शेयेर गर्नुहोस
टीकापुर १७ पुस /
जानकी गाउँपालिकाको १३ औं गाउँसभा बैठक सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको १३ औं गाउँसभा कार्यक्रम विभिन्न निर्णय पारित गर्दै सम्पन्न भएको हो । गाउँ सभाले चालु आर्थिक वर्षका केही योजना तथा कार्यक्रमहरु संसोधन गरेको छ भने चालु आर्थिक वर्षमा भएका कार्यपालिकाका निर्णयहरुलाई गाउँसभाबाट अनुमोदन गर्दै परित गरेको छ । त्यसैगरी गाउँपालिकाले विभिन्न समयमा व्यवस्थापन गरेका करार तथा ज्यालादारी कर्मचारीहरुको करार सेवा माघ १ गतेदेखि लागू हुनेगरी ६ महिनाको लागि थप गर्ने निर्णय समेत गाउँसभाले पारित गरेको छ ।
जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी लगायत ११ बिद्यामा विभिन्न क्षेत्रलाई सम्मान गरेको छ ।
गाउँपालिकाको १३ औं गाउँसभाको अवसरमा कार्यालयका कर्मचारी लगायत ११ बिद्यामा विभिन्न क्षेत्रलाई सम्मान गरेको हो । जसअनुसार कार्यालय सहयोगी रेशमा चौधरी, स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरी, विपद व्यवस्थापन शाखा प्रमुख नेत्रप्रसाद जैशी, शिक्षा तर्फ अरुणोदय माध्यमिक बिधालयका निमित्त प्रधानाध्यापक कपिलराज भाट, स्वास्थ्य क्षेत्र तर्फ दुर्गौली स्वास्थ्य चौकीका सिनियर अहेव पदमसिंह परियारलाई गाउँपालिकाले नगद र सम्मान पत्रसहित सम्मान गरेको छ ।
त्यसैगरी वडा कार्यालय तर्फ वडा नं. १ का वडा सचीव तिर्थबहादुर डंगौरालाई सम्मान गरिएको छ । स्थानीय सेवा पुरस्कार तर्फको कृषिमा कोसेली कृषक समुह सुवर्णपुर, पशुमा टिया पसुपंक्षी पालन फार्म पथरैया, गाउँपालिकालाई बढी राजस्व तिर्नेमा मालिका स्टिल प्रालि पहाडिपुर, महिला स्वास्थ्य स्वयंसेविकामा वडा नं. ८ की जानकी कुमारी चौधरी र निर्माण तर्फ राजन निर्माण सेवा टीकापुरलाई सम्मान गरिएको छ । सम्मान हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले अल्छी नगरेर काम गर्न सक्यो भने असम्भव भन्ने कुरा केही नहुने बताएका छन् । उनले इलेक्टेड र सेलेक्टेडको प्रसंग निकाल्दै भने, “हामी निर्वाचित भएर आएका छौँ भने कर्मचारी साथीहरू आफ्नो परिश्रमले यो स्थानमा आउनुभएको छ । हामी दुबै मिलेर जानसक्ने स्थितिमा धेरै कामहरू सम्भव हुनसक्छन् ।”
गाउँपालिकाकी उपाध्यक्ष लालमती कठरियाले कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै कर्मचारीहरुकै कारण जनप्रतिनिधिको कार्यक्षमताको मुल्यांकन हुने बताइन् । “कर्मचारीकै कारण जनप्रतिनिधि सफल हुने हो । त्यसका लागि कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्छु ।” उपाध्यक्ष कठरियाले भनिन्, “तपाईको सफलता हाम्रो सफलता हो भने हाम्रो हाम्रो सफलता तपाई हो ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कारको व्यवस्थाले नराम्रो कम हुँदै जानेमा विश्वास व्यक्त गरेका छन् । उनले पुरस्कार वितरणको मुख्य सार समृद्ध गाउँपालिका बनाउनु नै रहेको बताएका छन् ।
पुरस्कार वितरण कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष खकेन्द्रबहादुर भण्डारीले पुरस्कारले अन्य कर्मचारीहरुलाई पनि काम गर्नमा प्रेरणा मिल्ने बताएका छन् । उनले १३ औं गाउँ सभाले कर्मचारीहरुमा राम्रो काम गर्ने प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको बताएका छन् । सम्मानित हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले पुरस्कारले थप जिम्मेवारी थपेको बताएका छन् । “मैले एक्लैले चाहेर यो पुरस्कार पाउन लायक बनेको होइन । त्यसका लागि सबै कर्मचारीहरुको साथ, सहयोग र समन्वय रहेको थियो ।” उनले भने, “आगामी दिनमा पनि मैले जनप्रतिनिधिहरु र कर्मचारी साथीहरूबाट त्यहीँ पुरानै सहयोग र समन्वयको अपेक्षा गरेको छु ।”
पुरस्कार वितरण कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रशासन प्रमुख मेवालाल चौधरीले गरेका थिए ।