सार्वजनिक स्थल खाली नभए नियन्त्रणमा लिन्छौं

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २१ जेठ /
टीकापुर नगरपालिकाले सडक किनार तथा सार्वजनिक स्थानमा राखिएका निर्माण सामाग्री व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दै सार्वजनिक स्थानमा राखिएमा निर्माण सामाग्रीहरु एक हप्ताभित्र हटाउन निर्देशन दिएको हो । नगर क्षेत्र भित्र जथाभावी थुपारेका निर्माण सामाग्रीहरुका कारण नगरको सौन्दर्यता हराएको र त्यसलाई खाली गरि नगरको सौन्दर्यता कायम राख्नका लागि सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ । “टीकापुर नगरपालिकाभित्रका सार्वजनिक चोक, चौराहा, ओपन स्पेश तथा बाटोको छेउमा अनाधिकृत रुपमा ढुंगा गिट्टी, बालुवा थुपारेर राख्ने गरेको देखिन आएकाले उक्त ढुंगा, गिट्टी, बालुवा सात दिनभित्र व्यवस्थापन गर्न जानकारी गराएकाे छ । अन्यथा नियमानुसार नागरपालिकाले व्यवस्थापन गर्ने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।” उक्त सुचनामा उल्लेख गरिएको छ ।
उक्त विषयमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंराले सात दिनको सुचना पहिलो चरणमा सार्वजनिक गरिएको र त्यसपछि तीन दिनको अन्तिम सुचना निकाल्ने बताएका छन् । “यसले नगरको सौन्दर्यतालाई कुरुप बनाएको छ । हामिले पहिला आग्रह गर्ने हो त्यहीँअनुसार अहिले आग्रह गरेका छौं । यसपछि यदि सात दिनमा कसैले टेरेन भने तीन दिनको सुचारु पुनः सार्वजनिक गर्छौ ।” नगर प्रमुख थारुले भने, “त्यति गर्दा पनि अटेर गर्यो भने हामी एक्सनमा जान्छौं । सार्वजनिक स्थलमा राखिएका सबै सामाग्रीहरु नगरपालिकाले आफ्नो नियन्त्रणमा लिन्छ र त्यसको व्यवस्थापन गर्छ ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले पहिलो चरणमा निर्माण कम्पनी वा सम्बन्धित निकायलाई सचेत हुन र सहज रुपमा सामाग्री व्यवस्थापन गरि सहयोग गर्न आग्रह गरिएको बताएका छन् । “हामिले सहज रुपमा सम्बन्धित निकायले ध्यान दिएर आफ्नो सामाग्री समयमै सुरक्षित गर्छ भन्ने विश्वास लिएका छौं ।” प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, “त्यति गर्दा पनि भएन भने त्यो सामाग्री ल्याएर जहाँ आवश्यक छ हामी हाम्रो स्रोतसाधन लगाएर व्यवस्थापन गर्छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *