क्रसरले बचाएको गजड बजार

शेयेर गर्नुहोस


समाधान समाचार,
अछाम ०५ भाद्र /
यहि भाद्र २ गते मंगलबार राति कैलाश खोलामा आएको बाढीका कारण रामारोशन गाउँपालिकामा ठूलो जनधनको क्षति भयो।
बाढीका कारण १७ जनाले ज्यान गुमाउनुका साथै अर्बौंको क्षति भएको छ भने अझै पनि कैयौं बस्ती तथा बजारहरु उच्च जोखिममा रहेका छन् । जोखिममा रहेको गजड बजार क्रसर उद्योग नभइदिएको भए बगरमा परिणत हुने स्थानीयले बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गर्न लागेको जयगढ–रामारोशन सडक खण्ड अन्तर्गत घट्टे खोलादेखि मुजाबगरसम्मको सडक कालोपत्रेको ठेक्का पाएको एएनके जयदेवी जेभी नेपालगञ्ज बाँकेले गजड बजारको माथिल्लो अन्तिम भागमा सडक कालोपत्रेकै लागि भन्दै क्रसर उद्योग सञ्चालन गरेको छ । क्रसर उद्योगबाट उत्पादन भएको गिट्टीका कारण गजड बजार बगर हुनबाट जोगिएको स्थानीय दिनेश खनालले बताएका छन् । उनका अनुसार रातिको समयमा आएको बाढी थुपारेको गिट्टीमा ठोक्किएर धार परिवर्तन गर्न जाँदा मात्र गजड बजार जोगिएको हो । १३ करोड ७९ लाख २६ हजार ७ सय ३३ रुपैयाँ ६८ पैसाको लागतमा सडक कालोपत्रेका लागि २०७६ कार्तिक ५ गते सम्झौता भएको छ भने २०७८ असार १७ गते काम सम्पन्न गर्नुपर्ने भए पनि बाढीका कारण पुरानो नक्सा अनुसार सडक नै नहुने अवस्था देखिएको ठेकेदार कम्पनीले जनाएको छ ।
बजार क्षेत्रमा करिब ४० देखि ५० वटा घर तथा पसलहरु रहेका छन् भने १ सय ५० देखि २ सयजना मानिसहरु त्यहीँ बसोबास गर्दै आएका छन् । बाढी क्रसरले रोक्न नसकेको अवस्थामा जे पनि हुनसक्ने भन्दै स्थानीय ज्यान क्रसरले आफूहरुको ज्यान जोगाएको बताउँछन् । ‘खेतीयोग्य जमिन बगर भए पनि ज्यान जोगिएको छ ।’ खनालले भने, ‘क्रसर नभइदिएको भए के हुन्थ्यो ? थाह छैन ।’
विशेषगरी, रामारोशन गाउँपालिका वडा नं. १ मलाताका खनाल परिवारको अधिकांश खेतीपाती रहेको उक्त बजारमा बान्नीगढी गाउँपालिकाको पाटे खेतका स्थानीयहरुको पनि व्यापार र बसोबास हुँदै आएको छ । पर्यटकिय स्थल रामारोशन जानका लागि पनि त्यही गजड बजार हुँदै जानू पर्थ्यो। कसैले कल्पना समेत नगरेको बिपत्ति रामारोशनमा आयो। सबै जमिनमा लगाएको धान बाली बाढीले खसाप पार्नुका साथै जमिन नै बगर बनेपछि स्थानीयहरुमा भोकमरीको चिन्ता बढ्न थालेको छ ।
पचासदेखि साठी मुरी धान फल्ने स्थानीय नामदेवी खनालको सबै स्रोत भनेकै त्यही एउटा खेत थियो । सबै बाढीले बगायो । उनी खेतमात्रै नभई सपना समेत बाढीले बगाएको बताउँछिन् । ‘मेरा लागि सबै थोक त्यही खेत थियो । घरको आम्दानीको स्रोत पनि त्यही खेत हो ।’ उनले भनिन्, ‘खेत बगर बन्यो । अब के खाने ? कसरी घर व्यवहार चलाउने र बालबालिकाहरुलाई पढाउने ?’
उनको मात्र नभई वडा सदस्य समेत रहेका प्रेमबहादुर बि.क., खडक बि.क., हिक्मत बि.क., दिपक खनाल, वेदराज खनाल, नयाँ बि.क., जगत थापा, हर्क थापालगायत गजडमा मात्र सयौं किसानका खेत खोलाले बगर बनेको छ । स्थानीयले सरकारबाट उचित राहात र क्षतिपूर्तिको आशा समेत गरेका छन् भने कैलाश खोलामा दीर्घकालीन तटबन्धनको अपेक्षा गरेको स्थानीय दिपक खनालले बताएका छन् ।
१५ घरपरिवार बिस्थगापित
बान्नीगढी–जयगढ गाउँपालिका वडा नं. ६ दर्नामा १५ घर पहिरोको उच्च जोखिममा रहेका छन् । मंगलवार राति परेको अविरल बर्षाका कारण कैलाश खोलामा आएको बाढीले गाउँ तलबाट कटान गर्न थालेपछि १५ घर पहिरोको उच्च जोखिममा परेपछि परिवार बिस्थापित भएका हुन् ।
कैलाश खोलाले कटान गरेर गाउँसम्म पुगेपछि गाउँ नै खतरामा परेकाले उक्त टोलका मानिसहरु अहिले घर छोडेर आफन्तको घर र पालमुनि बसिरहेका छन् । स्थानीय शिक्षक हिक्मत थापाका अनुसार बर्षभरि घरपरिवारलाई खाने खेत पनि कैलाश खोलमा आएको बाढीले बगाएको छ, अहिले त झन् कैलाश खोलाले धार परिर्वतन गरेर गाउँतिर लागेको छ, गाउँ कति खेत बगाउँछ भन्न सकिने अवस्था छैन ।
साथै उनले स्थानीय सरकारले तत्काल सुरक्षित स्थानमा सारीदिन र आवश्यक राहातको व्यावस्था गरी दिन माग गरेका छन् । गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का र वडा अध्यक्ष कृष्णबहादुर कडायत नेतृत्वको टोलीले अनुगमन समेत गरेकाले आफूहरुले सुरक्षित बास पाउँछौं की भन्ने आशा पलाएको शिक्षक बमबहादुर थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *