१५ दिनपछि विद्युत सेवा सुचारु

शेयेर गर्नुहोस


टीकापुर ३२ साउन /
जानकी गाउँपालिकाको वडा नं. ६,८ र ९ का करिब साढे सात सय घरधुरीले करिब १५ दिनपछि विद्युत सेवा सुचारु भएको छ ।
ट्रान्सर्फमरमा आगलागी भएपछि दुई हप्ता भन्दा बढी समयसम्म अवरुद्ध भएको विद्युत सेवा अल्पकालीन रुपमा बुधबारदेखि सुचारु भएको हो । त्रिपूरा ग्रामिण सहकारी संस्थाले समयमा ट्रान्सर्फमर जडान गर्न नसक्दा गर्मीको मौसममा स्थानीयले सास्ती भोग्नुपरेको थियो । अहिले पनि पुर्ण रुपमा बिधुत सेवा सुचारु हुन सकेको छैन । सहकारीले एक सय वाट क्षमताको ट्रान्सर्फमर जडान गरेर केही समयका लागि बिजुली बत्ती र गर्मी छल्नेसम्मको व्यवस्था हुने गरी विद्युत सेवा सुचारु भएको सहकारीका अध्यक्ष जितबहादुर शाहीले बताएका छन् ।
“म बिरामी भएर उपचारका लागि बाहिर थिए । म आउन ढिलो भएपछी बिधुत सेवा सुचारु गर्न समय लागेको हो ।” अध्यक्ष शाहीले भने, “अहिले हाम्रो जुन ट्रान्सर्फमर थियो त्यो मर्मत भैरहेको छ । केही दिनको लागि एक सय वाट क्षमताको ट्रान्सर्फमर जडान गरेर विद्युत सेवा सुरु गरेका छौँ ।” उनले उपभोक्ताको संख्या बढ्दै जानू र ट्रान्सर्फमरको क्षमता कम भएका कारण लोड उठाउन नसकेपछि ट्रान्सर्फमरमा आगलागी भएको हुनसक्ने बताएका छन् ।
“हामीले जडान गरेको ट्रान्सर्फमर एक सय ६० वाट क्षमताको थियो । अहिले तीन सय वाट क्षमताको ट्रान्सर्फमर माग गरेका छौँ ।” उनले भने, “त्यो भयो भने क्षमता अनुसारको विद्युत सेवा विस्तार गर्न सकिन्छ ।”
लामो समयदेखि विद्युत सेवा अवरुद्ध भएपछि स्थानीयलाई भने निकै सास्ती भएको स्थानीय मञ्जु न्यौपाने बताउँछिन् । “यत्रो दिनसम्म विद्युत सेवा सुचारु नहुँदा गर्मीको समयमा कति सास्ती भयो होला त्यो सहजै अनुमान गर्न सकिन्छ ।” उनले भनिन्, “एउटा अध्यक्ष बाहिर हुँदा नागरिकहरू अहिलेको समयमा १५ दिनसम्म विद्युत सेवाबाट बञ्चित हुनु निकै विडम्बनाको कुरा हो ।”
उनले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री र कैलाली क्षेत्र नं. १ का सांसद तथा मन्त्रीको वडाका नागरिकहरु अध्यारो जीवनयापन गर्न बाध्य भएको थाहा पाउँदा पनि समाधानका लागि ध्यान नदिएको दुखेसो गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *