४ जीपीए ल्याएर उत्कृष्ट बने हेमन्त साउँद

शेयेर गर्नुहोस


नृपजंग थापा, टीकापुर १६ असोज/
नतिजा ढिलो होस्, तर परिणाम सही होस्
अछामको रामारोशन गाउँपालिकाबाट अध्ययनको सिलसिलामा टीकापुरको वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा आइपुगेका हेमन्त साउँद केवल एक विद्यार्थी होइनन्, उनी दूरदराजका गाउँमा लुकेर रहेका क्षमता भएको प्रतिभाको प्रतिनिधि पात्र हुन् ।
२०८१ सालको एसईई परीक्षामा टीकापुरबाट ४.० जीपीए ल्याउने उनी एक मात्र विद्यार्थी बने । त्यसैले २०८३ सालमा कक्षा १२ को परीक्षा दिइसकेपछि पनि उनले फेरि ४.० जीपीए नै आउनेमा आत्मविश्वास राखेका थिए । नवनिर्वाचित दुई तिहाइको सरकारले परीक्षा नतिजा छिटो प्रकाशन गर्नु आफैंमा सकारात्मक पक्ष थियो । विद्यार्थीलाई लामो समयसम्म नतिजाको प्रतीक्षामा राख्नु हुँदैन । तर प्रश्न यहाँ उठ्छ—नतिजा छिटो प्रकाशन गर्नु मात्र पर्याप्त हो कि नतिजा सही र न्यायपूर्ण हुनु पनि उत्तिकै आवश्यक छ?
हेमन्तले कक्षा १२ को नतिजामा ३.९४ जीपीए प्राप्त गरे । ३.९४ आफैंमा उत्कृष्ट नतिजा हो । तर उनले आफ्नो दाइ भरत साउँदलाई भनेका थिए—“४ जीपीए आउँछ।” जब हामीले उनका दाइलाई “भाइको जीपीए कति आयो?” भनेर सोध्यौं, उहाँले पनि ४ जीपीए आउने अपेक्षा गरेको बताउनुभयो । ३.९४ सुन्दा हामी पनि केही क्षण छक्क पर्‍यौं र भन्यौं—“३.९४ पनि त धेरै राम्रो हो नि ।” तर हेमन्त सन्तुष्ट थिएनन् । उनको आत्मविश्वासले उनलाई पुनर्योगको प्रक्रियामा जान प्रेरित गर्‍यो।
काठमाडौँ उपत्यकामा बस्नेहरूका लागि राष्ट्रिय परीक्षा बोर्डसम्म पुगेर पुनर्योग र त्यसपछिका प्रक्रियाहरू पूरा गर्नु सामान्य लाग्न सक्छ । तर अछामको दुर्गम गाउँबाट पहिलोपटक काठमाडौँ देखेका साउँद दाजुभाइका लागि यो आफैंमा एउटा ठूलो चुनौती थियो । लामो समय र अनेक प्रक्रियाबीच उनीहरूले पुनर्योगको पहिलो चरण पूरा गरे । त्यसबाट पनि चित्त बुझेन ।
हेमन्तले फेरि आफ्नो उत्तरपुस्तिका हेर्नुपर्ने जिद्दी गरे । भाइको आग्रहलाई दाइ भरतले स्वीकार गरे । दोस्रो चरणको प्रक्रिया पूरा गर्दै उनीहरू फेरि राष्ट्रिय परीक्षा बोर्ड पुगे । संयोग पनि रोचक थियो—हेमन्तका दाइ भरत साउँद स्वयं सुदूरपश्चिम विश्वविद्यालय, टीकापुर बहुमुखी क्याम्पसका गोल्ड मेडलिस्ट विद्यार्थी हुन् । उत्तरपुस्तिका हेर्दा एउटा विषय—बिजनेस म्याथमा मात्र ‘A’ र बाँकी सबै विषयमा ‘A+’ रहेको देखियो । उत्तरपुस्तिकामा अंक घटाउने आधारबारे उनीहरूले प्रश्न उठाए । मूल्याङ्कन प्रक्रियामा आफ्नो अधिकार र जिम्मेवारीको विषयमा लामो बहससमेत भयो । तर साउँद दाजुभाइले हार मानेनन् ।
अन्ततः दोस्रो चरणको प्रक्रिया पूरा गरेर आएको अन्तिम नतिजाले हेमन्तको आत्मविश्वासलाई प्रमाणित गरिदियो । हेमन्त साउँदले ४.० जीपीए प्राप्त गरे । यो केवल एउटा विद्यार्थीले प्राप्त गरेको ४ जीपीएको कथा होइन । यो दुर्गम गाउँको एउटा विद्यार्थीले आफ्नो मेहनत, आत्मविश्वास र अधिकारका लागि गरेको संघर्षको कथा हो ।
यस घटनाले राज्य र हाम्रो परीक्षा प्रणालीलाई एउटा गम्भीर प्रश्न पनि सोधेको छ । नतिजा छिटो निकाल्ने प्रतिस्पर्धामा कतै हामी सही मूल्याङ्कन गर्ने जिम्मेवारीलाई त बिर्सिरहेका छैनौं?
नतिजा छिटो आउनु राम्रो हो । तर छिटो नतिजाभन्दा सही नतिजा महत्वपूर्ण हुन्छ। एउटा अंकले पनि विद्यार्थीको उच्च शिक्षा, छात्रवृत्ति, अवसर र भविष्यमा प्रभाव पार्न सक्छ। त्यसैले परीक्षा प्रणालीमा गति मात्र होइन, पारदर्शिता, शुद्धता र जवाफदेहिता पनि आवश्यक छ ।
हेमन्त साउँद आज एउटा उदाहरण बनेका छन् । राज्यको दुर्गम भूगोलमा जन्मिएको विद्यार्थी अवसर पाएमा उत्कृष्ट हुन सक्छ। रामारोशनको गाउँदेखि टीकापुर हुँदै राष्ट्रिय परीक्षा बोर्डसम्म पुगेको उनको यात्रा यही कुराको प्रमाण हो ।
दूरदराजमा बस्ने विद्यार्थीहरू पनि यो देश निर्माणका उत्तिकै हिस्सेदार हुन् । उनीहरूलाई दया होइन, समान अवसर, निष्पक्ष मूल्याङ्कन र आफ्नो प्रतिभा प्रमाणित गर्ने न्यायपूर्ण वातावरण चाहिन्छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *