स्थानीय सरकारसँग युवाको अन्तरक्रिया

शेयेर गर्नुहोस


टीकापुर १५ भदौ /
टीकापुर जेसीजले स्थानीय सरकारसँग स्थानीय सरकारसँगका युवाको अपेक्षाको विषयमा शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
टीकापुर नगरपालिका वडा नं. १ को समन्वयमा भएको कार्यक्रममा युवाहरूले स्थानीय सरकारसँग आआफ्नो अपेक्षा राखेका छन् । विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने युवाहरूले स्वदेशमै युवाहरूलाई बस्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । हरिश न्यौपानेले गाउँ वस्ती खाली भएर विमानस्थलमा युवाहरू भरिभराउ हुँदा युवालाई आफ्नै क्षेत्रमा स्थापित हुने वातावरण सिर्जना स्थानीय सरकारले गर्न सक्नुपर्नेमा जोड दिएका छन् । स्ववियु सभापति नृपजंग थालाले राज्यले कृषिलाई प्राथमिकतामा राख्दा कृषिमा भएको लगानीअनुसार उत्पादन भएको वस्तुको बजारीकरणमा स्थानीय सरकारले जवाफदेही हुनुपर्ने बताएका छन् ।
त्यस्तै व्यवसायी विशाल विष्टले व्यवसाय गर्नभन्दा बढी झन्झट कागजात मिलानमा हुने बताउँदै त्यसमा सरकारले व्यवसाय गर्ने वातावरणलाई सहज बनाउन आग्रह गरे । स्ववियु सभापति नवीन अधिकारीले खेलकुद क्षेत्रको विकासमा जनशक्ति उत्पादनतर्फ सरकारको ध्यान पुग्न नसकेको बताएका छन् । टीकापुरमा पुनःस्थापना सञ्चालन गर्दै आएका उपेन्द्र बटालाले पुनःस्थापना प्रती स्थानीय सरकारको धारणा खोजेका छन् । उनले लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि सरकारसँग आफुहरु समन्वय र सहकार्य गर्न सक्ने भन्दै त्यसको लागि समन्वय गर्न आग्रह गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश युवाहरूले सरकार युवाहरू प्रती जवाफदेही बन्न नसकेको धारणा व्यक्त गरेका छन् । उनीहरुले सरकारको स्रोत उत्पादनको क्षेत्रमा नभई अनुत्पादक क्षेत्रमा खर्च भैरहेको बताउँदै युवालाई आफ्नै क्षेत्रमा काम गरेर आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्न माग गरेका छन् । शिक्षालाई उत्पादनसँग जोडेर उत्पादन भएको वस्तुको बजारीकरणको जिम्मेवारी मात्रै स्थानीय सरकारले लिने हो भने पनि कयौं युवालाई स्वदेशमा रोक्न सकिने युवाहरूले सुझाव पनि दिएका छन् ।
कार्यक्रममा समाजसेवी भुवनेश्वर अधिकारीले टीकापुरको विकासका लागि टीकापुर कै माटो सुहाउँदो काम गर्नुपर्ने बताउँदै कुरा गरेर अनि अरुको सिको गर्न खोजेर टीकापुरको विकास नहुने बताएका छन् । उनले स्थानीय सरकारले कसैसँग समन्वय र सहकार्य गर्न नखोजेको भन्दै युवाहरूको भविष्यको विषयमा कसैले चिन्ता नलिएको बताएका छन् । टीकापुर जेसीजका पुर्व अध्यक्ष रामबहादुर भण्डारी, आनन्द हमाल, जगदिश्वर पण्डित, ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख विश्वराज अधिकारी लगायतले पनि धारणा राखेका थिए ।
कार्यक्रममा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मोहन विकले देशमा युवा लक्षित थुप्रै नीति बनेको भए पनि कार्यान्वयन हुन नसक्दा समस्या आएको बताएका छन् । सहभागी युवाहरूको प्रश्नको जवाफ दिँदै वडा अध्यक्ष विकले युवाहरूलाई व्यवसायसँग जोड्ने प्रयत्न गरिरहेको बताउँदै स्रोतसाधनले भ्याएसम्म वडाबाट गरेको बताएका छन् । “हामीले युवाहरूलाई व्यावसायिक बनाउनकै लागि मागअनुसारको सीप मुलक तालिम सञ्चालन गर्दै आएका छौँ । त्यसमा सहभागिता पनि हुन्छ ।” उनले भने, “तालीम लिएपछि युवाले जुन व्यवसायमा जोडिनु पर्ने हो त्यो हुन सकेको छैन”
उनले देशमा दक्ष जनशक्ति नपाइने स्थितिको सिर्जना हुँदै गएको बताउँदै यहीँ स्थिति रहँदा देशले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । जेसीज अध्यक्ष रुपक बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव भरत भण्डारीले गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार परमानन्द पाण्डेले गरेका थिए ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *