सुदूरपश्चिमका ५ सहकारी संस्था पुरस्कृत

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ०४ मंसिर /
नेफ्स्कुनको ३३ औं स्थापना दिवसको अवसरमा साउन ३२ गते विभिन्न विधामा उत्कृष्ट घोषणा गरिएका सुदुरपश्चिमका ५ सहकारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
जसमा जनज्योती साकोस महेन्द्रनगर, जनकल्याण साकोस टीकापुर, जनता साकोस महेन्द्रनगर, सृजना साकोस महाकाली र जनप्रिया साकोस घोडाघोडी रहेका छन् । नेफ्स्कूनको २९ औं साधारण सभा अन्तर्गत सातै प्रदेशमा आयोजना गरिएका बिस्तारित मञ्चका कार्यक्रमहरु अन्तरगत महेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा उपरोक्त सहकारी संस्थाहरुलाई सम्मान गरिएको हो । कार्तिक २३ गते प्रदेश नं १ बाट सुरु भएको प्रादेशिक बिस्तारित मञ्चका कार्यक्रमहरु अन्य विभिन्न प्रदेश हुँदै सुदूरपश्चिम प्रदेशमा पुगेर सम्पन्न भएको छ । कोभिड १९ को विषम परिस्थितिका बाबजुद सदस्य सहभागिता अभिवृद्धि एवम् संघका नीति, कार्यक्रमहरुमा सदस्य संघ संस्थाहरुको प्रतिनिधित्व तथा अपनत्व बढाउन सातै प्रदेशमा बिस्तारित मञ्च आयोजना गरिएको हो भने निर्णय एकिकरण गर्ने अन्तिम बैठक मंसिर ५ गते काठमाडौंमा आयोजना हुँदैछ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित कार्यक्रमा संघका अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक माधवप्रसाद जोशी, नेफ्स्कुनका पुर्व सञ्चालक तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङ, बेद्कोट नगरपालिकाका नगर प्रमुख अशोक चन्द, कञ्चनपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भवानी चन्द नेफ्स्कुनका उपसमिति सदस्यहरु, फिल्ड कार्यालय ब्यवस्थापन उपसमिति सदस्यहरु, प्रारम्भिक संस्थाका प्रतिनिधिहरु, नेफ्स्कुन कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । भने जुम मार्फत् अभौतिक रुपमा थुप्रै सहकारीकर्मीहरु सहभागि भएका थिए ।
संघका महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दिपक पनेरुले कार्यक्रममा प्रतिवेदन पेश गर्नु भएको थियो भने बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहभागीहरुलाई मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो । नेफ्स्कुनका सञ्चालक तथा सुदुरपश्चिमका संयोजक माधवप्रसाद जोशीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि तारालामा तामाङले नेफ्स्कुनले हाल सम्म गर्दै आएको कामहरु केन्द्र देखि स्थानिय स्तर सम्म एकदमै प्रशंसनीय रहेको बताउनुभयो । नेफ्स्कुनले बचत तथा ऋण सहकारी संस्थाहरुको वृद्धि बिकासका लागि आवश्यकता अनुसार बिभिन्न तालिम तथा कार्यक्रमहरुको आयोजना गरी बचत तथा ऋण सहकारी संस्थाहरुलाई बलियो बनाउदै लगेकोमा तामाङले धन्यवाद दिनुभयो । कार्यक्रममा संघका अध्यक्ष परितोष पौड्यालले सहभागीहरुको जिज्ञासाहरुको सम्बोधन गर्दै सहकारी नियमावलीका केही प्रावधानका कारण सन्दर्भ ब्याजदरमा केही समस्याहरु रहेको बताउदै नेफ्स्कुनले सधै सहकारी मैत्री बैज्ञानिक ब्याजदर निर्धारणका लागि पैरवी गरिरहेको धारणा राख्नुभयो । हाल नेफ्स्कुनले चार बर्षे रणनितिक योजना बनाएको बताउदै अध्यक्ष पौड्यालले उक्त योजनामा संघलाई नभई सदस्य साकोसहरुलाई केन्द्रमा राखिएको स्पष्ट पार्नुभयो । सन् २०३० सम्म नेपाल डिजिटल युगमा पुग्नुपर्ने लक्ष्य रहेकाले अब प्रविधिको विकल्प नभएको र नेफ्स्कुनले साकोस अभियानको लागि एकीकृत दिगो प्रविधि विकासमा पर्याप्त बजेट ब्यवस्थापन गरेको जानकारी उहाँले गराउनुभयो । अहिलेको आवश्यकता भनेको सफ्टवेयरसँगको सेवा भएको बताउदै अध्यक्ष पौड्यालले नेफ्स्कुनले साकोस अभियानलाई सोही दिशामा अगाडि बढाउने सोच बनाएको उल्लेख गर्नुभयो । उहाँले दिगो साकोस अभियानको लागि स्तरीकरण र स्थिरीकरणलाई पनि नेफ्स्कुनले एकसाथ अगाडी बढाएको बताउनुभयो । कार्यक्रम नेफ्स्कुन फिल्ड कार्यालय कञ्चनपुरका प्रमुख बिष्णु जोशीले व्यवस्थापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *