर्ने वातावरण बन्छ ? समृद्धिको सपना युवा जनशक्ति पलायन हुँदा कसरी पूरा हुन्छ ?”
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले सामी परियोजना वैदेशिक रोजगारीमा गएका परिवारका लागि अभिभावक बनेको बताउँदै परियोजनाको समयावधि सकेपछि त्यसलाई नगरपालिकाले निरन्तरता दिने बताएका छन् । कार्यक्रमको सहजीकरण अमृता रावलले गरेकी थिइन् ।