जरिवानाको डरले कार्यक्रममा पुग्ने शिविर वस्ती

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १९ बैशाख /
हातमा लौरो । उमेरले ७५ वर्ष । त्यहीँ लौरोको सहाराले कैलालीको बिजयनगर शिविरबाट टीकापुरको खुला मैदान पुग्नुभएका निमलाल चौधरीलाई सोमबार त्यहाँ केको कार्यक्रम थियो भन्नेसम्म थाहा थिएन ।
सकि नसकी टीकापुर पुग्नुभएका निमलाल रहरले नभई बाध्यताले कार्यक्रममा उपस्थित हुनुभएको थियो । कसको आयोजनामा के कार्यक्रम हुँद छ भन्ने सम्म जानकारी नभएका उहाँ जरिवाना तिर्नुपर्ने डरले कार्यक्रममा आएको बताउनुहुन्थ्यो । “गाउँमा चिराकीले कार्यक्रममा जानुपर्छ भनेर खबर गरेपछि घरबाट एउटा सदस्य आउनुपर्ने हुन्छ ।” निमलाल बताउँछन्, “घरमा फुर्सदमा मै भएका कारण म आए । छोरा बुहारी काममा गए । उनीहरूले काम नगरे चुलो बल्दैन ।”
टीकापुर नगरपालिकामा रहेका शिविर वस्तीबाट सोमबार टीकापुर डकर्मी व्यावसायिक संगठनले आयोजना गरेको अन्तरास्ट्रिय मजदुर दिवसको कार्यक्रममा सहभागी हुन सयौंको संख्यामा नागरिकहरु टीकापुर खुला मञ्च पुगेका थिए । त्यहाँ पुगेका अधिकांश जेष्ठ नागरिक, बिद्यार्थी र महिलाहरुको संख्या बढी थियो । जुन समूह मजदुरी गर्न जाँदैन । कतिपय सकि नसकी पनि कार्यक्रममा पुगेको सुनाउथे । कतिपयलाई कार्यक्रममा नगए बसोबास गर्दै आएको जग्गाबाट उठाउने सम्मको धम्की आउने गरेको स्थानीय बताउँछन् ।
निमलाल मात्रै नभई भुपु कमैया वस्तिकी मानकुमारी थरुनीलाई पनि कार्यक्रमको बारेमा केही थाहा थिएन । रहरले नभई जरिवाना तिर्नुपर्ने डरले कार्यक्रममा आउनुपरेको मानकुमारी बताउनुहुन्थ्यो । “छोरा काममा गएका छन् । बुहारीलाई घरको काम गर्न ठिक्क हुन्छ । काम गर्न नसक्ने भएपछि म नै कार्यक्रममा आए ।” उहाँले भन्नुभयो, “आजमात्रै होइन । यस्ता कार्यक्रम महिनामा एउटा त अनिवार्य नै हुन्छ । जहाँ जानै पर्छ ।” गाउँमा चिराकीले खबर गरेर कार्यक्रम वा अन्य कुनै काममा नगए एक सय देखि पाँच सयसम्म जरिवाना तिर्नुपर्ने त्रास सुकुम्बासी शिविरका नागरिकहरूमा रहेको पुनाराम थारु बताउनुहुँन्छ ।
राजनीतिक दल देखि कुनै संघसंस्थाको कार्यक्रममा उपस्थिति बढाउनको लागि विगत देखि नै टीकापुरका शिविरका नागरिकहरूको प्रयोग हुँदै आएको छ । त्यस्तो कार्यक्रममा सहभागी हुनेहरूलाई कुन पार्टीको कार्यक्रम हो भन्नेसम्मको जानकारी हुँदैन । “के कार्यक्रम हुन्छन्, कसका कार्यक्रम हुन्छन् त्यो अझसम्म थाहा भएको छैन । आउने कार्यक्रममा सहभागी हुने र घर जाने काम मात्रै थाहा छ ।” एकतानगर शिविरका विपतराम चौधरी भन्नुहुन्छ, “रहरले सायद कोहि आउँदैन होला । जरिवानाको डरले मात्रै आउने हुन । कतिपयलाई अतिक्रमण गरेर बसेको जग्गाबाट हटाउने भ्रमले पनि जानुपर्ने बाध्यता छ । त्यो डर हट्यो भने कोहि आउँदैनन् ।”
टीकापुरकी रामकुमारी चौधरीले काम नगरी घरमा खान पुग्दैन । उहाँका घरबाट सासुलाई त्यसरी आयोजना हुन लागेको कार्यक्रममा पठाउने पालो लगाएको उहाँ बताउनुहुँन्छ । यतिबेला टीकापुर बजार क्षेत्रमा मकै पोलेर जिविकोपार्जनका लागि संघर्ष गर्दै आएकी रामकुमारी सोमबारको कार्यक्रममा पनि मकै पोल्नमै व्यस्त थिइन् । “काम नगरेर खान पाइँदैन । खानको लागि काम गर्नै पर्छ ।” रामकुमारी भन्नुहुन्छ,”हामी गरिबका लागि के दिवस आउँछन् थाहै हुँदैन । हामीलाई काम गर्ने त्यसबाट आएको पैसाले घर खर्च चलाउने भन्दा अरु केही थाहा छैन ।”
उहाँ मकै बेच्ने समयभन्दा अन्य सिजनमा मजदुरी गर्न जानुहुन्छ । श्रीमान मिस्रीको काम गर्नुहुन्छ । श्रीमानसँग सहयोगीको काम गर्न जाने रामकुमारीले मकै बेचेर दिनभरिको मजदुरी भन्दा राम्रो कमाई हुने भएपछि आजभोलि त्यो काम छोड्नु भएको छ ।
एकतानगर शिविरका धनबहादुर बुढामगरको दैनिकी पनि ज्याला मजदुरी गरेरै बित्छ । सोमबार भने उहाँ काममा जानू भएन । उहाँलाई मजदुर दिवस थाहा भएर काममा नगएका भने होइनन् । कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै गाउँमा चिराकीले जानकारी गराएपछि घरबाट कार्यक्रममा जाने कोहि नभएपछि काममा नजानुभएको हो । “गाउँमा भनेको नमाने जरिवाना तिर्नुपर्छ । कार्यक्रममा घरको एकजना नगए जरिवाना तिर्नुपर्ने भएपछि काममा नगएर कार्यक्रममा आएको हु ।” धनबहादुरले भन्नुभयो, “के कार्यक्रम हो त्यो मलाई थाहा छैन । घरबाट अरु आउनसक्ने कोहि नभएपछि गाउँका अरु सँगसँगै कार्यक्रममा आउनुपरेको हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *