शेयेर गर्नुहोस
टीकापुर ०६ भदौ /
आख्यानकार एवं अरूणोदय माध्यमिक विद्यालय खैरीफाँटा कैलालीका संस्थापक प्रधानाध्यापक गगनसिंह थापाको स्मृतिमा उनका छोरा हिक्मत थापाले विद्यालयमा स्थापना गरिने डिजिटल लाइब्रेरी बिस्तार तथा आधुनिकीकरण परियोजनाका लागि एक लाख रूपैयाँ सहयोग गरेका छन् ।
स्व. थापाको ७५ औं जन्मोत्सवको अवसर पारेर मंगलवार हिक्मत थापाले उक्त सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कपिलराज भाटले जानकारी दिएका छन् ।
गैर–आवासीय नेपाली संघ एनआरएनएका पूर्व कोषाध्यक्ष समेत रहेका थापा विगत १४ वर्षदेखि अफ्रिकी मुलुक नाइजेरियामा कार्यरत छन् । सुदूरपश्चिम प्रदेशको उत्कृष्ट स्कुल पुस्तकालय बनाउने लक्ष्य राखिएको उक्त पुस्तकालय व्यवस्थापनका लागि थापाले प्रवासबाट सहयोग संयोजन समेत गर्दै आइरहेका छन् ।
पुस्तकालय व्यवस्थापनका लागि थापा कै पहलमा युगान्डाका लागि नेपालका मानार्थ वाणिज्यदूत तथा अफ्रिकाका उद्योगपति डा. सुधीर रूपारेलिया अध्यक्ष रहेको दि रूपारेलिया फाउण्डेशनले ५ हजार अमेरिकी डलर (झण्डै साढे ६ लाख रूपैयाँ बढी) सहयोग गर्ने भएको छ ।
त्यस्तै उक्त पुस्तकालय व्यवस्थापनका लागि नेपाल लाइब्रेरी फाउण्डेशन (एनएलएफ नेपाल)को प्राविधिक सहयोग रहने र फाउण्डेशनको टोलीले पुस्तकालय निर्माण स्थलको अवलोकन निरीक्षण समेत गरी सकेको र असोज महिनाभित्रै पुस्तकालय व्यवस्थापनको काम पूरा हुने प्रधानाध्यापक भाटले जनाएका छन् ।
उक्त डिजिटल लाइब्रेरीमा झण्डै १० हजार बढी पुस्तक तथा पठनीय सामाग्री उपलब्ध हुनेछन् ।
स्व. थापा र विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष स्व. टीकाराम भाटको पहलमा उक्त विद्यालय वि. सं. २०२९ साल भदौ १ गतेदेखि सञ्चालनमा आएको हो ।