स्थापना दिवसमा फलफुल वितरण

शेयेर गर्नुहोस


टीकापुर ०४ असार /
सुदुरपश्चिम विश्वविद्यालयको १४ औं स्थापना दिवसको अवसरमा टीकापुर अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेर मनाइएको छ ।
विश्वविद्यालयको आंगिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पस, कृषि बिज्ञान संकाय र स्कुल अफ एग्रीकल्चरको संयुक्त आयोजनामा १४ औं स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीहरूलाई फलफुल वितरण गरिएको हो । फलफूल वितरण कार्यक्रममा कृषि बिज्ञान संकायका डिन प्राध्यापक डा लालप्रसाद अमागाईले विश्वविद्यालय१४ वर्षमा प्रवेश गर्दा विभिन्न आरोह अवरोह पार गर्दै यो अवस्थासम्म पुगेको बताएका छन् । उनले विश्वविद्यालयमा कृषि संकायमा फड्को मारेजस्तै अन्य संकाय पनि मजबुत बन्न सके विश्वविद्यालय प्रतिको विश्वास बढ्दै जाने बताए ।
“अबको शिक्षा प्राविधिक शिक्षा हो । त्यसमा राम्रो काम गर्न सके विश्वविद्यालयको साख आफै माथी पुग्छ । तर, अहिले जुन विश्वविद्यालय समायोजनको कुरा आएको छ, यसले कस्तो असर पार्छ भन्ने विषय मुख्य हो ।” अमागाईले भने, “विश्वविद्यालयलाई स्वतन्त्र रुपमा काम गर्न सक्ने स्थिति रह्यो भने पनि एउटा उचाईमा विश्वविद्यालयको शैक्षिक गुणस्तरलाई पुर्याउन सकिन्छ ।”
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले संघसंस्थालाई आफू अनुकुल बनाउन खोज्दा आज अधिकांश संघसंस्था अस्तव्यस्तको अवस्थामा पुगेको बताएका छन् । उनले राजनीतिक भागबन्डाका कारण विश्वविद्यालय कम्जोर बन्दै गएको भन्दै सार्वजनिक संस्थाहरुमा राजनीतिक गन्ध आउन नहुने बताए । “जहाँ संस्थागत विकास भएको हुन्छ त्यहाँ सम्भावनाहरु पनि प्रयाप्त हुन्छन् ।” अध्यक्ष सोडारीले भने, “अहिले सुदुरपश्चिम विश्वविद्यालय माथी पनि प्रश्न उठ्ने गरेका छन् । त्यो संस्थाको संस्थागत विकास हुन नसकेरै हो ।”
क्याम्पस प्रमुख केशरबहादुर कुँवरले स्थानीय जनप्रतिनिधि जिम्मेवार भए धेरै कुरा सम्भव हुने बताएका छन् । उनले फलफूल वितरण कार्यक्रमलाई समुदाय साझेदारी कार्यक्रमको संज्ञा दिएका छन् । उनले प्राध्यापक नपाएरै विएएलएलबीको अध्यापनलाई स्थगित गर्नुपरेको बताएका छन् । “संकाय हटेको होइन । स्थगित भएको हो । त्यो प्राध्यापक नपाएरै स्थगित भएको हो ।” क्याम्पस प्रमुख कुँवरले भने, “विश्वविद्यालयले दिने तलबभत्तामा प्राध्यापक आउन नमान्ने, स्थानीय सरकारसँग समन्वय गर्दा सुनुवाइ नभएपछि अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन स्थगित गर्नुपरेको हो ।”
२०६७ असार ३ गते स्थापना भएको सुदुरपश्चिम विश्वविद्यालयको सो अवसरमा आयोजना गरिएको कार्यक्रममा स्ववियु सभापति नृपजंग थापा लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन ध्रुव रावलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *