शेयेर गर्नुहोस
सीता चौधरी, टीकापुर १४ असोज /
टीकापुर नगरपालिकाले अटो रिक्सा व्यवस्थापनमा चासो नदिँदा अटो रिक्सा व्यवसायी समस्यामा परेका छन् ।
लामो समयदेखि नगरपालिकाले कार्यविधि बनाएर अटो रिक्सा व्यवस्थापन गर्ने भने पनि हालसम्म उक्त कार्यविधि बनेर कार्यान्वयनमा नआउँदा अटो रिक्सा समस्यामा परेका हुन । एकातिर अटोको संख्या बढ्दै जानु, यात्रु नपाउनु, इन्धनको मूल्य महंगो हुनु तथा पार्किङको व्यवस्थापन नहुनु, मुल्य सुची नहुँदा अस्वस्थ प्रतिस्पर्धा रहनुजस्ता कारणले व्यवसाय सञ्चालनमा समस्या भएको उनीहरूको भनाइ छ ।
टीकापुर नगरपालिका वडा नं. १ गणेशपुरका चेतराम चौधरी अटो चलाएर हुने आम्दानीको ठूलो हिस्सा इन्धनमै खर्च हुने गरेको बताएका छन् । जनसंख्या कम हुनु, बजारको चहलपहल कम हुँदै जानू र अस्वस्थ प्रतिस्पर्धाका साथै अस्वभाविक इन्धनको मूल्य वृद्धिले व्यवसायमा ठूलो असर पारेको उनले बताएका छन् । उनले निश्चित मापदण्ड नभएका कारण अटो चालकहरुमा एकता भन्दा मतभेद बढ्दै गएको बताएका छन् ।
जानकी गाउँपालिका वडा नं. ६ सुवर्णपुरका रामलाल चौधरीले टीकापुरमा अटोको संख्या अत्यधिक बढेको बताउँदै स्वरोजगारको विकल्प सबैको अटो रिक्सा भए पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा चुनौती थपिँदै गएको बताए । अटो चालकहरूले आवश्यक दर्ता प्रक्रिया सहित सवारी चालक अनुमतिपत्र अनिवार्य लिनुपर्नेमा कडाइ गरे व्यवसायलाई व्यवस्थित बनाउन सकिनेमा उनले विश्वास गरेका छन् ।
सोही ठाउँका आकाश विकले अटोबाट दैनिक करिब एक हजार देखि एक हजार पाँच सय रुपैयाँसम्म आम्दानी हुने गरेको भए पनि नियमित रुपमा अटो सर्भिस तथा मर्मत गर्नुपर्ने भएकाले आम्दानीको ठूलो हिस्सा त्यसमै खर्च हुने गरेको बताएका छन् । “आम्दानी राम्रो हुन्थ्यो, दिनप्रतिदिन त्यो आम्दानी घट्दै गएको छ भने कतिपय अटो चालक पलायन पनि भैसकेका छन् ।” उनले भने, “निश्चित मापदण्डअनुसार सरकारको नीति नियममा रहेर सञ्चालन गर्न सकेको भए संरक्षक भेटिएको महसुस हुन्थ्यो भने अस्वस्थ प्रतिस्पर्धा कम हुँदै जाने थियो ।”
जानकी गाउँपाकिका वडा नं. ७ मोतीनगरकी लक्ष्मीदेवी चौधरीले अटो व्ववसाय सुरु गरेको करिब छ महिना भए पनि सोचेजस्तो आम्दानी गर्न नसकिएको गुनासो गरिन । उनले बाहिरबाट जति सजिलो अटो रिक्सा व्यवसाय देखिएको छ, त्यति नै चुनौती रहेको बताइन् । सोही ठाउँकी अनिषा चौधरी आफूले दुइ वर्ष देखि अटो व्ववसाय गर्दै आएको बताउँछिन् । सुरुवाती दिनमा राम्रो आम्दानी गर्दै आएकी मनिषाले आजभोलि दैनिक पाँच सय रुपैयाँ पनि आम्दानी गर्न कठिन हुने गरेको बताएकी छन् । पछिल्लो समयमा अटो व्यवसायबाट घरखर्च चलाउन केही सहयोग भने पुगेको उनको भनाइ छ ।
जानकी गाउँपालिका वडा नं. ८ बन्देवीपुरका केशव खनाल टीकापुरमा बाटो व्यवस्थित हुन नसकेको र सडक यातायात व्यवस्थापन व्यवस्थित नहुदा वृद्धवृद्धा ,महिला तथा अन्य यात्रुलाई समेत समस्या हुने गरेको बताउँछन् । सडकको अवस्थाका कारण अटो सञ्चालन गर्दा जोखिम समेत रहेको उनले बताए । अस्तव्यस्त पार्किङ, ट्राफिक नियमको उलंघन जस्ता कारणले अटो व्यवसाय समस्यामा पर्दै आएको खनालले बताएका छन् ।
सोही गाउँपालिका वडा नं. ६ का धनराज देउकडीले अटो व्यवसायका लागि व्यवस्थित पार्किङको व्यवस्था रहेको बताए । उनले नगरपालिकाले अटो पार्किङका लागि निश्चित स्थान तोक्नु पर्ने भन्दै त्यसको कार्यान्वयनमा कडाइ गर्नुपर्ने बताएका छन् । अटो व्यवसायी लघुराम चौधरीले अटो व्यवसायीलाई सहज हुने गरी पार्किङको व्यवस्था गर्नुपर्नै भन्दै सडकमा केही समय अटो रोक्दा समेत जरिवाना तिर्नुपर्नै अवस्था रहेको भन्दै नगरपालिकाले पार्किङ स्थलको व्यवस्था यथाशीघ्र गर्नुपर्ने माग गरेका छन् ।










