शेयेर गर्नुहोस
टीकापुर १३ साउन /
नारायणी अस्पताल, वीरगञ्जमा कार्यरत स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको विरोधस्वरूप मंगलबार देशभर सञ्चालन हुने नियमित ओपिडी सेवा बन्द भए ।
त्यसको प्रभाव टीकापुर अस्पतालमा समेत पर्यो । अस्पतालको ओपिडी सेवा बन्द भएपछि अस्पतालमा उपचार गराउन आएका कैयौं सेवाग्राही फिर्ता गए । कतिपय निजि क्लिनिकमा पुगेर सेवा लिए भने केही आकस्मिक कक्षमा समेत पुगे । चिकित्सक आन्दोलित हुँदा अस्पतालको सेवा प्रवाहमा सेवाग्राहीले सास्ती भोगे पनि आन्दोलनको नाममा चिकित्सक भने फुर्सदिला बने । टीकापुर अस्पतालमा कार्यालय समयभित्र हाजिर गरेका अधिकांश चिकित्सक दिनभर अस्पताल भित्र भेटिएनन । त्यसमध्ये केही चिकित्सकले निजि क्लिनिकमा दिनभर सेवा दिए ।
अस्पतालमा मंगलबार २२ जना विशेषज्ञ र मेडिकल अधिकृतको उपस्थिति हाजिरीमा उल्लेख छ । चारजना चिकित्सक भने मंगलबार अस्पताल उपस्थित भएनन् । उपस्थित भएका मध्ये एकाध जना अस्पतालमा फाट्टफुट्ट देखिए पनि अन्य चिकित्सक कार्यालय समयमा अस्पताल परिसर भित्र देखिएनन् । सबै चिकित्सक कार्यरत फाँटमा खाली थिए । कतिपयमा लगाएको ताला पनि खोलिएको थिएन । हाजिरी रेकर्डमा मेडिकल अधिकृत खोमबहादुर चौधरीले पहिलो हाजिर गरेका छन् । ८ बजेर १३ मिनेटमा हाजिर गरेका उनी दिनभर अस्पतालमा थिएनन् । त्यस्तै दोस्रोमा एमडिजिपी डा. सरोज खनालले ८ बजेर ३८ मिनेटमा हाजिर गरेको रेकर्डमा छ । उनी पनि दिनभर अस्पतालमा देखा परेनन् ।
अनुमति वा आधिकारिक निर्णयबिना बिहान हाजिर गरेर दिनभर बाहिर रहने र साँझ मात्र फर्केर हाजिर गर्ने कार्य सामान्यतः नियमअनुकूल मानिँदैन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले अन्य दिनमा पनि हाजिर गरेर आफ्नो क्षेत्रमा नपुगेर बाहिर जाने काम चिकित्सकले गर्दै आएको स्विकार गरेका छन् । “मैले कैयौंपटक भनिसकेको छ । सेवा अवरुद्ध नभएको दिन पनि कार्यालय समयमा कैयौं चिकित्सक अस्पतालमा भेटिदैनन ।” उनले भने, “यो निकै गम्भीर समस्या छ । हामीले पटकपटक आग्रह गर्दा पनि केही चिकित्सकले त्यसलाई मनन गर्न सक्नुभएको छैन ।”
अस्पताल विकास समितिका अध्यक्ष रामबहादुर भण्डारीले अस्पतालमा प्रवाह गर्ने सेवा र निजि क्लिनिकमा एउटै चिकित्सकले गर्ने सेवा प्रवाह निकै फरक देखिएको उल्लेख गर्दै कतिपयलाई जिम्मेवारी बोध हुन नसकेको बताएका छन् । “अस्पताल भित्र समस्या छन् । त्यसलाई एकैपटक समाधान गर्न गाह्रो छ ।” अध्यक्ष भण्डारीले भने, “क्रमिक रुपमा अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन तिर समिती जिम्मेवार ढंगले लागेको छ ।”
सुविधा सरकारको प्रचार निजि क्लिनिकको
अस्पतालमा कार्यरत केही चिकित्सकले सेवा सुविधा सरकारबाट प्राप्त गरिरहेका छन् । सरकारको मापदण्डअनुसारको सेवा सुविधा पाएका चिकित्सकले बाहिरी प्रचारप्रसार भने निजि मेडिकलको गर्दै आएको पाइएको छ । अस्पतालमै कार्यरत चिकित्सक खनालले त्यसै अस्पतालमा कार्यरत चिकित्सक बालरोग विशेषज्ञ डा. सुनिल ढुंगाना र जनरल सर्जरीका डा. अशोक गौतमसँग अन्तर्वार्ता नै लिएर निजि क्लिनिकमा सेवाग्राहीलाई आउन प्रेरित गरेको पाइएको छ । सामान्य रूपमा सरकारी अस्पतालमा कार्यरत चिकित्सकले निजी मेडिकल/क्लिनिकको प्रचारप्रसार गर्न पाउँदैन । यस्तो कार्य नेपाल मेडिकल काउन्सिलको आचारसंहिताविपरीत मानिन्छ ।
नेपाल मेडिकल काउन्सिलको आचारसंहिताको धज्जी उडाउँदै सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि राज्यको सुविधा भोग गर्दै आएका चिकित्सकले निजि क्लिनिकको प्रचारप्रसारलाई प्राथमिकता दिँदा टीकापुर अस्पतालको सेवा प्रवाह प्रभावकारी र सर्वसुलभ बन्न सक्ला ?









